गीत गाउँदै, पीरमर्का पोख्दै

माघीमा थारु समुदायले वर्षभरिको कामको समीक्षा, योजना र आर्थिक कारोबारको छिनोफानो गर्छन्
नवीन पौडेल

(नवलपुर) — नवलपुरको थारू समुदायमा माघी पर्वको रौनक छाएको छ । थारू समुदायले नयाँ वर्षको रुपमा मनाउने यो पर्वमा कामका लागि घर बाहिर गएका फर्किने गरेका छन् । परिवारका सदस्य र आफन्तबीच भेटघाट गरी रमाइलो गर्ने गरिएको छ । 

गीत गाउँदै, पीरमर्का पोख्दै

माघीका अवसरमा आफ्ना संस्कृतिबारे जानकारी दिन जिल्लाभर माघी महोत्सव तथा संस्कृति आदानप्रदानका कार्यक्रम हुन थालेको छ । माघीमा पहिले पहिले गाउँको मुखिया चुन्ने प्रचलन थियो । मुखिया चुनेपछि उसले चौकीदार र गाउँमा कसले के गर्ने भन्ने जिम्मेवारी दिन्थ्यो ।


अहिले त्यो परम्परा हटेको भए पनि माघीमा थारु समुदायले वर्षदिनभरिको कामको समीक्षा, योजना र आर्थिक कारोबारको छिनोफानो गर्छन् । अघिल्लो दिन मछवारीको दिन माछा मारेर माघे संक्रान्तिको दिनमा दिदीबहिनी, आफन्त र गाउँका अगुवा बोलाएर गीत गाउँदै पीरमर्का पोख्ने र रमाइलो गर्ने प्रचलन छ ।


केही वर्ष अघिसम्म आफ्नो पर्व तथा भेषभूषाबारे पत्तो नै नभएका थारू समुदायका युवा अहिले भने माघी पर्वको संरक्षण तथा मौलिक संस्कृतिको जगेर्नामा जुटेका छन् । पूर्वी नवलपरासीको अमलटारीमा थारु होमस्टे स्थापना गरिएको छ, जहाँबाट हराउँदै गएको थारू संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र मौलिक संस्कृतिमा युवाको आकर्षण बढाउने काम गरिएको छ । होमस्टेमा आउने पाहुनालाई थारू नाच, संस्कार र भेषभूषा प्रदर्शन गरेर आकर्षित गर्न थालिएको छ ।


होमस्टेका व्यवस्थापक धनिराम महतोलाई हराउँदै गएको थारु संस्कृति र माघीको परम्परागत मूल्यमान्यता केही वर्ष अघिसम्म राम्ररी थाहा थिएन । तर अहिले पुराना पुस्ताबाट नयाँ पुस्तालाई तालिम तथा सँस्कृति रक्षाका लागि अग्रसर बनाएपछि भाषा र संस्कृतिबारे बल्ल ज्ञान भएको छ । ‘धेरै युवालाई मातृभाषा बोल्न समेत आउने थिएन, पर्व पनि रमाइलोका लागि मात्र मनाउने प्रचलन थियो,’ उनले भने, ‘अहिले आफ्नो मौलिक संस्कृति हेर्न पर्यटक आउन थालेपछि सबै युवाले पर्वको महत्व बुझ्न थालेका छन् ।’

प्रकाशित : माघ १, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?