कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

माथि सेताम्मे हिउँ, तल भतभती पोल्ने पानी

घनश्याम खड्का

म्याग्दी — डाँडाकाँडा सेताम्मे हिउँले ढाकिएका छन । हिउँको चिसो स्याँठ छ । तल म्याग्दी र कालीगण्डकी नदी किनारामा भतभती पोल्ने तातोपानीका मुहान छन्। हिउँदको कठ्याङ्ग्रिदो चिसोबाट बच्न र गाउँलेहरू नुहाउन तातोपानीका मूलमा धुइरिएका छन् ।

माथि सेताम्मे हिउँ, तल भतभती पोल्ने पानी

‘घर छेउमा तातोपानी भएकोले विहान सवैरै उठ्यो, तातोपानी गयो, आधा–एक घन्टा डुबेर खलखली पसिना बगाउँदा आनन्द हुन्छ । दिनभरि ज्यान हलुङ्गो बन्छ,’ अन्नपूर्ण गाउँपालिका–६ पोखरेका खड्ग गिरीले भने, ‘जाडो सिजनमा प्राकृतिक उपचारका लागि पोखरीमा डुब्न मात्र होइन, चिसो पानीले नुहाउन नसक्ने सबै तातोपानीमा ओइरिन्छन । उपचार पनि हुने, तातोपानीले नुहाउन पनि पाइने ।’ तातोपानीमा डुब्दा हाडजोर्नीको प्राकृतिक उपचार हुन्छ ।

जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दीखोला किनारमा ९ स्थानमा प्राकृतिक तातोपानीका मूल छन । यिनमा परम्परादेखि नै स्थानीयले जाडो भगाउन डुबुल्की मारेर नुहाउँदै आएका छन । घर छेउको धाराको चिसो पानीमा शरिर पखाल्न आँट नहुनेहरू दिनभर लगाएर भए पनि तातोपानीमा आउने गर्छन । केही तातोपानीका मूलको व्यवसायीकरण गरिए पनि कालीगण्डकी किनारका रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदीसमेतका मूलमा अझै परम्परागत शैलीमा अस्थायी पोखरी बनाइन नुहाउने र डुबुल्की मार्ने प्रचलन जीवित छ ।

‘हजुरआमाले भनेअनुसार पुर्खादेखि नै थाकखोलाबाट हिउँदमा जाडो फाल्न तातोपानीमा आउने र ८–१० दिन डुबेर फर्कने गर्थे,’ भुरुङ्ग तातोपानीका भुवन गौचनले भने, ‘वरपरका मान्छेहरू डुब्ने र नुहाउने तातोपानी ०३५/४० तिरबाट पर्यटक बढेपछि स्थानीयले भन्दा पर्यटकले प्राथमिकता पाउन थालेका हुन ।’ ७० वर्षअघिसम्म सिंगाको स्वतः नजिक म्याग्दीखोला बगरमा तातोपानी बग्थ्यो । हिउँदमा गोठालाहरू खोलाकिनाराको तातोपानीमा अस्थायी पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका बिरामीलाई फाइदा भएपछि वरपरका बस्तीबाट डुब्न आउन थालेका हुन् । ‘हाडजोर्नी, पेट ढुस्स हुने रोगका लागी तातोपानी बढी उपयोगी छ,’ म्याग्दी अस्पतालका डाक्टर विराज शर्माले भने, ‘एलोपेथिक उपचारमा पनि कतिपय रोगको उपचार गर्दा तातोपानीले सेक्न लगाउँछौं । र, यो उपचार पद्धति वैज्ञानिक पनि छ ।’


बेनी नगरपालिक,–४ स्थित म्याग्दीखोला किनाराको सिंगा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा बिरेनुन र भुरुङ्ग र नारच्याङ्गमा नुनको गन्ध र स्वाद पाइन्छ । अन्य स्थानका तातोपानी भने गन्धरहित छन । तातोपानीमा वरपरका बस्ती र पोखरा, काठमाडौं, बुटवलसमेतका सहरमा बसाइँ सरेका स्थानीय डुब्न आउने गरेका छन् । धौलागिरी फेदीको गुर्जा र मुदी बगरामा पनि तातोपानीको मुहान छन् । बस्तीबाट धेरै टाढा भएकाले यहाँ गुर्जा र मुदीको बगराका मान्छे डुब्छन । रघुगंगा खोलामा पनि तातोपानीको मुहान छ ।

लामो पदयात्राबाट गले, थाकेको शरीरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताको लागी तातोपानी थेरापी वैकल्पिक उपचार पद्धति हो । म्याग्दीमा पाईएका तातोपानी मध्य सबैभन्दा बढी अन्नपूर्ण–६ रातोपानीस्थित तातोपानीको तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङ्ग ताोपानी ७१ डिग्री, सिङ्गा तातोपानीको तापक्रम ५५ डिग्री रहेको छ ।

प्रकाशित : माघ २, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?