राजस्व नबुझाए अनुदान रोकिने

प्रदेशका ८५ मध्ये १६ स्थानीय तहले मात्र प्रदेश सरकारलाई राजस्व बुझाएका छन्
प्रतीक्षा काफ्ले

(गण्डकी) — प्रदेश सरकारले राजस्व नबुझाउने स्थानीय तहको अनुदान रोक्ने भएको छ । बारम्बार पत्राचार र खबरदारी गर्दा पनि राजस्व बुझाउन अटेरी गरेपछि प्रदेशले दिने अनुदान रकम रोक्ने तयारी गरिएको हो । 

स्थानीय तहले विभिन्न शीर्षकमा राजस्व संकलन गरी केही प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्छ । स्थानीय तहमा उठेको पर्यटन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर र ढुंगा, गिट्टी, बालुवा निकासीबाट प्राप्त करको ४० प्रतिशत प्रदेशलाई बुझाउनुपर्ने व्यवस्था छ । प्रदेशका ८५ मध्ये १६ स्थानीय तहले मात्र प्रदेश सरकारलाई राजस्व बुझाएका छन् । प्रदेशमा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालका लेखा अधिकृत सुदीप गौतमले पोखरा महानगरले एक रुपैयाँ पनि राजस्व नबुझाएको बताए । ‘प्रदेशको सञ्चित कोषमा बुझाउनुपर्ने राजस्व दाखिला भएको छैन,’ उनले भने । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १० अर्ब ८१ करोड ६ लाख र अन्य राजस्वतर्फ ५७ करोड २० लाख गरी ११ अर्ब ३८ करोड २६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।


गौतमका अनुसार पुस मसान्तसम्म कर तथा गैरकर राजस्व लक्ष्यको २९.०४ र ७५.८६ प्रतिशत रकम उठेको छ । ढुंगा, गिट्टी र बालुवा निकासीबाट चालु आर्थिक वर्षमा १० करोड राजस्व उठाउने सरकारको लक्ष्य छ । तर, हालसम्म २ करोड ९८ लाख रुपैयाँ मात्र उठेको कार्यालयले जनाएको छ । पर्यटन शुल्कतर्फ तनहुँको भानु नगरपालिकाले मात्र ४० हजार रुपैयाँ बुझाएको अधिकृत गौतमले बताए । ‘करसम्बन्धी तालिमको पनि व्यवस्था छ,’ उनले भने, ‘तर, राजस्व बुझाएनन् ।’ आर्थिक मामिला तथा योजना मन्त्रालयका लेखा अधिकृत कृष्ण पोखरेलले राजस्व नदिने स्थानीय तहको अनुदान रोक्ने बताए । ‘बढी भएमा घटाएर पठाउँछौं, कम भएमा असुल गर्छौं,’ उनले भने ।


प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पर्वतको जलजला गापाले १९ लाख ४१ हजार रुपैयाँ राजस्व प्रदेश सरकारलाई बुझाएको छ । यसैगरी पर्वतकै पैंयु गापाले ७३ हजार, लमजुङको बेंसीसहर नपाले ३ लाख ५६ हजार र मर्स्याङ्दी गापाले २ लाख ९४ हजार रुपैयाँ बुझाएका छन् । गोरखाको आरुघाट गापाले ५ लाख ९० हजार, पालुङटार नपाले १२ लाख ४९ हजार, गण्डकी गापाले ११ लाख ४३ हजार र सिरानचोक गापाले १३ लाख १४ हजार रुपैयाँ राजस्व बुझाएका छन् ।


मनाङको नांसो गापाले ४८ हजार, स्याङ्जाको बिरुवा गापाले १ लाख २६ हजार, फेदीखोला गापाले २ लाख ४१ हजार, चापाकोट नपाले ११ लाख ४८ हजार र आँधीखोला गापाले ४ लाख १६ हजार, तनहुँको आबुखैरेनी गापाले ३५ लाख २६ हजार, बन्दीपुर गापाले ४ लाख ३१ हजार र नवलपुरको हुप्सेकोट गापाले १ करोड ६९ लाख ३६ हजार रुपैयाँ राजस्व बुझाएका छन् । यी १६ वटै तहले ढुंगा, गिट्टी र बालुवा शीर्षकमा संकलन भएको राजस्व बुझाएका हुन् । ‘कतिपयलाई प्रदेश सरकारलाई राजस्व बुझाउनुपर्ने जानकारी छैन,’ गौतमले भने, ‘नवलपुर र म्याग्दीको अनुगमन गर्दा यस्तो पाइयो ।’ राजस्व कहाँ–कहाँ पठाउने र बाँडफाँट कसरी गर्ने भन्ने ज्ञान नभएकाले पनि प्रदेश सरकारको राजस्व नउठेको उनको भनाइ छ । स्थानीय तहका कर्मचारीलाई कर र राजस्व सम्बन्धी कक्षा दिने तयारीमा रहेको उनले बताए ।


