३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जाडोमा ‘सिस्नु खाएकै जाती’

म्याग्दी — कुनै बेला गरिब गाउँलेको खाना भनेर उपेक्षित सिस्नु हिजोआज सहरी परिकार बन्दै छ । बहूपयोगी महत्त्वको यो काँडेदार झार विशेष गरी मधुमेहका बिरामीले खोजी–खोजी खान थालेपछि माग बढेको छ । 

जाडोमा ‘सिस्नु खाएकै जाती’

जाडो सिजनमा सिस्नुको सुप खाइन्छ । कात्तिकदेखि सिस्नु टिप्ने ‘सिजन’ सुरु हुन्छ । ‘आम्दानीको अर्को स्रोत छैन, ३ वर्षदेखि यही सिस्नुको व्यवसायले ६ जनाको परिवार पालिएको छ, बचेको पैसाले घरबारी पनी किनेँ,’ अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारकी पार्वती पुनले भनिन् ।


जिल्लाका प्रायः सबै गाउँका महिला धेरथोर सिस्नुको व्यापारमा लागेका छन् । माग बढेपछि सिस्नु ग्रामीण महिलाको फुर्सदको व्यवसाय र अतिरिक्त आम्दानीको स्रोत भएको छ । सिस्नु विदेशका आफन्तलाई पठाउने कोसेली बनेको छ । सहरका धेरैको भान्सामा पाक्न थालेपछि सदरमुकाममा सिस्नु, गुन्द्रुक, धजरा, सिमीजस्ता रैथाने खाद्यान्न बेच्ने पसल नै खुलेका छन् ।

‘सिस्नुको माग बढ्दो छ । बेनीमा रैथाने खाद्य वस्तु बेच्ने धेरै छन् । मैले मात्र वर्षमा ३ क्विन्टलभन्दा बढी सिस्नु पाउडर बेच्छु,’ बेनीस्थित धौलागिरि कोसेली घरकी मीना राम्जालीले भनिन्, ‘३ क्विन्टल थोरेजस्तो लागे पनि प्रयोगको मात्रा बढी हो । अरूले अझ बढी बेच्छन् ।’


मास, सिमीलगायत दालमा समेत मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो मौसममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो हुनुका साथै प्रोटिनको राम्रो स्रोत मानिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र फूल टिप्नुपर्छ । घरमा ल्याई केलाएर कलिलो घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ । यसरी सामान्य धुलो सिस्नुमा आवश्यकताअनुसार टिमुर मिसाएर पनि प्रयोग गरिन्छ ।


सिस्नु पूर्ण अर्गानिक खाद्य हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भएअनुसार सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्त्व, २४.५ प्रतिशत कुड प्रोटिन, फाइबर ८ प्रतिशत, फ्याट १.५ प्रतिशत, जलांश ९.८५ प्रतिशत पाइन्छ । गत वर्ष जिल्लाबाट १५ क्विन्टल सिस्नुको पाउडर निर्यात गरी ४ लाख २० हजार आम्दानी भएको थियो ।

प्रकाशित : माघ ५, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?