२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मगरको माघे ‘सकराटी’

तनहुँ — मगर समुदायले माघे सकराटी (संक्रान्ति) विशेष चाडका रुपमा मनाउँछन् । मगर जातिले मान्दै आएको भूमेपूजा, वैशाखी पूर्णिमा र मंसिरे पूर्णिमा लगायतका चाडपर्वमध्ये माघे संक्रान्ति पनि विशेष रहेको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सचिव नन्दुकुमार थापाले बताए ।

उनले भने, ‘यी चाडपर्वहरू मध्ये मगर जीवनशैली र संस्कृतिका साथै समुदायमा प्रचलित र स्थापित पर्व माघे सकराटीलाई लिने गरिन्छ ।’


माघे सकराटी मगर जातिको उत्पादन प्रक्रिया, आर्थिक जीवन एवं सांस्कृतिक जीवनमा सर्वाधिक महत्व राख्ने पर्व भएकोउनको भनाइ छ । ‘ऐतिहासिक पर्वका साथै भौतिक जीवनमा आधारित रहेको पर्वको रुपमा पनि लिने गरिन्छ,’ उनले भने, ‘यो पर्व हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुसीयालीसाथ बाँच्न पाउने परिकल्पनासहित मनाइन्छ ।’ मगर समुदायमा माघे संक्रान्ति साताभरि मनाउने चलन रहेकोमा पछिल्लो समय २/३ दिनसम्म मात्र मनाउने गरिएको उनले बताए ।


उनीहरूले यस पर्वमा धनुषवाण खेल्ने, छेलो हान्ने, तरुल, भ्याकुर र माछामासु खाने, मासको दाल भात र नून एकै ठाउँमा पकाई खिचडी बनाउने र त्यही खिचडीको पिण्ड पितृलाई दिने गर्दै आएका छन् । यस्तै छोरी, चेलीबेटी र इष्टमित्रहरूलाई बोलाउने र मीठोचोखो खाने परम्परा रहेको गीता थापामगरले बताइन् । ‘पुसको अन्तिम सातामा तरुल, सखरखण्ड, पिंडालुलगायत कन्दमूल जम्मा गरेपछि अन्तिम दिन राति त्यसलाई उसिन्छौं,’ उनले भनिन्, ‘माघ १ मा एक ठाउँमा जम्मा भएर मगरको विशेष जाँड र रक्सी खाने र चुड्का नाच्ने गर्छौं ।’ माघे संक्रान्तिलाई बसन्त ऋतु र नयाँ पालुवा सुरु हुने खुसीयाली एवं उत्सव रुपमा लिइने गरेको मगरले बताइन् ।


मगर समुदायको संस्कार संस्कृति बचाउन चेलीबेटीलाई खुवाउने, सकेको दान दिने र पाकेका बालीहरू भित्र्याएको उपलक्ष्यमा पनि यो पर्व मनाउने गरेको नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष मनिराज थापामगरले बताए ।


‘यो पर्वमा माइतीले चेलीबेटीलाई बोलाएर विभिन्न खानाका परिकारहरू खुवाउने गर्दछन्,’, उनले भने, ‘चेलीबेटीले पनि माइतीलाई मान्न रोटीका विभिन्न परिकार, बारा र रक्सी लिएर आउछन् ।’ सबै मगरहरूको घरमा चुड्का नाच्ने, गाउने, रमाइलो गर्ने, माया सद्भाव साटासाट गरी माघे सकराटी मनाउने गरिन्छ । यस वर्ष जिल्लाको १० वटै पालिकामा भव्यताका साथ माघे संक्रान्ति मनाउने भएको समितिका अध्यक्ष थापाले बताए ।

प्रकाशित : माघ १, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?