रैथाने बाली जोगाउनै मुस्किल

आश गुरुङ

लमजुङ — खेतैभरि कागुनो फल्दा मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङकी वनमाया गुरुङको मन फुरुंग हुन्थ्यो । आलोपालो गरी गाउँलेले कागुनो रोप्थे । जेठ–असारमा लहलह झुलेर पाक्ने कागुनो रोप्न उनीहरू पुसदेखि तयारी गर्थे । माघमा खनजोत गरी फागुनमा गाउँका खेतभरि रोप्थे । अनिकाल जोगाउन भने पनि उनीहरू कागुनो साँचेर राख्थे ।

रैथाने बाली जोगाउनै मुस्किल

दूधपोखरी गाउँपालिका–१ की चेप्ची गुरुङका अनुसार चेपेको किनारदेखि गाउँसम्मै पहिले गहुँखेती गरिन्थ्यो । कागुनो खेती पनि हुन्थ्यो । पाखोबारीमा समेत गहुँ र कागुनोको खेती गरिन्थ्यो । पारीपट्टी गोरखामा समेत यसको खेती हुन्थ्यो । ‘अहिले खेतबारी बाँझो भयो । गहुँ र कागुनो रोप्न छाडियो,’ उनले भनिन् ।


क्व्होलासोंथर गाउँपालिकाका पसगाउँ, सिङदी, कुमलुङ, चरागाउँ, भोंजे, गिलुङलगायत गाउँमा अनदी धान फल्थ्यो । चरागाउँका खिमप्रसाद गुरुङका अनुसार हिजोआज केहीले मात्रै उक्त धान लगाउँछन् । ‘अनदी धान गाउँमा खोज्दा पाइँदैन,’ उनले भने । भुजुङमा रातो आँगा धान फल्ने गरेकोमा अहिले रोप्नै छाडिएको छ । मर्स्याङदी– ५ चिप्लाका कुमेर गुरुङका अनुसार गाउँमा २०/२२ मुरी लट्टे फल्थ्यो । गहुँ, जौ र फापर हुन्थ्यो । ‘अहिले खेती हुनै छाड्यो’ उनले भने, ‘गाउँमा युवा बस्दैनन् । बुढाबुढी सहरबाट चामल लगेर खान थाले । भएका केहीले बजारबाटै धानको बीउ किनेर रोप्न थालेका छन् ।’ उनका अनुसार रैथाने बाली धेरै नफल्ने र बढी समय लाग्ने भएकाले स्थानीयले धानमकैमा बल गरे ।


दशक अघिसम्म ग्रामीण भेगमा कागुनो, गहुँ, करु र लट्टे लगायत रैथाने बालीको खेती गरिन्थ्यो । अहिले यी खेती गर्न छाडिएको छ । धान, मकै, कोदोको खेती गरिए पनि बीउ सहरबाट लैजाने गरिएको छ । यसमा रासायनिक मल राखेर फलाउने गरिएको छ । मर्स्याङ्दी–२ घनपोखरा रोप्लेफाँटकी रोकुमारी गुरुङका अनुसार रैथाने बाली नासिँदै गएको छ । धान, मकै र कोदोमा रायायनिक मल हालिने गरिएको छ । ‘रैथाने बाली जोगाउन बीउ बैंक स्थापना गरेका छौं,’ उनले भनिन्, ‘हेरौं, कति सफल हुन्छ ।’


उनका अनुसार ५ वर्षको प्रयासपछि रोप्लेफाँटमा सामुदायिक बीउ बैंक स्थापना गरिएको हो । ग्रामीण भेगमा वर्णशंकर (हाइब्रिड) जातका बीउ हाबी हुँदै गएपछि रैथाने बाली जोगाउन कृषकले सामुदायिक बीउ बैंक स्थापना गरेको उनले बताइन् । किसानले १५ जातका विभिन्न रैथाने बालीका ७४ प्रजातिका बीउ संकलन गरेका छन् । धानका २३ प्रजाति, कोदो १०, जौ १, कागुनो ४, मकै २, उवा १, सिमी ६, बोडी ४, गहत १, भटमास ४, घिरौंला २, पिँडालु ३, खुर्सानी ४, काँक्रो ३ र फर्सीका ३ प्रजातिका रैथाने बीउ संकलन गरी राखिएको घनपोखरा सामुदायिक बीउ बैंकका उपाध्यक्ष समेत रहेकी गुरुङले बताइन् ।


कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषिप्रसार अधिकारी रोहिणीराज घिमिरेले रैथाने बाली जोगाउने अभियान सुरु गरिएको बताए । ‘रैथाने बालीको आवश्यकता र महत्व बुझाउनुका साथै प्रशिक्षण दिन थालेका छौं,’ उनले भने । उनले लमजुङ र मनाङका कृषकलाई आइतबार र सोमबार कृषि ज्ञान केन्द्रको बेंसीसहरस्थित कार्यालयमा बोलाएर रैथाने बाली जोगाउन अभिमुखीकरण गराएको बताए । ‘उत्पादन धेरै नहुने भन्दै रैथाने बालीलाई हेला गरिएको छ,’ उनले भने, ‘तर हाइब्रिड बीउले धोका दिन सक्छ ।


यही वर्ष केही धान फलेन । रैथानेमा यस्तो हुँदैन ।’ रैथाने बाली हराए नेपाली पहिचान हराउने उनको भनाइ छ । ‘रैथाने बाली हराउनु भनेको जैविक विविधता हराउनु हो,’ उनले भने, ‘हाम्रो जस्तो जैविक विविधता भएको मुलुकमा रैथाने बाली अत्यावश्यक छ’ उनले भने ।

प्रकाशित : पुस २९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?