कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्याय पाउन ३६ वर्ष संघर्ष

प्रकाश बराल

बागलुङ —  उनी ‘क’ वर्गको अपांग छिन् । ३४ वर्षदेखि मानसिक रोग र मस्तिष्क पक्षघातले ओच्छ्यान परेर केही गर्न सक्दिनन् । एक छोरीकी आमा ५६ वर्षीया गौमाया फकामी बैनीज्वाई नाताका छविलाल पुनको आश्रयमा बस्दै आएकी छिन् ।

न्याय पाउन ३६ वर्ष संघर्ष

पुख्यौली पर्वतको शालिजा घर भए पनि हाल बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने छबिलालले गौमायाको स्याहारसुसार गर्दै आएका छन् । ३० वर्षदेखि छविलालकै आश्रयमा उनी छिन् । गौमायाका श्रीमान डमरबहादुर पुनले २०४१ सालदेखि उनलाई छाडेका थिए ।

२०३८ सालमा विवाह भएर पर्वतकै क्याङ पुगेकी गौमायाले ४ वर्षपछि घरेलु हिंसा खेप्न थालेकी थिइन् । भारतीय सेनामा कार्यरत रहँदा श्रीमानले कान्छी श्रीमती विवाह गरेर लुकाई राखेपछि उनी हेलामा पर्न थालिन् । पेन्सनपट्टामा पनि उनले जेठी श्रीमती नदेखाई कान्छीमात्र देखाएर अंशबाट समेत बञ्चित गराए ।

पेन्सन निस्केर पछिल्लो १० वर्षदेखि डमरबहादुर अमेरिकामा काम गर्छन् । मासिक ४ लाख रुपैयाँ कमाउने डमरले जेठी श्रीमती र छोरीसमेत हेला गरेका थिए । कान्छी श्रीमती लिएर बसेपछि घरपरिवारमा पनि हेला भएर गौमाया घर निकालामा परेकी थिइन् । ‘सानी छोरी काखमा लिएर आएकी थिइ, माया लागेर पाल्यौ’ छबिलालकी श्रीमती डम्बरकुमारीले भनिन्, ‘छोरी हुर्काएर विहादान पनि गरिदियौं ।’

डम्बरबहादुरकी कान्छी श्रीमती खिममाया पुनले २०७१ सालमा गाउँको जग्गा बेच्न र घरमा आएको मौकामा मात्र दोश्रो श्रीमती भएको थाहा पाएपछि संरक्षक छबिलालको सहयोगमा जिल्ला अदालत पर्वतमा मुद्दा दिएकी थिइन् ।


कान्छी विवाह गरेपछि गौमायालाई डम्बरबहादुरले खान लाउन पनि नदिई हेला गरेका थिए । गौमायाले डमरबहादुर र खिरमायाबिरुद्ध बहुविवाह र अंश र मानाचामलको मुद्दा दिएकी थिइन् । जिल्ला अदालत पर्वत, उच्च अदालत पोखरा, बागलुङ इजलास र सर्वाेच्च अदालत समेत धाएर गौमायाले श्रीमानले छाडेको ३६ वर्षपछि न्याय पाएकी छिन् । डम्बरबहादुर अमेरिकामा बस्छन्, श्रीमती खिरमाया एक छोरी र एकछोरासँग पोखरा बस्दै आएका छन् ।

खिममाया र डम्बरबहादुर समेतबाट अंश, खर्च र न्याय दिने गरी सर्वाेच्चले जिल्लाकै फैसला सदर गरिदिएको हो । डमरबहादुरले मासिक खर्च, अंश र पेन्सन समेत नदिएपछि अपांग गौमायाको बिचल्ली भएको थियो । श्रीमान खोज्न हिड्ने क्रममा व्यारेकमै कुटिएर उनी अपांग भएकी थिइन् । पछि उनको मस्तिष्क पक्षघात भएकोले गम्भिर अपांग भएकी थिइन् ।

