सवारी लाइसेन्स परीक्षा ६ वर्षदेखि अवरुद्ध

(बागलुङ) — बागलुङमा चारचक्के सवारी लाइसेन्सको परीक्षा ६ वर्षदेखि रोकिएको छ । २०७० मा नयाँ मापदण्ड आएपछि ठाउँ र प्रविधिको अभावमा लाइसेन्सको परीक्षा रोकिएको हो । 

डेढ दशकअघि स्थापना भएको धौलागिरी यातायात व्यवस्था कार्यालयले अहिले मोटरसाइकल र स्कुटरको मात्र लाइसेन्स परीक्षा चलाउँदै आएको छ । नयाँ मापदण्डमा उकालो ओरालो, बत्ती बाल्दा रोकिने, ब्रेक लगाउने, अप्ठ्यारो लगायतका सबै विधि सीसी क्यामेराबाट निगरानी गर्नुपर्ने उल्लेख छ ।


यसका लागि छुट्टै मैदान र प्रविधिको आवश्यकता परेपछि दुवै प्रकारका लाइसेन्स वितरण रोकिएको थियो । गत वर्षदेखि २ पांग्रेको मात्र लाइसेन्स परीक्षा सुरु भयो । यातायात कार्यालय अहिले भाडाको घरमा सञ्चालनमा छ । मोटरसाइकलका लागि ट्रायल गर्ने जग्गा पनि वार्षिक २ लाख रुपैयाँ भाडा तिर्ने गरी लिइएको छ । तर चारचक्केका लागि जग्गा अभावले कुनै व्यवस्था गर्न नसकेको कार्यालय प्रमुख पारसिंह थापाले बताए । ‘बजेटको अभावले लाइसेन्सका लागि परीक्षा गर्न सकेका छैनौं,’ थापाले भने, ‘उचित जग्गा भएमा सरकारले खरिद गर्ने आश्वासन दिएको छ, हामीले उपयुक्त स्थान भेटेका छैनौं ।’ यस्तै, मोटरसाइकल तथा स्कुटरको ट्रायल पास गरेकाहरूले लाइसेन्स आउन ढिलो भएको गुनासो गरेका छन् ।


ट्रायल पास भएको डेढ वर्षसम्म पनि लाइसेन्स नपाएको सेवाग्राहीको भनाइ छ । ‘पहिले कार्यालयबाटै दिइन्थ्यो, अहिले स्मार्टका लागि विभागमा पठाउनैपर्छ,’ कार्यालयका शाखा अधिकृत तुलसीराम कँडेलले भने, ‘हामीले ताकेता गरिरहेका हुन्छौं ।’ कार्यालयमा दैनिक सय जना लाइसेन्सबारे खोजी गर्दै आउने गरेका छन् । संघीयता कार्यान्वयनपछि यहाँका अन्य धेरै कार्यालय खाली भएका छन् । तर ती अधिकांश कार्यालय बागलुङ नगरपालिकाले ओगटेको छ । आफ्नो साबिकको कार्यालय छाडेर नगरपालिकाले कृषि, भूसंरक्षण, महिला विकास र तत्कालीन जिविसको कार्यालयसमेत ओगटेर राखेको छ । यातायातले भने भवन पाएमा सर्ने तयारी गर्दै आएको छ ।

प्रकाशित : माघ १०, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?