प्रदेशले पनि बुझाएन

सवारीसाधन करबापत उठेको राजस्व प्रदेश सरकारले स्थानीय तहलाई बुझाउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले पनि हालसम्म उक्त शीर्षकको राजस्व बाँडफाँट गरेको छैन । लेखा अधिकृत गौतमले प्रदेशमा संकलन भएकोराजस्व संघीय सरकारको महालेखा नियन्त्रक कार्यालयमा जम्मा हुने बताए । ‘संघले सवारीसाधनको करबाट उठेको राजस्व प्रदेशलाई नै बुझाएको छैन,’ उनले भने, ‘प्रदेशको सञ्चित कोषमा दाखिला हुनेबित्तिकै सबै स्थानीयतहमा बाँड्छौं ।’ प्रकाशित : माघ ११, २०७६ ०९:३४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रवादको जालझेलमा रैथाने संगीत

लामो इतिहास र विविधताले सम्पन्न भए पनि नेपाली संगीतको आफ्नै परिचय बन्न सकेको छैन । किन ? यहाँ यसको कारण खोतल्ने प्रयास गरिएको छ ।
अनुप सुवेदी

संगीतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतका मूर्धन्यले गरेको सांगीतिक प्रस्तुतिपछि विदेशीको प्रश्न हुन्छ, ‘तिम्रो संगीत राम्रो थियो तर किन इन्डियन संगीत प्रस्तुत गरेको ? के नेपालको आफ्नै संगीत छैन ?’ चीनमा भएको एउटा संगीत सम्मेलनमा सांगीतिक प्रस्तुतिपछि यस्तै खालका प्रश्नको सामना गर्नुपरेपछि आफू झस्किएको अम्बर गुरुङले एउटा अन्तर्वार्तामा बताएका थिए ।

यो झस्काइ अम्बर गुरुङको मात्र होइन, नेपाली संगीत क्षेत्रको नै झस्काइ हुनुपर्ने थियो । तर... ? एकातिर नेपाली संगीतले यस्तो झस्काइ महसुस गरेकै छैन भन्ने अनुभव हुन्छ भने अर्कोतिर नेपालमा संगीतको इतिहास निकै लामो र व्यापक भए पनि यसको आफ्नो परिचय किन बन्न सकेन भन्ने खुल्दुली हुन्छ ।

संगीतको इतिहास मानव समाजको विकाससँगै जोडिन्छ । कृषि कर्मसँग जोडिएको जीवनमा सामाजिक व्यवहार, संस्कार, परम्परा, रीतिथिति, चाडपर्वसँग रैथाने संगीत अभिन्न भएर आउँछ । त्यसैले नेपालमा संगीत यहाँका विविध जाति, समुदाय र सभ्यतासँग जोडिन पुग्छ । नेपालमा रहेको व्यापक भौगोलिक, सांस्कृतिक तथा जातीय विविधताले रैथाने संगीतको सम्पन्नतालाई झल्काउँछ । यो विविधता स्वर, लय र बाजामा पनि रहेको छ । तर, लामो इतिहास र विविधताले सम्पन्न भए पनि नेपाली संगीतको आफ्नो परिचय बन्न भने सकेको छैन । किन ? यहाँ यसको कारण खोतल्ने प्रयास गरिएको छ ।