संरक्षक छबिलालले ३४ वर्षदेखि उनको स्याहारसुसार गर्दै आएका छन् । अंश तथा मासिक खर्च दिलाईपाउँ भनेर २०७१ साल बैसाख ९ गते दिएको मुद्दा जिते पनि डमरबहादुर र खिममाया पुनले अंश दिएनन् । अनि उच्च अदालतमा पुनरावेदन दिए । अपांग गौमाया विरुद्ध जालसाझी लगायतको मुद्दासमेत पर्‍यो । ‘ओच्छ्यान परेर अर्काको सहारा लिनुपर्नेलाई उल्टै जालसाझी मुद्दा पर्दा कति दुःख भयो, त्यो संरक्षकको नाताले मलाई मात्र थाहा छ’ छबिलालले भने, ‘वर्षौदेखिको सास्तीमाथी नुनचुक लगाउने काम भयो ।’ मुद्दा लड्दा छबिलालले लाखौ खर्च समेत गरेका छन् ।


बिहान शालिजादेखि बागलुङ बजारसम्म डोकोमा काउली बोकेर ल्याउने, बेच्ने र बेलुकी फर्कने गरेर कमाएको पैसाले उनले मुद्दाको खर्च व्यहोरेका थिए । ‘मैले मजदुरीदेखि तरकारी बेच्ने र खच्चर खेद्ने काम पनि गरें’ छबिलालले भने, ‘मेरा २ छोराछोरी पनि राम्रोसँग पढाउन सकिन ।’ छबिलालले निरन्तर संघर्षबाट गौमायाको मुद्दा भने जितेका छन् ।

गौमायाले पाउने अंशबाट अहिलेसम्मको उपचार र स्याहार खर्च पुग्ने नपुग्ने समेत थाहा छैन, तर उनको जित भएको भन्दै छबिलाल खुसी छन् । ‘मैले मेरै आफन्त भएकोले सेवा गरें, उनको अंश आयो भने उनकै थप उपचारमा लगाउँछु’ छबिलालले भने, ‘यस्तो सास्ती कसैले भोग्नु नपरोस् ।’ सर्वाेच्चबाट मुद्दा जितेपछि गौमायाले कम्तिमा पोखराको घरबाट २५ लाख रुपैयाँ, श्रीमानको पेन्सनको एक तिहाई र अन्य सेवा पाउनेछिन् ।

जिल्ला अदालतको फैसला कार्यान्वनय गराउन गौमायाले दोहोर्‍याएर जिल्ला र उच्च अदालत बागलुङमा धाउनु परेको थियो । फैसला बमोजिम अंश छुट्टयाई पाउने मुद्दा र बहुविवाह पनि जिल्लाकै सदर हुने भएपछि पीडकले सजायपछि जिल्ला फर्केरै पाउने व्यवस्था हुने अधिवक्ता राजु गौतमले बताए । पीडितको पक्षमा गौतमले वकालत गरेका थिए । गौमायाले २०७२ मंसिरमा पर्वत जिल्ला अदालतबाट बण्डा छुट्टयाइएको फैसला उच्चले सदर गरेको थियो ।

पेन्सनपट्टामा नाम नभएपछि गौमायालाई कान्छी र खिममायालाई जेठी बनाएको जालसाझी विरुद्धसमेत छबिलाल र गौमाया सर्वोच्च पुगेका थिए । २०३६ सालमा विवाह भएको र २०३८ मा छोरी पाएकीलाई कान्छी र २०४२ मा विवाह भएकीलाई जेठी बनाएर पेन्सन बुझाएको भेटेपछि जालसाझी मुद्दा दिन बाध्य भएको छबिलालले बताए ।

सर्वोच्चको आदेशपछि गौमायाले पेन्सन पाउने भएकी छिन् । डम्बरबहादुरले जिल्ला प्रशासनको कागजात समेत नक्कली बनाएर पेन्सनपट्टामा कान्छीलाई जेठी बनाएको भेटिएपछि सर्वोच्चले गौमायालाई न्याय दिएको हो । सर्वोच्चले अपांगता भएकी महिलाको मुद्दा भएकोले ‘फाष्टट्रयाक’ विधिले गौमायाले अंश, उपचार खर्च र न्याय पाउने सबै क्षेत्राधिकार पर्वत जिल्लाबाट सदर गरिदिएको हो । गत माघ २ मा भएको ३ सय नम्बर फैसलाको पूर्णपाठ आउन बाँकी छ ।


प्रकाशित : माघ १०, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?