किशोरीमैत्री कानुन माग

कान्तिपुर संवाददाता

गण्डकी — किशोरीमैत्री कानुनको माग गर्दै पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका किशोरीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् । किशोरीको समूहले मंगलबार मुख्यमन्त्रीसमक्ष २५ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएका हुन् । 

ZenTravel


देवचुली नेपालमै दोस्रो बालमैत्री घोषणा गरिएको नगरपालिका हो । साविकको प्रगतिनगर गाविस देशमै पहिलोपटक बालमैत्री घोषणा गरिएको किशोरी रेजीना घर्तीमगरले बताइन् । देवचुली नगरले आफूहरूलाई साथ दिँदै आएको उनको भनाइ थियो । ‘हामीलाई मुख्यमन्त्रीज्यूले पनि साथ दिनुपर्‍यो । प्रदेश मुकामबाट टाढाको दूरीमा छौं,’ उनले भनिन्, ‘हाम्रो अभियानले प्रदेशकै शिर उचो बनाएको छ । अब पहिलो बालमैत्री प्रदेश बन्न चाहन्छौं ।’ उनले मुख्यमन्त्रीसमक्ष बालबालिका र किशोरीमैत्री कानुन निर्माण गर्नुपर्ने माग राखिन् । ‘समाजमा किशोरीको अवस्था कस्तो छ र सरकारले कस्तो कानुन ल्याउनुपर्छ भनेर छलफल आवश्यक छ,’ उनले भनिन् ।

Meroghar


अर्की सहभागी आस्था अनियोजित बास्ताकोटीले देवचुलीका किशोरी अभियानै बनाएर सामाजिक, धार्मिक र सांस्कृतिक लगायत कार्यक्रममा सहभागी हुँदै आएको बताइन् । खेलकुदमा पनि वडा, पालिका, जिल्ला, प्रदेशमा उत्कृष्ट हुँदै राष्ट्रिय स्तरसम्म पुगी दोस्रो स्थान ओगट्न सफल भएको बताउँदै उनले प्रदेश सरकारले यसमा चासो देखाउनुपर्ने धारणा राखिन्। यो अभियानले किशोरीमा बोल्ने कलाको विकास भएको उनको भनाइ थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी र बालबालिकाको अधिकार र संरक्षण अभियान चलाउँदै आएको छ । देवचुलीकी आशा विकले भनिन्, ‘प्रदेशका प्रत्येक विद्यालयमा बालमैत्री शौचालय, स्थानीय तहमा बाल हेल्पलाइन र बालबालिका हेर्ने छुट्टै डेक्स निर्माण गर्नुपर्‍यो । प्रदेशभित्रका सबै भौतिक संरचना बालमैत्री हुनुपर्छ ।’ उनले विद्यालयका पाठ्यक्रममा बालबालिका र किशोरकिशोरी सम्बन्धी ऐन, नियम र कानुनका विषय समावेश गर्नुपर्नेमा जोड दिइन् ।

जेब्राक्रस, बाटो, भौतिक संरचना निर्माणसँगै बालबालिका र किशोरीको क्षमता अभिवृद्धिका लागि लगानी, आकाशे पुल र सडकका खाल्डाखुल्डी पुरेर जोखिममुक्त बनाउन माग राख्दै उनीहरूले शहर यातायातमैत्री बन्नुपर्ने बताए । सरकारले बालबालिका ऐन छिटो ल्याएर कार्यान्वयन गरोस् भन्ने उनीहरूको धारणा थियो । स्थानीय तहमा बालबालिका तथा किशोरकिशोरी स्रोत केन्द्र, खेलकुद लगायत साहसिक खेलमा बालिकाको संरक्षणबारे नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने, विद्यालयमा समान पहुँचको व्यवस्था, राज्यका समग्र क्षेत्र र निकायलाई सम्बोधन गर्न सक्नेगरी लैंगिक समानता सम्बन्धी प्रदेश कानुन र कार्यविधि निर्माण तथा कार्यान्वयनको माग उनीहरूको छ । विद्यालय र स्वास्थ्य संस्थामा किशोरी समुह गठन, प्रदेश र स्थानीय तहको प्राविधिक शिक्षामा किशोरीको सहभागिता, बालिकाको लागि बीमा, बालिका तथा किशोरीलाई न्यायको पहुँचको सुनिश्चितताका लागि हिंसा तथा अपराधका घटनामा बालिकामैत्री अनुसन्धान र न्यायिक प्रणाली प्रवर्द्धनका कार्यक्रम पत्रमा समावेश गरिएको छ ।