रैथाने संगीतको विकास गरेर नै संगीतमा आफ्नो छुट्टै परिचय निर्माण हुने हो । आफ्नो परिचय बनाएका संगीतको इतिहासले यसै भन्छ । रैथाने संगीतको विकास गरेर नै आफ्नो संगीतको परिचय बनाएका चीन, कोरिया, जापान, न्युजिल्यान्ड आदि देशका संगीत केही उदाहरण हुन् । नेपालका रैथाने संगीतको विकास अवरुद्ध गरिएको हुनाले नेपाली संगीतको आफ्नो परिचय बन्न सकेन । तर, रैथाने संगीतको विकास अवरुद्ध हुने कारण के थिए ? कसरी यहाँका रैथाने संगीतको विकासमा रोकावट आयो ? स्वाभाविक प्रश्न हुन् । नेपालमा संगीतको लामो इतिहास भए पनि यसको गतिलो अध्ययन भएको छैन । त्यसैले नेपालको संगीतको विकासक्रमको कुरा गर्दा तथ्य र आधारहरूको अभाव खट्किन्छ ।

काठमाडौंमा रहेका मल्लकालका मन्दिर र दरबारले त्यसवेलाको कलाको विकास र सम्पन्नताको बयान गर्छन् । नृत्य र संगीतको सम्पन्नता यहाँ विभिन्न अवसरमा हुने परम्परागत नाचले बताउँछन् । राज्य विस्तारको क्रममा पृथ्वीनारायणले उपत्यका जितेपछि यसको समयानुकूल विकास अवरुद्ध भयो । त्यसपछि भएका हरेक ठूला राजनीतिक घटना र प्रयोगमा ल्याइएको प्रविधि रैथाने संगीतको ‘भिलेन’ बनेको छ । यहाँ ती घटनाले रैथाने संगीतलाई कसरी प्रभावित पारे भनेर हेर्ने प्रयास गरिएको छ ।

पृथ्वीनारायणको उपत्यका विजयदेखि जंगबहादुरले बलपूर्वक सत्ता हत्याउँदासम्म नेपाल अस्थिरताबाट गुज्रिएको थियो, राज्य विस्तारको युद्ध र त्यसपछि दरबारभित्रको अन्तर्कलहले । जंगबहादुरले नेपाली सेनामा पश्चिमा (युरोपीय) शैलीको संगीत ब्यान्ड स्थापना गरे । अर्कोतर्फ ब्रिटिस इन्डियाका राजारजौटाको देखासिकी गर्दै भारतीय शास्त्रीय संगीतका उस्तादहरूलाई झिकाई गीत संगीत सुन्न थाले । यो क्रम जंगबहादुरपछि पनि निरन्तर रह्यो । राणाहरूले आफूलाई भारतीय रजौटाहरूजस्तै सभ्य र संगीतमा रुचि सम्पन्न भएको देखाउन दरबारमा मैदानी इलाकाका उस्तादहरूबाट भारतीय शास्त्रीय संगीतको प्रस्तुति गर्न लगाई तिनलाई राम्रो पारिश्रमिक र गतिलो बक्सिस दिने गर्थे भनेर इतिहासकारहरूले उल्लेख गरेका छन् । राणा शासकका यस्ता गतिविधिले यहाँका रैथाने संगीतभन्दा शास्त्रीय संगीत उच्चकोटीको भन्ने मान्यता स्थापित गर्‍यो ।

यसले रैथाने संगीतप्रति हिन भावना जगाई यसलाई पाखा पार्न मद्दत गर्‍यो । राज्यको स्रोत पनि रैथाने संगीतमा होइन, मैदानी भूभागबाट भारतीय शास्त्रीय संगीतका उस्ताद झिकाउन खर्च भयो भने आर्थिक रूपमा पनि रैथाने संगीत उपार्जन नगर्ने बन्यो । तर, काठमाडौं उपत्यकामा गुठी प्रचलनले संस्कार, परम्परा, जात्रामा संगीत र नृत्यलाई निरन्तर बनाउन मद्दत पुगे पनि शासकको व्यवहारले रैथाने संगीतको विकासमा भने बाधा सिर्जना गर्‍यो ।

