खेल र संस्कृति जोगाउन लगानी

बागलुङ — काठेखोला गाउँपालिकाले लाखौं रकम खर्चेर खेल, गीतसंगीत र कलासंस्कृति संरक्षण अभियान थालेको छ । यसका लागि गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता, सोरठी संरक्षण तथा प्रतियोगिता र लोकतारा प्रतियोगिता आयोजना गरिँदै छन् । चालू वर्षका लागि १५ लाख खर्चेर गरिने प्रतियोगिताबाट गाउँपालिकास्तरीय टिम बनाइने अध्यक्ष अमर थापाले बताए । 

माघ १५ देखि १९ सम्म सञ्चालन हुने अध्यक्ष कपमार्फत भलिबलका लागि राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनको लक्ष्य राखिएको छ । ‘यहाँ वडैपिच्छे भलिबलका धेरै खेलाडी छन्, उनीहरूको छनोटबाट गाउँपालिकास्तरीय दुईवटासम्म टिम बनाउने लक्ष्य छ,’ थापाले भने, ‘देशभर गाउँपालिकाको पहिचान दिने खेलाडी उत्पादन गरेर देखाउँछौं ।’ खेल क्षेत्रमा बजेट

लगानी नगर्ने गाउँपालिका र नगरपालिकाका लागि आफ्नो कार्यकालमा उदाहरण दिएको समेत उनले दाबी गरे ।


अध्यक्ष कपको प्रथम पुरस्कारको राशि १ लाख ४२ हजार रुपैयाँ राखिएको छ । पुरस्कार राशिले समेत खेलाडीमा आकर्षण थप्ने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । ‘खेल र कलाक्षेत्रमा रकम नदिने संस्कृतिभन्दा माथि उठेर सम्मानको काम गरेका हौं,’ विकले भने, ‘सहरमा हुने खेलले मात्र पुरस्कार जित्ने भन्ने विश्वास अब तोडिन्छ ।’ यसअघि बडिगाड गाउँपालिकाले अध्यक्ष कपका रूपमा तेक्वान्दो प्रतियोगिता राखेको थियो । बागलुङ नगरपालिकाले पनि सहिद दिवसको अवसर पारेर दोस्रो मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ ।


काठेखोलाभित्रै २ दर्जन सोरठी समूह छन् । प्रतियोगितामार्फत उनीहरूको पहिचान गरेर संस्कृति संरक्षणमा पनि साथ दिने गाउँपालिकाको योजना छ । ‘सोरठी नाच सांस्कृतिक पहिचानका लागि नाचिन्छ, यो मगर समुदायको संस्कृति हो,’ कला, संस्कृति

तथा खेलकुद विकास समितिका संयोजक टीकासंगत विकले भने, ‘एक दिनभर नाचिने सोरठीलाई २० मिनेटमा डकुमेन्ट्रीका रूपमा विकास गर्न खोजेका छौं ।’ धम्जा, तंग्राम, भीमापोखरालगायत गाउँमा अहिले पनि सोरठीका ‘गुरुबाउ’हरू छन् । उनीहरूले युवापुस्तामा संस्कृति हस्तान्तरण गरिरहेका छन् । यो अभियानले युवामा जागरण आउने, संस्कृति संरक्षण हुने र सोरठीबारे निखारता आउनेसमेत उनले बताए ।


‘गाउँमा खेल सञ्चालन हुँदा सहरका दर्शक पुग्छन्,’ काठेखोला–३ का अध्यक्ष यामबहादुर श्रीसले भने, ‘हामीले होमस्टे पनि सञ्चालन गरेका छौं ।’ होमस्टेमा आएका पहुनालाई पनि सोरठी र सालैजोजस्ता गीतसंगीतले स्वागत गर्ने गरिएको उनले बताए ।

प्रकाशित : माघ ५, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?