२२ वर्षपछि हट्यो सडकको सास्ती- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२२ वर्षपछि हट्यो सडकको सास्ती

प्रकाश बराल

(बागलुङ) — सदरमुकाम बागलुङदेखि २१ किलोमिटर दक्षिणको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा जानभन्दा ९० किमी पश्चिमको बुर्तिवाङ जान धेरै सरकारी कर्मचारीले मन गर्थे । 

३ वर्षअघि कर्मचारी समायोजन गर्दा पनि धेरै कर्मचारीले पश्चिम रोजे । सबैको रोजाइमा कुश्मीसेरा नपर्नुको कारण थियो, यहाँ जाने सडकको सास्ती । दिनभर पैदल यात्रा गर्नुपर्ने, सवारीमा गए पनि चार घण्टा लाग्ने । भाडा महँगो र समयमा पुग्नै नसकिने ।


२०५४ सालमा खुलेको सडकको ट्र्याकमा वर्षेनि लाखौं खर्चंदा पनि सुधार हुन सकेको थिएन । विशेषगरी पाग्जा, पानी ट्यांकी र सरङ्गे लगायत स्थानमा हिलोले सवारीसाधन फस्थे । ‘जुनसुकै स्थानमा गाडी फसेपछि दिनभर कुरेर बस्नुपर्ने, पैदल गए पनि हैरानी खेप्नुपर्ने बाध्यता थियो,’ जैमिनी–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भने, ‘सदरमुकाम आउन जान ठूलो चुनौती थियो ।’ ट्र्याक खुलेको २२ वर्षपछि त्यो समस्या हटेको छ ।


गत वर्ष कुश्मीसेरादेखि बागलुङ आउने खण्डको झण्डै २ किमी सडक कालोपत्र भयो । अधिकांश खण्ड १० मीटर चौडा भएको छ । चालु वर्षमा पनि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट थप २ किमी सडक कालोपत्र गर्ने योजना छ । सडक चौडा र स्तरीय भइसकेकोले अहिले बागलुङबाट कुश्मीसेरा डेढ घण्टामा पुग्न सकिन्छ । यहाँका स्थानीयलाई बिहान सदरमुकाम आएर बेलुकी घर फर्कन सम्भव भएको छ । जैमिनी नगरपालिकाको केन्द्र समेत भएकोले कुश्मीसेरामा प्रशासनिक कामका लागि आउनेलाई पनि सडकले सहज बनाएको छ ।


दुई वर्ष अघिसम्म कुश्मीसेराका विष्णु आचार्य वर्षात् लाग्नुअघिको दुई महिनादेखि सामान थुपार्थे । हार्डवेयर पसल राखेका उनले असारदेखि कात्तिकसम्म चाहिने सामान एकैपटक थुपार्दा गोदामको आवश्यकता पर्थ्यो । अहिले भने त्यो समस्या नपर्नेमा उनी ढुक्क छन् । ‘सडक राम्रो छ, अर्डर गरेपछि भोलिपल्टै आउने भएपछि किन गोदाम चाहियो ?,’ आचार्यले भने । मालढुंगादेखि बलेवाको पानीट्यांकीतर्फको सडक चालु वर्ष कालोपत्र गर्न लागिएको छ । यो खण्डको १० किमीमा धमाधम कालोपत्र भइरहेको छ । गण्डकी प्रदेश सरकारको सडक स्तरीकरणतर्फको ‘क’ वर्गमा परेकाले सडकको कामले गति लिएको हो । सडक स्तरोन्नति र कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्ण बिल्डर्स कन्स्ट्रक्सन प्रालिले सडकको ठेक्का लिएको छ ।