राणा शासकका दरबारमा गायन, नर्तनकै लागि मान्छे राख्ने गरिएको कुरा बालकृष्ण समले ‘मेरो कविताको आराधन’ मा उल्लेख गरेका छन् । तर, उनीहरूले पाउने तालिम र गीत भने तिनै शास्त्रीय राग र हिन्दी गीत हुन्थे । राणा शासकका दरबारमा हिन्दी फिल्म हेर्ने प्रचलन भित्रिएसँगै ती दरबारका गीत–संगीत पनि हिन्दी फिल्मबाट लिन थालिए । राणा दरबारमा हिन्दी फिल्मका ती गीत मानक बने । त्यसैले नेपालीमा बनाएका गीत पनि तिनै हिन्दी गीतबाट प्रभावित भए । यसको प्रभाव राणाका दरबारबाट बाहिर पनि फैलियो । त्यसैले नेपालका पुराना गीतका संगीत र गाउने शैली हिन्दी गीतजस्तै लाग्छन् । लेखपढ गर्न पनि रोक लगाएर राणाकालमा नयाँ विचार र बाह्य प्रभावबाट नेपाली समाजलाई निरपेक्ष राख्ने प्रयत्न गरिएको थियो । तर, संगीतमा भने बाह्य संगीतको प्रभाव भित्र्याउँदा रैथाने संगीतको विकासमा बाधा उत्पन्न भयो ।

२००७ सालमा पारिवारिक रूपमा चलेको राणा शासनको अन्त्य र रेडियो स्टेसनको स्थापनाले यहाँको रैथाने संगीतको लागि नयाँ ढोका खुलेको थियो । तर, सरकारको प्रसारण नीतिले रेडियो पनि रैथाने संगीतको ‘भलेन’ बन्यो । रेडियो नेपालमा बज्ने गीत–संगीतमा रैथाने संगीतले स्थान पाउन सकेन । रेडियोमा रैथाने भाषा प्रसारणमा रोक लगाएपछि रैथाने भाषाका गीत–संगीत पनि प्रतिबन्धमा परे । नेपालभित्रका विविध भाषा, संस्कृतिमा रहेका गीत, संगीत प्रसारणमा रोक लागे पनि हिन्दी गीत, उर्दूका गजल र भारतीय शास्त्रीय संगीत भने प्रसारण भइरहे । यो अवस्थाले रैथाने गीत/संगीत खुम्चिन बाध्य भए भने हिन्दी गीत र शास्त्रीय संगीतको प्रचार नेपालको रेडियोले नै गरिरह्यो ।

२०१७ सालमा महेन्द्रले शक्तिको आडमा पञ्चायती व्यवस्था लादेपछि रैथाने संगीतको अवस्था झन् खराब भयो । जाति, भाषा, संस्कृतिको विविधता भएको देशमा महेन्द्रले ‘एउटा राजा एउटा देश, एउटा भाषा एउटा भेष’ भन्दै ‘नेपाली जाति’ को राष्ट्रिय एकात्मक पहिचान निर्माणको अभियान चलाए । यसको लागि साहित्य, कला, संगीत सबै विधाको उपयोग गरे । राष्ट्रियताको मानकको रूपमा राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय पन्छी डाँफे र सगरमाथा स्थापित गरेर पहाडे हिन्दु खसका अवधारणालाई राष्ट्रियताको आधार बनाउँदा भाषिक, सांस्कृतिक विविधतालाई ओझेलमा पारियो । ‘वीर नेपाली’ को काल्पनिकी तयार पारियो । यसलाई राष्ट्रियताको आधारको रूपमा स्थापित गर्न पञ्चायतकालमा पाठ्यपुस्तक र पाठ्यक्रमको उपयोग गरिएको बारेमा प्रत्यूष वन्तले लेखेका छन् ।

‘वीर नेपाली’ र ‘पञ्चायतको राष्ट्रियता’ को अवधारणा फैलाउन गीत–संगीत पनि बलियो माध्यम बन्यो । यसको लािग महेन्द्रले अम्बर गुरुङलाई नेपाल बोलाए । अम्बर गुरुङले अगमसिंह गिरीले ‘प्रवासी नेपाली’ को दुःखका बारेमा लेखेको गीत ‘नौलाखे तारा उदाए’ लाई संगीत भरेर २०१८ सालमा गाइसकेका थिए । त्यतिबेला भारतमा रहेका नेपालीभाषी प्रवासी हुन् कि भारतीय नेपाली हुन् भन्ने ख्याल नगरी गाइएको उक्त गीतले अम्बर गुरुङलाई प्रसिद्धि दिएको थियो । तर, अर्कोतर्फ भारतीय नेपालीका बारेमा भारतीय सत्तामा संशय पनि उत्पन्न गरायो (उनले ‘नौलाखे तारा उदाए’ पछि ‘सुगौली सन्धि बिर्सेका छैनौं’ भन्ने गीत पनि गाएका थिए) ।

