२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सडकले मेटिँदै पदमार्ग

ट्रेकिङ एजेन्सीले मनास्लु भ्रमणका लागि २१ दिनको तालिका बनाउने गरेकोमा अहिले १४ दिन मात्र छुट्याउने गरेका छन्
हरिराम उप्रेती

गोरखा — सडक विस्तारले मनास्लु पदमार्ग संकटमा परेको छ । यसको प्रत्यक्ष असर पर्यटक आवागमनमा पर्ने भन्दै स्थानीय चिन्तित छन् । तिब्बतको सिमाना लार्के जोड्ने सडकको ट्र्याक खोल्ने क्रममा पदमार्गमा असर पुगेको हो । सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ ।

सडकले मेटिँदै पदमार्ग

बेनीघाट–लार्के सडक खण्डअन्तर्गत हावाडाँडाबाट काम सुरु गरेको सेनाले हाल चुमनुव्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा काम गरिरहेको छ । सडकको ट्र्याक खुलेको माछाखोलासम्म सवारी चल्न थालेको छ । सडकले व्यापारिक केन्द्र पनि परिवर्तन भएको छ । पाँच वर्ष अघिसम्म उत्तरी गोरखामा आरुघाटबाट दैनिक उपभोग्य सामग्री ढुवानी हुन्थ्यो । अहिले आर्खेत र सोती हुँदै उपभोग्य सामग्री ढुवानीको ‘ट्रान्जिट’ माछाखोला भएको छ ।

आन्तरिक पर्यटक माछाखोलासम्म गाडीमै पुग्छन् । ट्रेकिङका लागि आउने बाह्य पर्यटक भने अझै पनि सोतीबाट पैदल हिँड्छन् । तर, पुरानो पैदलमार्ग सडक विस्तारको क्रममा मासिएका छन् । ‘पुरानो बाटो कतैकतै देखिए पनि प्रयोगमा छैन,’ माछाखोलाका पूर्ण गुरुङले भने, ‘सबै पर्यटक हिँड्नका लागि सडक नै प्रयोग गर्छन् ।’

सडकले ढुवानी तथा आउजाउमा सहज भए पनि पदमार्ग मेटिँदा पर्यटनलाई असर पुगेको उनको बुझाइ छ । ‘सिजनको बेला पर्यटक पैदल हिँडिरहेका हुन्छन्, त्यही बाटो जिप/ट्रयाक्टर धूलो उडाउँदै गुड्छन्,’ उनले भने, ‘फेरि गाडी चलेपछि मान्छेलाई हिँड्न मन नलाग्दो रहेछ ।’

चार वर्ष अघिसम्म ट्रेकिङ एजेन्सीले मनास्लु भ्रमणका लागि २१ दिनको भ्रमण तालिका बनाउँथे । सडक सञ्जाल विस्तार हुन थालेसँगै अहिले प्रायः १४ दिनको भ्रमण तालिका बनाएर पर्यटक आउने गरेका छन् । ‘धादिङतर्फको सडक मार्ग भएर आरुघाटसम्म आउन सकिन्छ, यसो हुँदा भ्रमण गर्ने दिन घटेको छ,’ मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख नरेन्द्र लामाले भने । यसको प्रत्यक्ष असर होटल व्यवसायमा पनि देखिन थालेको छ । ‘ट्रेकिङ’का लागि आउने पर्यटकलाई लक्षित गरेर अन्य पदमार्ग बनाउनुपर्ने उनले बताए । यसका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने लामाको भनाइ छ । सडकले पदमार्ग मासेपछि नयाँ रुट खोज्न लागिएको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले बताए ।

बारपाक–लाप्राक हुँदै पुगिने रुपिनालालाई वैकल्पिक पदमार्गको रुपमा विकास गर्न लागिएको उनको भनाइ छ । ‘अपर मनास्लु जान लामो दूरीको वैकल्पिक पदमार्गको विकास गर्न लागिरहेका छौ,’ उनले भने ।

पन्छाइयो हिउँ

हिमपहिरोले अवरुद्घ बनेको मनास्लु पदमार्ग खुलेको छ । स्थानीय र प्रहरीको सहयोगमा हिउँ पन्छाइएको जिल्लाका एसपी ओम अधिकारीले बताए । चुमनुव्री गाउँपालिका–४ प्रोकस्थित नामरुङ नजिकै जमेको हिउँको पहिरो आउँदा शुक्रबारदेखि पदमार्ग अवरुद्घ थियो । शनिबारदेखि हिउँ पन्छाउन सुरु गरिएको थियो ।

पहिरोले पदमार्गको करिब २५ मिटर क्षेत्र ढाकेको थियो । भीरालो ठाउँमा हिउँमाथि हिउँ जम्दा ल्हो र प्रोकबीचको पदमार्ग अवरुद्घ बनेको हो । लगातारको हिमपातका कारण उत्तरी गोरखाको जनजीवन कष्टपूर्ण बनेको छ । हिमाल नजिकका गाउँ छेकम्पार र सामागाउँमा ३ फिटसम्म हिउँ जमेको एसपी अधिकारीले बताए । स्थानीय घरभित्रै आगो तापेर बस्ने गरेका छन् ।

हिउँ नपग्लिँदै पुनः थपिँदा समस्या भएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष राज गुरुङले बताए । ‘यसअघिका वर्षमा त चैतसम्म नै हिउँ पर्थ्यो, अझै हिउँ पर्ने सिजन आउँदै छ,’ उनले भने, ‘पुस १७ र १८ मा परेको हिउँ पग्लिएर बाटो देखिँदै थियो । फेरि माघको २ गते हिउँ परेर पूरै ढाकेको छ ।’ मुहान जमेपछि खानेपानीसमेत समस्या परेको स्थानीयले बताएका छन् ।

हिउँका कारण भुमेडाँडा आसपास टहरोमा बसेका करिब १२ घरका भूकम्पपीडित समस्यामा परेका छन् । ‘बस्ती पूर्णरुपमा निर्माण सम्पन्न भएको भए सजिलो हुन्थ्यो,’ गुरुङले भने । सडकमा हिउँ जमेपछि सवारी आउजाउ पनि रोकिएको उनले बताए ।

२७ सय मिटर उचाइको गुप्सीपाखामा तीन फिटसम्म हिउँ जमेको छ । लगातारको हिमपातले लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना वस्तीको काम पनि प्रभावित बनेको छ । पुस १९ बाट काम रोकिएको हो । लाप्राकमा ५७३ घर बन्दै छन् । वस्ती निर्माण अन्तिम चरणमा छ । हिउँ हेर्न आउने आन्तरिक पर्यटक भने बढेको वडाध्यक्ष गुरुङले बताए ।

प्रकाशित : माघ ६, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?