भदौदेखि काम थालेको कम्पनीले चालु वर्षभित्रै अधिकांश काम सक्ने लक्ष्य राखेको सुपरभाइजर सन्दीप श्रेष्ठले बताए । यो सडक खण्डमा ठूलो पुल बनाउनु पर्दैन । हिलाम्मे क्षेत्रमा पानी तर्काएर नाली निर्माण गर्ने र पहिरो नियन्त्रणका लागि पर्खाल बनाउने काम भइरहेको छ । त्यस्तै तारजाली लगाउने र १० मीटर चौडा सडक बनाउने काम पनि भएको छ । यहाँ दैनिक २ सयभन्दा बढी मजदुरले काम गर्दै आएका छन् ।


‘काम गरेको तरिका हेर्दा यसपटक सफलतामा पुगिने देखिन्छ,’ अनुगमनमा गएका प्रतिनिधिसभाका सांसद सूर्य पाठकले भने, ‘यस्तै काम भैदिए ठेकेदारप्रति वक्रदृष्टि राख्नै पर्दैन ।’ निर्माण कम्पनीले २१ किमी सडक पूरै कालोपत्र गरिसक्ने योजनाका साथ काम गरेको हो ।


भाडा समायोजनको माग

कुश्मीसेरास्थित चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु आचार्यको नेतृत्वमा व्यवसायीले सदरमुकामदेखि कुश्मीसेरासम्मको सवारी भाडा समायोजनको माग गरेका छन् । व्यवसायीले नगरप्रमुख इन्द्रराज पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् । ‘सडकमा धेरै सुधार भइसक्यो,’ आचार्यले भने, ‘पहिलेकै भाडा लिन पाइँदैन ।’ यो खण्डमा जिपले ४ सय रुपैयाँसम्म भाडा लिने गर्छन् । बसले समेत २ सय ५० रुपैयाँ असुल्छन् । भाडा समायोजन गर्न व्यवसायी र नगरपालिकाबीच छलफलको तयारी भएको नगरप्रमुख पौडेलले बताए ।


कुश्मीसेरा–राङखानी सडक स्तरोन्नति हुँदै

जैमिनी नगरको केन्द्र कुश्मीसेरादेखि वडा १० को राङखानी जाने सडक पनि चालु वर्षमै स्तरोन्नति हुने भएको छ । झण्डै १० किमी सडक खण्ड बनेपछि राङखानी, पैयुंथन्थाप र बिजुवातर्फका बासिन्दा सहजै केन्द्रमा आउन सक्छन् । सडक अप्ठ्यारो भएकोले घण्टौं पैदल यात्रा गर्नुपर्ने, सवारीसाधन पाए पनि महँगो भाडा तिर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको राङखानीका डिलबहादुर श्रीषले बताए । यो सडक स्तरीय बन्दा बरेङ गाउँपालिकावासीले पनि सुविधा पाउँछन् ।

प्रकाशित : माघ ८, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

पढाइसँगै खेतीपाती

प्राविधिक कृषि शिक्षा पढ्दै आएका विद्यार्थीले विद्यालय हाताभित्र तरकारी, च्याउ खेती र माछापालन गरेका छन्
डीआर पन्त

डडेलधुरा — हातमा कुटो र कोदालो । काँधमा पुस्तकको झोला । अनि शरीरमा चिटिक्क परेको विद्यालय पोसाक । देख्नेमध्ये धेरैजसो अलमलिन सक्छन्, विद्यार्थी हो कि कृषक भनेर । डडेलधुरा सदरमुकामदेखि १२ किलोमिटर दूरीमा रहेको बालकल्याण माविका विद्यार्थीको हुलिया हो यो । व्यावसायिक कृषि खेती पढ्न उनीहरू पुस्तकसँगै कुटो कोदालो बोकेर विद्यालय पुग्ने गरेका छन् ।

