कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भानु जन्मस्थलको बिजोग : विकास समितिलाई बजेट न जनशक्ति

सम्झना रसाइली

(तनहुँ) — ‘भर्जन्म घाँसतिर मन दिई धन कमायो 

भानु जन्मस्थलको बिजोग : विकास समितिलाई बजेट न जनशक्ति

नाम केही रहोस् भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

मो भानुभक्त धनी भैकन किन आज

यस्तो ......’


आदिकवि भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षक कविताको अंश हो, यो । कविताका पात्र घाँसीलाई घाँस काटेरै कुवा बनाउने समाजसेवीका रूपमा प्रस्तुत गरिएको छ । यिनै घाँसीको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवादमार्फत भाषिक एकीकरण गरेको भनिन्छ । नेपाल र नेपालीलाई भाषिक एकतामा बाँधेका भानुभक्तको जन्मस्थल तनहुँको चुँदीरम्घा भने पहिचानको खोजीमा छ ।


भानु जन्मस्थलको विकासका लागि समिति गठन भएको छ । तर पर्याप्त जनशक्ति र बजेट नहुँदा सोचेजस्तो काम हुन सकेको छैन । २०५२ मा गठन भएको समिति केही वर्षयता नेतृत्वविहीन छ । भानुभक्त र जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चिनाउन र अन्य संरचना निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसाथ समिति गठन गरिएको थियो । तर, समितिले लक्ष्यअनुसारको काम गर्न नसकेको समिति कार्यालयका खरिदार शिवकुमार रानाभाटले बताए ।


‘अहिले समितिमा कार्यकारी र नासु छैनन्, म र २ कार्यालय सहयोगीमात्र छौं,’ उनले भने, ‘विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । संग्रहालय छ । दिन कटाउनेमात्र काम भएको छ ।’ पहिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हेर्ने उक्त कार्यालय अहिले स्थानीय तहको जिम्मामा छ । स्थानीय तहले पनि कर्मचारीलाई तलब खुवाउने काम मात्र गरेको छ ।


कार्यालयका कर्मचारीले २०६४ देखि २०७५ सम्मको पूरा तलबसमेत नपाएको रानाभाटले बताए । ‘५ कर्मचारीलाई तलबबापत करिब ४८ लाख रुपैयाँ दिन बाँकी छ,’ उनले भने, ‘यो कसले र कहिले दिने भन्ने अन्योल छ ।’ तलब नपाएपछि अरु कर्मचारीले कार्यालय छाडेका छन् । गत साउनदेखि नगरपालिकाबाट करारमा तलब लिएको तर बढेको तलब नपाएको उनले गुनासो गरे । ‘हामी पनि अन्तै ठाउँबाट आएको भए हिँडिसक्थ्यौं होला’, उनले भने, ‘आफू जन्मेको ठाउँ भएकाले छोड्न सकेनौं ।’


समिति कार्यालयमा कर्मचारीको दरबन्दी निश्चित छैन । पहिले कार्यकारी निर्देशक, एक नासु, एक खरिदार र दुई कार्यालय सहयोगी राखेको उनले बताए । पछि नियमावली बनाएर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकोमा पुगेको थियो । त्यसयता प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिकाले साहित्यिक समिति गठन र समायोजन गरी साहित्यिक क्षेत्र भनेर छुट्टै फाँट बनाए कार्यसम्पादनमा सहज हुने रानाभाटले बताए । ‘सिक्किम, दार्जलिङका पर्यटकहरू आउनुहुन्छ,’ उनले भने, ‘हुनुपर्ने जति विकास पनि नभएको भनेर जानुहुन्छ ।’


भानुभक्तको योगदानलाई सरोकारवाला निकायले कदर गर्न नसक्दा उनको जन्मस्थल अलपत्र परेको भानु नगरपालिका–१ का प्रेम थापाको बुझाइ छ । राजनीतिकर्मी र केही व्यक्तिले भानुको नाम भजाएर मागीखाने भाँडोमात्र बनाएको उनको आरोप छ । ‘भानुको जन्मदिन असार २९ मा बाध्यताले उनको योगदानको चर्चा हुन्छ,’ उनले भने, ‘साहित्यिक गन्तव्यका रुपमा विकास गर्नुपर्छ भनी चर्का भाषण पनि गरिन्छ तर उपलब्धि केही हुन सकेको छैन ।’


वर्षेनि भानुजयन्ती मनाउन विभिन्न स्थानबाट साहित्यप्रेमी यहाँ आइपुग्छन् । केही वर्षदेखि असार २९ को साहित्यिक कार्यक्रमको रौनकता पनि घट्दै गएको स्थानीयले बताए । आफूले छोडेपछि कार्यालय नेतृत्वविहीन भएको निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । २०७१ मा उनी चारवर्षे कार्यकालका लागि कार्यकारी निर्देशक भएका थिए । ‘नेतृत्व नहुँदा विकासका गतिविधि ठप्प छन्,’ उनले भने, ‘शिखरकटेरीमा करिब ३ करोडको लागतमा रामायण भवन निर्माण हुँदै थियो । हालसम्म २ करोड ६० लाख रुपैयाँ बराबरको काम भइसकेको र सम्पन्न हुने तरखरमा छ ।’ सरकारी निकायले यस क्षेत्रको विकासमा चासो नदेखाएको र स्थानीय पनि खासै सक्रिय नभएको उनको भनाइ छ । उनका अनुसार सरकारले चालु खर्चअन्तर्गत न्यून बजेट पठाउने र त्यसैबाट कर्मचारीलाई तलब दिनुपर्ने बाध्यताले सबैले पूरा तलब नपाएका हुन् ।


संघीयता कार्यान्वयनसँगै समिति स्थानीय तहअन्तर्गत छ । तर स्थानीय तह, जिल्लाका सांसद र राजनीतिक दलका नेताले भने समिति संघीय सरकार मातहतमै रहनुपर्ने जनाएको भानु नगरप्रमुख उदयराज गौलीले बताए । ‘यस क्षेत्रमा स्थानीय सरकारको निगरानी आवश्यक छ,’ उनले भने, ‘तर भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न संघीय सरकार मातहतमै राख्नु पर्छ ।’ आर्थिक रुपमा पनि विकास समिति कमजोर भएकाले कार्यकारी प्रमुख तथा कर्मचारीको व्यवस्थापन लगायतका काम संघीय सरकारले गरेमा विकास हुने उनको भनाइ छ ।


पश्चिमाञ्चल विकास मञ्चले २०७३ चैत २२ मा करिब ६८ लाख रुपैयाँको लागतमा भानुगृह निर्माण गर्ने भन्दै शिलान्यास गरे पनि काम अघि बढेको छैन । यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने भएपछि २०५७ मा समितिको एक लाख रुपैयाँमा भानुभक्तको घर पुनर्निर्माण भएको थियो । २०६१ जेठमा आगलागी भएपछि घरको भग्नावशेष मात्र बाँकी छ ।


भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजना समेत बनाएको थियो । गुरुयोजनामा भानुभक्तको घर दुईतले बनाउने उल्लेख छ । घरसहित पोखरी, फूलबारी, धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारी, रामायण भवन, पुस्तकालय, चमेनागृह, पाले घर र शौचालय लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । यीमध्ये हाल रामायण भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भानु स्मृति पार्क निर्माणाधीन छ । वि.स. २००९ देखि भानुजयन्ती मनाउन थालिए पनि भानुजन्मस्थल संरक्षणमा खासै ध्यान पुग्न सकेको भने देखिँदैन ।

प्रकाशित : माघ ७, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?