उत्पादन बढाउन चक्लाबन्दी

भिरालो र साना गरा भएको जमिन सम्याएर खेती गरिने, ५० रोपनीभन्दा बढी जग्गालाई अनुदान दिइने
अगन्धर तिवारी

(पर्वत) — प्रदेश सरकारले भीरालो जमिन र खेतका गरा सम्याएर चक्लाबन्दी गर्ने भएको छ । व्यावसायिक खेती विस्तार गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस्तो योजना ल्याएको हो । 

उत्पादन बढाउन चक्लाबन्दी

मन्त्रालयले प्रदेशका ११ जिल्लाकै सहकारी, समूह, कम्पनी र किसानलाई योजनामा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रममा समावेश हुन कम्तीमा ५० रोपनी जग्गा आवश्यक पर्ने मन्त्रालयका वरिष्ठ नापी अधिकृत गंगाप्रसाद पोखरेलले बताए । चक्लाबन्दी कार्यक्रमका परिकल्पनाकार समेत रहेका उनले गाउँमा जनशक्ति घट्दै गएपछि यो कार्यक्रम ल्याएको जानकारी दिए । ‘खेताला पाउन गाह्रो छ,’ उनले भने, ‘यही समस्या समाधान गर्न चक्लाबन्दीको अवधारणा ल्याइएको हो ।’ सबैतिर सडक पुगेकाले ट्र्याक्टर लगी खनजोत गर्न सकिने उनले बताए । मन्त्रालयको आह्वानपछि यतिबेला भीरालो जमिन सम्याउन लहरै चलेको छ । यो अवधारणाले खेती गर्दा लाग्ने जनशक्तिमा ८० प्रतिशतसम्म कटौती हुने र उत्पादन दोब्बरले बढ्ने मन्त्रालयको अपेक्षा छ ।


मन्त्रालयले गत असोज ९ गते योजनामा सहभागी हुन आह्वान गरेको थियो । पहिलो चरणमा विभिन्न जिल्लाका १४ किसान समूहले प्रस्ताव पेश गरेको मन्त्रालयका शाखा अधिकृत सन्तोष पौडेलले बताए । ‘सबैजसो किसान समूहसँग सम्झौता गरिसकेका छौं,’ उनले भने, ‘विस्तृत सर्भे सकेर कार्यान्वयनको चरणमा छौं ।’ कार्यक्रममा सहभागी हुनेलाई ५० रोपनी जग्गा बराबर १० लाख रुपैयाँ अनुदान दिइने मन्त्रालयले जनाएको छ । सय रोपनी चक्लाबन्दी गर्नेलाई २० लाख र त्यसभन्दा माथि प्रतिरोपनी १० हजार रुपैयाँका दरले अनुदान दिइने पौडेलले बताए ।


भीरालो र पहाडी जमिनमा एकै किसानको स्वामित्व नहुने भएकाले जग्गा सट्टापट्टा गरेर मिलाउने प्राविधिक टोलीले जनाएको छ । टोलीमा सहभागी नापी अधिकृत दामोदर भट्टराईका अनुसार छिरलिएका टुक्रा जमिनलाई एकै ठाउँमा बनाउने गरी नक्सा निकाल्ने काम भइरहेको छ । कार्यक्रममा समावेश हुने किसानले वर्षेनि उक्त जमिनमा कम्तीमा २ खेती लगाउनुपर्छ । १० वर्षसम्म आवासका लागि प्रयोग गर्न नपाउनेगरी कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा किसान र सहकारीको उत्साहजनक सहभागिता देखिएकाले दोस्रो चरणको कार्यक्रम ल्याउन लागेको पोखरेलले जानकारी दिए ।


कार्यक्रमले बाँझिएको जमिनमा खेती गर्न सहज हुने भन्दै किसानसमेत उत्साहित छन् । ‘जनशक्ति नभएर खेती गर्न सकेका थिएनौं,’ पर्वतको कुश्मा नगरपालिका–९ की तारा पराजुलीले भनिन्, ‘अब ट्र्याक्टर लगाउन पाएपछि धेरै सहज हुने भयो ।’ पराजुलीसहित कुश्मा–९ का किसानको फलेबास–३ शंकरपोखरीको चौडिल्ला तथा पहिरेमा रहेको जमिनमा चक्लाबन्दी कार्यक्रम शुरु गर्न लागिएको छ ।


अर्का किसान हरिचन्द्र अधिकारीले आफैले गर्नुपर्ने काममा सरकारले सघाउने भएपछि खुसी लागेको बताए । व्यावसायिक खेती गर्न चाहनेलाई यस्तो कार्यक्रम निकै उपलब्धिमूलक हुने किसानको प्रतिक्रिया छ ।

प्रकाशित : माघ ८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?