प्राविधिक कृषि शिक्षा पढाइ हुने उक्त विद्यालयमा प्रयोगात्मक सिकाइका लागि कृषि कार्य सुरु गरिएको हो । शिक्षक, विद्यार्थी र अभिभावक मिलेर विद्यालय हाताभित्र तरकारी र च्याउ खेती तथा माछापालन गरिएको छ । ‘२ वर्षदेखि छात्रावासमा बस्ने ३५ विद्यार्थीले तरकारी किनेका छैनन्,’ स्थानीय अभिभावक धनबहादुर भण्डारीले भने, ‘आफै तरकारी उत्पादन गर्छन् ।’ विद्यार्थीले उत्पादन गरेको बेमौसमी तरकारी डडेलधुरा सदरमुकाममा पनि विक्री हुने गरेको उनले बताए । ‘२०७० सालमा मात्र कृषि प्राविधिक शिक्षा सुरु भएको हो,’ उनले भने, ‘६ वर्षमै यो विद्यालय प्रदेशको नमूना बनेको छ ।’

डडेलधुरा अजयमेरु गाउँपालिकाको पुइलेकस्थित विद्यालयको काम हेर्न टाढाटाढाका विद्यालयबाट विद्यार्थी समूह आउने गरेका छन् । हरेक दिन कुनै विद्यार्थी समूह आइपुगेकै हुन्छ । कैलालीको चुरे गाउँपालिकाबाट आएका कृषि विषयका अध्यापक मनोरथ जोशीले विद्यालयबाट धेरै कुरा सिक्न पाएको बताए । ‘आफ्नो विद्यालयमा पनि केही गर्ने प्रेरणा मिलेको छ,’ उनले भने । विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यले उक्त विद्यालय नमुना बन्न सकेको उनको बुझाइ छ ।

२०६६ मा पहिलो पटक तत्कालीन एमाले जिल्ला सचिव धनबहादुर साउँद विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । उनले छोटो समयमै विद्यालयमा शैक्षिक सुधार गरे । ‘सुरुमा विद्यालयको भौतिक सुधारका लागि प्रयास गरेँ,’ पाँचौं पटक समितिको निर्विरोध अध्यक्ष बनेका साउँदले भने, ‘त्यसपछि परम्परागत शिक्षा प्रणालीभन्दा फरक कक्षा ९ देखि १२ सम्म व्यावसायिक कृषि शिक्षा सुरु गर्‍यौं ।’ प्राविधिक कृषि शिक्षा पढ्न अहिले सुदूर पहाडका सात जिल्लाका विद्यार्थी आउँछन् । साथै कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका जिल्लाबाट पनि विद्यार्थी आउन थालेका छन् ।

कृषि पढ्ने डेढ सयभन्दा बढी विद्यार्थी छन् । अरु विद्यार्थीले पनि कृषिको व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् । विद्यालयको ९५ रोपनी जग्गा छ । त्योमध्ये १२ रोपनीभन्दा बढीमा तरकारी खेती भइरहेको छ । दुई रोपनीमा च्याउ खेती र त्यतिनै जग्गामा प्लास्टिक पोखरी बनाएर माछापालन गरिएको छ ।

‘प्रयोगशालामा चाहिने उपकरण, कृषि कार्यका लागि बीउबिजन लगायत सामग्री तरकारी खेतीको कमाइले नै पूर्ति हुने गरेको छ,’ प्रधानाध्यापक जगदीश भण्डारीले भने ।

छात्राहरूको लागि पनि आवास बनाउन लागेको अध्यक्ष साउँदले बताए । ‘छात्रावास बने बाहिरी जिल्लाबाट आउने छात्राहरूलाई अप्ठ्यारो हुँदैन,’ उनले भने । गाउँमा पनि व्यावसायिक खेती सुरु गरिएको उनले जानकारी दिए । गाउँपालिकाले पनि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयलाई सहयोग गरिरहेको अजयमेरुका अध्यक्ष उमेश भट्टले बताए । विद्यालयको शैक्षिक विकासमा पनि गाउँपालिकाको सहयोग छ । ‘विद्यालयलाई प्रदेशकै नमुना बनाउन सबै पक्षसँग समन्वय गरी काम गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : माघ ८, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×