फुटबल संघका अध्यक्षलाई कुटे दीपक मनाङेले- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल संघका अध्यक्षलाई कुटे दीपक मनाङेले

भन्छन्– मुद्दा हालेर केही हुँदैन भनेर झापड हानें
दीपक परियार

पोखरा — गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन् । पोखराको भण्डारढिक रंगशालामा मनाङेले मंगलबार गुरुङलाई मुक्का प्रहार गरेका हुन् ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आयोजकलाई प्रश्न गरेका थिए ।


भनाभन हुँदै गर्दा सांसद मनाङेले आफूमाथि मुक्का र लात्ती प्रहार गरेको मिलन गुरुङले बताए । आयोजक अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश लिग समितिका उनी कोषाध्यक्ष हुन् । ‘अर्को खेलमा आएको टिमलाई ४–५ दिनअघिबाट राख्न सकिँदैन,’ उनले भने, ‘हामीले आज (मंगलबार)बाट राख्छौं भन्दा ममाथि हातपात भयो ।’


कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ

सांसद मनाङेले गुरुङलाई हातपात गरेको स्वीकारे । ‘मनाङमा हिमपात भएकोले हाम्रो टिम अलि छिटो आइपुग्यो,’ उनले भने, ‘५ गते हुने भएको खेल ७ गते सर्‍यो । टिम कहाँ सुत्ने, कहाँ राख्ने, कहाँ खुवाउने केही थाहा छैन । यिनीहरुले पैसा खान छोड्दैन । मुद्दा हालेर केही हुँदैन भनेर झापड हानेकै हो ।’ उनले लिग सरेकोले घाचोकमा खेल्न गएपनि खेलाडीलाई राख्ने जिम्मा आयोजकको भएको बताए ।


प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । लिगमा ९ टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउँनेछन् ।

प्रकाशित : माघ ७, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्

गाउँपालिकाको गाडीले आँगनमा बसिरहेकालाई ठक्कर दियाे, ३ घाइते, बालककाे मृत्यु [अपडेट]

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका कार्यालयको गाडीले ठक्कर दिँदा स्थानीय ३ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि भरतपुरस्थित मेडिकल कलेज लगिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले ग १ झ ३८९ नम्बरको गाडी तोडफोड गरेका छन । गाडीले घरको आँगनमा बसेकालाई ठक्कर दिएका कारण स्थानीय आक्रोशित भएको गाउँलेको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार मंगलबार दिउँसो ५ बजे भएको दुर्घटनामा परी हुप्सेकोट गाउँपालिका–४ का ५५ वर्षीय भिमबहादुर लुंगेली, २६ वर्षीया मिना गाहा र नाम नखुलेको अर्का एकजना घाइते छन् ।

हुप्सेकोट गाउँपालिका कार्यालयबाट दक्षिणमा रहेको महेन्द्रराजमार्गतर्फ जाँदै गर्दा राजमार्ग किनारको घर आँगनमा बसिरहेका उनीहरुलाई ठक्कर दिएको स्थानिय प्रियधनले जानकारी दिए । गाडी हुप्सेकोट गाउँपालिकाको हो ।
घटनास्थलमा प्रहरी पुगेको छ । गाउँपालिकाको कार्यालयबाट २ सय मिटर दक्षिण दुर्घटना भएको हो ।
अपडेट :
बालकको मृत्यु
घाइतेमध्ये नाबालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार गम्भिर घाइते ७ वर्षीय दिपु गाहको उपचारका क्रममा मृत्यु भएको हो गाडीका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : माघ ७, २०७६ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×