दार्जिलिङमा हुर्केका अम्बर गुरुङले रवीन्द्रनाथ ठाकुरले रचना गरेको र पश्चिम बंगालमा प्रवर्द्धन गरिएको रवीन्द्र संगीत र युरोपीय संगीतबाट प्रशिक्षत हुने अवसर पाएका थिए । संगीतमा आफ्नो भविष्य बनाउँदै गरेका उनलाई महेन्द्रले बोलाएपछि २०२६ सालमा नेपाल आएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक बने । महेन्द्रले दार्जिलिङका साहित्य, संगीत, चित्रकलामा रहेका नेपालीभाषी प्रतिभालाई नेपाल बोलाए । नेपालमा स्थान दिए । तिनैमध्ये अम्बर गुरुङ पनि एक थिए । अम्बर गुरुङजस्तै उनका चेला गोपाल योञ्जन पनि काठमाडौं आए ।

त्यसरी बोलाइनेमा दार्जिलिङ क्षेत्रबाट नै किन त ? महेन्द्रले प्रवर्द्धन गरेको नेपाली भाषा र नेपाली जातिको पहिचानको अवधारणा दार्जिलिङमा प्रवर्द्धन गरिएको अवधारणासँग मेल खान्छ । विसं १९७२ मा प्रकाशन सुरु भएको पत्रिका ‘गोर्खाली’ का सम्पादक सूर्यविक्रम ज्ञवाली, खर्साङबाट प्रकाशित हुने मासिक पत्रिका ‘चन्द्रिका’ का सम्पादक पारसमणि प्रधान र चन्द्रिकामा नियमित लेख्ने कवि धरणीधर कोइराला नेपाली भाषा र नेपाली जातिको अवधारणाको प्रचार गर्ने प्रमुख व्यक्ति थिए । प्रत्यूष वन्तका अनुसार, भारतको स्वतन्त्रता संग्रामबाट प्रेरणा लिएर नेपाली भाषा र नेपाली जातिको स्वतन्त्र पहिचान निर्माण गर्न उनीहरू लागिपरेका थिए । यी तीन बन्धुले गरेको ‘नेपाली जाति’ र ‘नेपाली भाषा’ को परिकल्पना र प्रचारले दार्जिलिङ क्षेत्रमा राम्रै प्रभाव पारेको थियो । त्यसैको प्रभावले नै अगमसिंह गिरिले ‘नौलाखे तारा उदाए’ लेखे र अम्बरले गाए ।

महेन्द्रको नेपाली राष्ट्रियताको अवधारणा र सूधपाको ‘नेपाली जाति’ र नेपाली भाषाको अवधारणामा समानता भएकैले दार्जिलिङ क्षेत्रका प्रतिभालाई महेन्द्रले सुरक्षित ठाने । उनीहरू पनि नेपालमा आएर महेन्द्रीय राष्ट्रवादको अवधारणा अगाडि बढाउने गीत–संगीत रचनामा दत्तचित्त रहे । त्यसैले वीरताको बखान गरिएका, गुराँस, हिमाल, ढाकाटोपी, दौरा–सुरुवाल, डाँफे, खोला नाला र झरनाको गीत लेख्ने र गाउने काम भयो । सजातीय एकात्मक राष्ट्रियतालाई आम मानिसमा स्थापित गर्न ती गीत संगीतले महत्त्वपूर्ण योगदान दिए । महेन्द्रले प्रवर्द्धन गरेको राष्ट्रवाद अम्बर गुरुङ, गोपाल योञ्जनका गीत, संगीतमा प्रभावशाली बनेका छन् ।

अम्बर गुरुङले नेपालको संगीतमा आधुनिकता भित्र्याए । आधुनिक संगीत भनेर युरोपीय संगीतको प्रभावलाई भनिएको हो । अहिले चलनमा रहेको सुगम संगीतलाई पहिला आधुनिक संगीत भनिन्थ्यो । रवीन्द्र संगीत र युरोपीय संगीतको प्रशिक्षणले अम्बर गुरुङलाई स्थानीय आवश्यकताअनुसार, भारतीय शास्त्रीय संगीत वा युरोपीय शैलीको उपयोग गर्न समर्थ बनायो । उनले आफ्नो सामर्थ्यलाई नेपालमा संगीत सिर्जनामा भरपूर उपयोग गरे । यसले यहाँ युरोपीय शैली भित्रिन मद्दत पुग्यो । अम्बर गुरुङको पदचापलाई पछ्याउँदै दार्जिलिङबाट उनका चेलाहरू गोपाल योञ्जन, कर्म योञ्जन, शान्ति ठटाल आदिले पनि नेपाली संगीतमा पाइला राखे । तर, रैथाने संगीतमा भने यसको नकारात्मक प्रभाव पर्‍यो ।

