कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

त्रिवेणीधाममा माघे औंसी मेला

नारायण शर्मा

(त्रिवेणी नवलपरासी) — पूर्वी नवलपरासीको ऐतिहासिक तीर्थस्थल त्रिवेणीधाममा लागेको माघे औंसी मेलामा नेपाल-भारतका हजारौं तीर्थालु भेला भएका छन् । त्रिवेणीधाममा स्‍नान गरेर पूजापाठ, श्राद्ध र दान गर्नाले पुन्य प्राप्ति हुने विश्वासमा हजारौंको घुइँचो लाग्ने गर्दछ । शुक्रबार बिहानैदेखि यहाँका मठमन्दिर र विद्यालयहरु भक्तजनले भरिभराउ छन् । 

त्रिवेणीधाममा माघे औंसी मेला

मुक्तिनाथ पिठाधिश स्वामि कमलनयाआचार्यका अनुसार महिनाहरुमा माघ उत्तम महिना हो । माघे औंसीमा नारायणी नदीमा पुजाअर्चना गर्नाले हजारौं गुणा बढी फल मिल्दछ । त्यही विश्वासका आधारमा हरेक माघे औंसीमा यहाँ नेपाल र भारतका हजारौं भक्तजन भेला हुने गर्दछन् ।

वाल्मीकि ऋषिको तपोभूमि, गजेन्द्रनारायण भगवानको बासस्थल, मुक्तिनाथ भगवानको चरण (पाउ) रहेको स्थल भएकाले यसको पौराणिक महत्व छ । विष्णु भगवानको मुख रहेको स्थल मुक्तिनाथ र पाउ रहेको स्थल त्रिवेणीधाम रहेकाले त्रिवेणीको दर्शन गरेर मात्र अन्य भगवानको दर्शन गर्ने प्रचलनअनुसार भक्तजनहरुमा आस्था अगाध छ ।


त्रिवेणीधामदेखि २ किलोमिटर उत्तरमा स्वामि कमलनयनाचार्यको आश्रम रहेको गजेन्द्रमोक्ष दिव्यधाममा भारतीय र नेपाली सन्तमहात्माहरुको उपस्थिति बाक्लिएको छ ।


मेलामा सुरक्षाका लागि प्रहरी सशस्त्र र सेनाको टोली ठाउँ ठाउँमा खटाइएको छ । मदिरा बिक्री, वितरण माघ ६ देखि १२ गतेसम्मका लागि रोक लगाइएको छ । भारतीय वाल्मीकि नगरको नजिकमा रहेका कारण यहाँ भारतका हजारौं भक्तजनहरु माघे औंसीका अवसरमा आउने गर्छन् ।


प्रकाशित : माघ १०, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?