कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे औंसीमा मदिरा निषेध 

त्रिवेणीमा ४ दिन अगावै चहलपहल सुरु 
नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको ऐतिहासिक तीर्थस्थल त्रिवेणीधाममा माघे औंसी पर्वका बेला मदिरा बिक्री वितरणमा स्थानिय प्रशासनले रोक लगाएको छ ।

माघे औंसीमा मदिरा निषेध 

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले एक सूचना सार्वजनिक गरेर माघे औंसीभन्दा ५ दिन अघि र मेला सम्पन्न भएको दुईदिनपछिसम्म बिक्री वितरणमा रोक लगाएको हो । त्रिवेणीधाममा आउँदो शुक्रवार माघे औंसी मेला लाग्छ । मेला औंसी मेलामा माघ ६ देखि १२ गतेसम्म एकसाता मदिरा ओसार पसार , बिक्री वितरणमा पूर्ण रोक लगाइएको हो ।


स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा हरेक वर्षको माघे औंसीका दिन विषेश मेला लाग्ने गर्दछ । माघे औंसीमा त्रिवेणीधाममा स्नान, श्राद्ध र पूजाआजा गर्नाले पुन्य मिल्ने जनविश्वास रहिआएको छ ।


मंगलबारदेखि नै त्रिवेणीधाममा मेला सुरु भएको छ । मेलामा नेपाल भारतका हजारौं तिर्थालु त्रिवेणीधाममा भेला हुने गर्छन् । मंगलवार बिहानैदेखिबाट त्रिवेणीका चौक चौराह , मठमन्दिर, सत्तल र नदी किनारका घाटमा स्थानियहरुले औसींका अवसरमा बिक्री हुने मिठाई, फलफूल र खैलौनाका बजार सुरु गरिसकेका छन् । विनयी त्रिवेणी गाउँपालिकाले मेला व्यवस्थित र तिर्थालुहरुको सुविधाका लागि पसल र व्यापार व्यवस्थित तगर्न स्थानिय क्लब र संघसंस्थालाई परिचालन गरेको गाउँपालिकाका अध्यक्ष डम्बर जिसीले जानकारी दिए ।


त्रिवेणीधाममा रहेका एक सयभन्दा बढि मन्दिरहरुमा भक्तजनहरु भरिभराउ भइसकेका छन् । त्रिवेणीधामदेखि २ किलोमिटर उत्तरमा स्वामिकमलनयनाचार्यको आश्रम रहेको गजेन्द्रमोक्ष दिव्यधाममा भारतीय र नेपाली सन्तमहात्माहरुको उपस्थिती बाक्लिएको छ । त्यहाँ यसपटकको माघे औंसीका अवसरमा विशेष मेलाको तैयारी गरिएको स्वामि कृष्णप्रपन्नचार्यले जानकारी दिए ।


मेला अवधिमा विशेष सुरक्षाकालागि प्रहरी सशस्त्र र सेनाको टोलिलाई ठाउँठाउँमा खटाइएको छ ।


महेन्द्रराजमार्गको बर्दघाट बजारबाट २५ किलोमिटर दक्षिणमा त्रिवेणीधाम रहेको छ । राजमार्गको दुवै किनारमा मंगलबारदेखि नै स्थानिय उत्पादन कन्दमूल फलफूल बिक्री सुरु भएको छ ।


भारतिय वाल्मीकी नगरको नजिकमा रहेका कारण यहाँ भारतका हजारौं भक्तजनहरु माघे औंसीका अवसरमा आउने गर्छन् ।

प्रकाशित : माघ ७, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?