आधुनिक (सुगम) संगीत भनिएको ती संगीतले शास्त्रीय संगीत र युरोपीय संगीतलाई मानक बनाए । यसले रैथाने संगीतलाई प्रशोधन नभएको, मानकबिनाको, तल्लो स्तरको र कमजोर भन्ने अवधारणालाई मलजल गर्‍यो । युरोपमा विकास गरिएका बाजा र तिनका ध्वनिलाई मानक बनाएपछि रैथाने बाजा बेसुरा र निम्न स्तरको भन्ने मान्यता स्थापित भयो । यसले रैथाने संगीतको विकास अवरुद्ध बन्यो । राज्यले पनि रैथाने संगीत दबाउन यी संगीतलाई प्रवर्द्धन गरिरह्यो । त्यसैले राज्यको चाहनाबमोजिम नै आधुनिक भनिए पनि समाजको अन्तर्विरोध झल्कने खालका गीत–संगीत त्यसबेला रचिएनन्, गाइएनन् । गायक/संगीतकारहरू कलाकारले राजनीतिमा लाग्न हुन्न भन्ने पञ्चायती राजनीति घोकिरहे र पञ्चायतको राजनीतिलाई सघाइरहे ।

संगत गर्नेहरूको सम्झनामा अझै छ, अम्बर गुरुङ लोकगीतलाई रुचाउँदैनथे, तल्लो दर्जाको ठान्थे । साहित्यकार इन्द्रबहादुर राईले आफूले अम्बरलाई ‘कति सुगम संगीतमा मात्र अल्झिनुभएको, ठूलो संगीत पनि गर्नुहोस् । अचेलको गीत ठूलो संगीत होइन’ भन्ने गरेको उल्लेख गरेका छन् । उनले अम्बरलाई सुझाएका पनि छन्, ‘हामी सुगम संगीतबाट मास्तिर हेरौं । त्यता पनि पुगौं । सबै लोक गायनबाट उच्च रूप लिएर संसारमा प्रसिद्ध भए । नेपाली लोक धुन, लोक नाचलाई प्रयोग गरौं’ । इन्द्रबहादुर राईले भनेका छन्, ‘तर, कसैबाट नेपाली लोक संगीतको प्रयोग गरी उच्च संगीतको निर्माणको काम भएन ।’

रेडियो नेपाल, प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानले आयोजना गर्ने गायन, संगीतको प्रतियोगीता पनि यही आधुनिक संगीतलाई लक्षित गरी गरिन्थ्यो । सरकारले राजाका जन्मोत्सव र अन्य मनोरञ्जनका कार्यक्रममा लोकगीतको नाममा नाच्न मिल्ने चुड्के गीतलाई समावेश गर्थ्यो र लोक गीतलाई स्थान दिएको भ्रम सिर्जना गरिन्थ्यो । यो भ्रम सिर्जना गर्ने काम नेपाली चलचित्र निर्माण थाल्दादेखि नै सुरु गरिएको थियो ।

चलचित्रमा हिन्दी फिल्ममा जस्तै केही गीत राख्ने, त्यसमध्ये अधिकांश आधुनिक गीत र एउटा नृत्य त्यस्तै चुड्के धुनमा राख्ने चलन चलाइयो । नेपालमा चलचित्र निर्माण पनि राज्यको लगानी र नियन्त्रणमा सुरु भएको हो । चलचित्रलाई पनि पञ्चायतको राजनीति स्थापित गर्ने औजारको रूपमा उपयोग गरिएको थियो ।

