कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सबै वडामा पक्की सडक

प्रकाश बराल

बागलुङ — ताराखोला गाउँपालिकाले ५ वर्षे आवधिक विकास योजना सार्वजनिक गरेको छ । २०८१ सम्म १३ दशमलव २ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्दै गाउँपालिकाले पहिलो आवधिक योजना बनाएको हो । गाउँपालिकाले सो अवधिमा सबै वडामा कालोपत्रे सडक बनाउने योजनामा उल्लेख गरेको छ ।

सबै वडामा पक्की सडक


गाउँपालिकामा २.५ मेगावाटको दरमखोला ए जलविद्युत् आयोजना र ताराखोला सामुदायिक लघुजलविद्युत् सञ्चालनमा रहेको अध्यक्ष प्रकाश घर्तीले बताए । प्रारम्भिक सर्भेअनुसार तल्लो ताराखोलाबाट ३.५ मेगावाट, मध्य ताराखोलाबाट १.७, मध्य दरमखोला एबाट ३ र मध्य दरमखोला बीबाट ४.५ मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ । सबै घरमा विद्युत् पुर्‍याउन २ करोड रकम जोहो गरिएको अध्यक्ष घर्तीले बताए ।


उक्त अवधिमा गाउँपालिकामा सञ्चालित उद्योगको संख्या दोब्बर बनाउने र ५ हजार युवालाई रोजगारी दिने लक्ष्य राखिएको छ । हाल यहाँ १२४ साना उद्योग सञ्चालनमा छन् । सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, इन्टरनेटसहित सुविधासम्पन्न विद्यालय भवन र प्राविधिक एवं अंग्रेजी माध्यमको शिक्षा दिने योजनामा उल्लेख छ ।


सबै वडामा पक्की सडक बनाउन स्रोतको खोजी थालिएको छ । डेढ अर्ब रुपैयाँ जुटाएर सडकको काम सक्ने लक्ष्य घर्तीले सुनाए । गाउँपालिकाले पनि ५ करोड लगानी गरेर सडक स्तरीय बनाउन थालेको छ । गलकोटदेखि आउने सडक कालोपत्रे र स्तरोन्नतिका लागि चालुवर्ष ४० करोड रुपैयाँमा १२ किमी कालोपत्रको काम सुरु भएको छ । समपूरक कोष, प्रदेश सरकारको लगानी तथा संघीय सरकारबाट अनुदान समेत सडकका लागि प्रयोग गरिने घर्तीले बताए ।


विद्यालयमा इन्टरनेट जडानका लागि गाउँपालिकाले २० लाख रकम विनियोजन गरेर काम पनि थालेको छ । सबै विद्यालयमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य पूरा गर्न १ करोड २५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । लैंगिक र बालविकासका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । सबै विद्यालयमा बालविकास केन्द्र र बालबालिकालाई खाजाको समेत व्यवस्थापन गरिने बताइएको छ ।


चालु तथा सशर्त खर्चबाहेक पर्यटन प्रवर्द्धनमा ३५ करोड, सामाजिक विकासमा १६ करोड, औद्योगिक ग्रामका लागि २० करोड, विद्युतीकरणमा २ करोड, सिँचाइमा २ करोड, कृषिमा वर्षेनि २ करोड, संस्थागत सुशासनका लागि ६ करोडसहित ३ अर्ब रुपैयाँ लगानी चाहिने प्रारम्भिक अनुमान छ । गाईघाट झरनाको प्रवर्द्धन, गुफा र कुण्डको संरक्षण, डुडेलेक, घुम्टेलेकलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने गाउँपालिकाको योजना छ ।


ग्रामीण स्तरमा सञ्चालित अल्लो, ढाका र भांग्रा उत्पादनका ३० उद्योगको क्षमता बढाउने लक्ष्य राखिएको छ । कृषि उत्पादन बढाउन व्यावसायिक खेतीमा जोड दिने र अनुदान बढाउने योजना ल्याइएको छ । ताराखोलाको आवधिक योजनाले जिल्लाकै विकासमा योगदान पुग्ने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए ।


‘गापाले राष्ट्रिय योजना आयोगको प्रतिनिधि पनि बोलाउनु भएको थियो, नमुना कामको थालनी भएको छ’, उनले भने, ‘सबै पालिकाले योजना बनाएमा जिल्लाको आर्थिक र सामाजिक समृद्धि हुने थियो ।’


प्रकाशित : माघ १३, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?