मुख्यमन्त्री गुरुङले बालमैत्री र किशोरीमैत्री कानुनमा सरकारको ध्यान नपुगेको बताए । प्रदेशका सबै विद्यालयमा बालमैत्री शौचालय र भवन निर्माणको अभियान चलाएको उनको भनाइ छ। ‘तपाईंहरूको यो अभियानले महिलालाई उपमा मात्र सीमित नराखी प्रमुखको जिम्मेवारी समाल्न मद्दत पुग्नेछ,’ उनले भने, ‘संघीय शासन प्रणालीको अभ्यास भएकाले पनि बालबालिका र किशोरीमैत्री कानुन निर्माणमा ध्यान नपुगेको हो ।’ प्रदेश समन्वय परिषद्मा छलफल गरी कानुन निर्माण गरिने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित : माघ १, २०७६ १०:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मगरको माघे ‘सकराटी’

कान्तिपुर संवाददाता

तनहुँ — मगर समुदायले माघे सकराटी (संक्रान्ति) विशेष चाडका रुपमा मनाउँछन् । मगर जातिले मान्दै आएको भूमेपूजा, वैशाखी पूर्णिमा र मंसिरे पूर्णिमा लगायतका चाडपर्वमध्ये माघे संक्रान्ति पनि विशेष रहेको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सचिव नन्दुकुमार थापाले बताए ।

उनले भने, ‘यी चाडपर्वहरू मध्ये मगर जीवनशैली र संस्कृतिका साथै समुदायमा प्रचलित र स्थापित पर्व माघे सकराटीलाई लिने गरिन्छ ।’

माघे सकराटी मगर जातिको उत्पादन प्रक्रिया, आर्थिक जीवन एवं सांस्कृतिक जीवनमा सर्वाधिक महत्व राख्ने पर्व भएकोउनको भनाइ छ । ‘ऐतिहासिक पर्वका साथै भौतिक जीवनमा आधारित रहेको पर्वको रुपमा पनि लिने गरिन्छ,’ उनले भने, ‘यो पर्व हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुसीयालीसाथ बाँच्न पाउने परिकल्पनासहित मनाइन्छ ।’ मगर समुदायमा माघे संक्रान्ति साताभरि मनाउने चलन रहेकोमा पछिल्लो समय २/३ दिनसम्म मात्र मनाउने गरिएको उनले बताए ।

उनीहरूले यस पर्वमा धनुषवाण खेल्ने, छेलो हान्ने, तरुल, भ्याकुर र माछामासु खाने, मासको दाल भात र नून एकै ठाउँमा पकाई खिचडी बनाउने र त्यही खिचडीको पिण्ड पितृलाई दिने गर्दै आएका छन् । यस्तै छोरी, चेलीबेटी र इष्टमित्रहरूलाई बोलाउने र मीठोचोखो खाने परम्परा रहेको गीता थापामगरले बताइन् । ‘पुसको अन्तिम सातामा तरुल, सखरखण्ड, पिंडालुलगायत कन्दमूल जम्मा गरेपछि अन्तिम दिन राति त्यसलाई उसिन्छौं,’ उनले भनिन्, ‘माघ १ मा एक ठाउँमा जम्मा भएर मगरको विशेष जाँड र रक्सी खाने र चुड्का नाच्ने गर्छौं ।’ माघे संक्रान्तिलाई बसन्त ऋतु र नयाँ पालुवा सुरु हुने खुसीयाली एवं उत्सव रुपमा लिइने गरेको मगरले बताइन् ।

मगर समुदायको संस्कार संस्कृति बचाउन चेलीबेटीलाई खुवाउने, सकेको दान दिने र पाकेका बालीहरू भित्र्याएको उपलक्ष्यमा पनि यो पर्व मनाउने गरेको नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष मनिराज थापामगरले बताए ।

‘यो पर्वमा माइतीले चेलीबेटीलाई बोलाएर विभिन्न खानाका परिकारहरू खुवाउने गर्दछन्,’, उनले भने, ‘चेलीबेटीले पनि माइतीलाई मान्न रोटीका विभिन्न परिकार, बारा र रक्सी लिएर आउछन् ।’ सबै मगरहरूको घरमा चुड्का नाच्ने, गाउने, रमाइलो गर्ने, माया सद्भाव साटासाट गरी माघे सकराटी मनाउने गरिन्छ । यस वर्ष जिल्लाको १० वटै पालिकामा भव्यताका साथ माघे संक्रान्ति मनाउने भएको समितिका अध्यक्ष थापाले बताए ।

प्रकाशित : माघ १, २०७६ १०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×