नेपालमा गीत रेकर्डिङको प्राविधिक सुविधा नहुँदा मुम्बई जाने गरिन्थ्यो । सरकारले रेकर्डिङ संस्थान स्थापना गरे पनि रेकर्डिङ स्टुडियो भने स्थापना गरेन । पछि स्टुडियो बनेपछि पनि नेपाली चलचित्रको गीत रेकर्डिङका लागि मुम्बई जान रोकिएन । नेपालमा वाद्यवादन समूह र अर्केस्ट्रा नभएको बाहना थियो । मुम्बईमा गीत रेकर्ड गर्ने प्रचलनले पनि नेपालको रैथाने संगीतको विकासमा बाधा बन्यो । मुम्बईमा गीत रेकर्ड गर्ने भएपछि नेपालका आफ्ना बाजागाजाको प्रयोग हुने भएन र विकास हुन पाएन । भारतीय अर्केस्ट्राको प्रयोग गर्दा बाजाका स्वर उस्तै हुनाले नेपाली संगीत पनि भारतीयजस्तै सुनिने भए । यसले नेपाली रैथाने बाजाले स्तरीय स्वर र धुन दिन सक्छ भन्ने ज्ञान र आत्मविश्वास पनि पलाउन सकेन । आर्थिक रूपमा पनि मुम्बईका अर्केस्ट्रा र स्टुडियोलाई फाइदा भयो । मुम्बईमा गीत रेकर्ड गर्ने चलन पनि रैथाने कलाकारको आकांक्षा र स्थानीय बाजाको विकासमा बाधक बन्यो । अहिले पनि बहुल संगीतकार रैथाने बाजा गुणस्तरीय संगीत निर्माण गर्न योग्य छैन भन्ने मान्यता राख्छन् । अन्य संगीतकार भने स्थानीय बाजा पश्चिमी बाजाको स्वरको मापअनुसार मिल्दैन भन्ने ठान्छन् ।

नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता यहाँको रैथाने संगीतमा झल्कन्छ । विविध समुदायको रीतिरिवाज, संस्कार, चाडपर्व, मेलापात, जन्म, विवाह, मृत्यु आदिमा गाउने–बजाउने संगीतको भाका, लय, मनस्थिति, स्वर, बाजा सबैमा विविधता व्यापक छ । भूगोल, भाषा र संस्कृतिले मानिसको गलाको स्वरमा पनि विविधता आउँछ । त्यो विविधता नेपालका रैथाने गीत/संगीतका स्वरमा पनि झल्किन्छ । संगीतकार किशोर गुरुङले आफ्नो घाटु गीतसम्बन्धी अध्ययनको निचोडमा नेपालका रैथाने गीत/संगीतको स्वरका प्रकार र गुण युरोपीय संगीत वा भारतीय शास्त्रीय संगीतको स्वरका गुणभन्दा फरक हुनाले यसको स्तरीकरण आफ्नै प्रकारको हुनुपर्छ भनेर लेखेका छन् ।

रैथाने संगीतजस्तै रैथाने बाजाका ध्वनीको पनि आफ्नै विशिष्ट गुण र चिनारी हुन्छ । रैथाने बाजाको ध्वनिले कुनै पनि संगीत सुन्नेबित्तिकै चिन्न सकिने बनाउँछ । चीन, कोरिया, जापान वा न्युजिल्यान्डको संगीत सुन्नेबित्तिकै चिनिने त्यसमा प्रयोग भएका स्थानीय बाजको ध्वनिको विशिष्टताले हो । त्यसपछि बल्ल हाम्रो ध्यान संगीतको धुन र लयमा जान्छ । युरोपीय बाजालाई मानक मान्ने मानसिकताले नेपालका रैथाने बाजाको प्रयोगमा बाधा बनिरह्यो । यसले रैथाने बाजालाई विकास गर्दै र आफ्नै प्रकारको स्तरीकरण गर्ने बाटो थुनियो । प्रयोग नहुँदा रैथाने बाजा बनाउने, बजाउने सीप पनि हराउँदै गएको छ ।

नेपाली रैथाने संगीतलाई जालझेल गर्न टेलिभिजनको स्थापनाले पनि मद्दत गर्‍यो । नेपाल टेलिभिजनबाट प्रसारण भएका रैथाने संगीतमा सूक्ष्म अध्ययन, सांस्कृतिक विविधताप्रतिको सम्मान र संवेदनशीलताको अभावले ती गीत/नृत्य र संगीतमा आधिकारिकता नहुँदा लोकसंगीतप्रतिको धारणा बिगार्न मद्दत गर्‍यो । दृश्यमा देखिने ‘डिटेल’ का सूक्ष्म कुरामा भएका फरकले पनि प्रस्तुतिलाई अविश्वसनीय बनाउँछ र त्यसको आधिकारिकता गुम्छ । आधिकारिकता गुमाएको रैथाने संगीत/नृत्यले अपनत्व पनि गुमाउँछ । त्यसैले रैथाने संगीतका सूक्ष्म कुराप्रति संवेदनशीलता र सम्मान नहुँदा त्यसको प्रस्तुति खराब बन्छ । यो खराबीलाई अझै बढाउन बजारले भूमिका खेल्छ । अहिले लोकगीतको नाउँमा चलिरहेको दोहोरीको बाढी त्यसैको उपज हो । बजारमा चल्ने नाउँमा उस्तै धुन र उही कुरा भएका उस्तै शब्दहरू हजारौंपटक दोहोर्‍याइरहँदा पनि आफूलाई सर्जक ठान्ने व्यक्तिहरूलाई असजिलो नलाग्नु अनौठो छ ।

त्यही चल्ने नाममा केही चुट्के गीतलाई प्रवर्द्धन गर्ने बजारको प्रवृत्तिले रैथानेको संगीतमा रहेको विविधतालाई ध्वस्त पार्दै रैथाने संगीतलाई निश्चित ‘टाइप’ मा सीमित बनाइरहेको छ । यसले रैथाने संगीतको विकासलाई अवरुद्ध पार्न मद्दत गरेको छ ।
पञ्चायतकालमा ‘एक भाषा एक भेष’ को राष्ट्रवाद निर्माणमा उपयोग भएका रेडियो, टेलिभिजन र चलचित्रको मनस्थिति बहुदल आएपछि पनि परिवर्तन भएन । रेडियो, टेलिभिजन र चलचित्रको प्रभाव गाउँगाउँमा फैलँदै जाँदा रैथाने (लोक) संगीतलाई बाह्य संगीतले विस्थापित गरेको छ ।

गाउँगाउँमा स्थानीय समुदायले रैथाने गीत/संगीतको साटो रेडियो टेलिभिजनबाट प्रसारण हुने गीत/संगीतको प्रयोग गर्न थालेका छन् । रैथाने संगीतबाट गरिने स्वमनोरञ्जनको स्थान रेडियो र टेलिभिजनमा प्रसारण हुने चलचित्रका गीतले लिएको छ । यो क्रमलाई बजारले अझै मलजल गरेको छ । रैथाने गीत/संगीतप्रति सम्मान र संवेदनशीलतको अभावले स्थानीय समुदायमा रैथाने गीत/संगीतको प्रयोग घट्दै जाँदा बालबालिका रेडियो, टेलिभिजनबाट प्रसारण हुने गीत/संगीतबाट प्रशिक्षित भएका छन् । यसले नयाँ पुस्तामा आफ्नो समुदायको रैथाने गीत/संगीत हराउने परिस्थिति बनेको छ । राज्यको लामो समयको बेवास्ताले रैथाने संगीत हराउँदै जाने गतिलाई रेडियो र टेलिभिजनको प्रभावले तीव्र बनाएको छ ।

नेपालले संगीतमा पहिचान बनाउन रैथाने संगीत र बाजाको विकासबाट नै सम्भव हुने हो । संविधानमा नै भाषा, जाति, सांस्कृतिक विविधता भएको राष्ट्रको रूपमा उल्लेख गरिए पनि रैथाने संगीतमा त्यसको प्रभाव अनुभव भएको छैन । रैथाने संगीतलाई जोगाउन र विकास गर्न महेन्द्रले प्रवर्द्धन गरेको एकात्मक राष्ट्रियताको स्थानमा बहुल राष्ट्रियतालाई प्रवर्द्धन गर्ने सरकारको नीति र व्यवहारको आवश्यकता छ । रैथाने संगीतप्रतिको धारणामा आउने परिवर्तनले मात्रै यसको विकासमा प्रतिभाहरूलाई लाग्न उत्प्रेरित गर्ने हो । रैथाने संगीतलाई अगाडि बढाउन र विकास गर्न यसप्रति सम्मान तथा सांस्कृतिक महत्त्वको बुझाइ र संवेदनशीलताको खाँचो छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×