२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बन्दीपुरमा पर्यटक बढे

सम्झना रसाइली

तनहुँ — पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटक बढेका छन् । चिसो मौसम सुरु भएसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल छ । २०७२ को भूकम्पपछि यहाँको पर्यटकीय गतिविधि सुस्ताएको थियो । सन् २०१९ मा करिब १ लाख २० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले बताए ।

बन्दीपुरमा पर्यटक बढे

‘प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलले भरिपूर्ण बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न नेपाल भ्रमण वर्ष २०२० का अवसरमा बन्दीपुर घुम्न निम्तो दिइएको छ,’ उनले भने, ‘बन्दीपुर गाउँपालिका, पर्यटन विकास समिति, क्षेत्रीय होटल संघले संयुक्त रुपमा पर्यटन लक्षित कार्यक्रम अगाडि बढाएका छौं ।’


बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपेली मुलुकका धेरै पर्यटक आउने गरेको उनले बताए । ‘आन्तरिक पर्यटकको रोजाइमा पनि बन्दीपुर पर्ने गरेको छ,’ गुरुङले भने, ‘बेमौसममा चिनियाँ पर्यटक अत्यधिक आउने गर्छन् । बास नबसे पनि भ्रमणका लागि मात्रै आउनेमा चिनियाँ पर्यटक बढी छन् । बन्दीपुरमा दैनिक ५ सयभन्दा बढी पर्यटक आउने गरेका छन् ।’

गुरुङका अनुसार करोडौं लगानीमा सुविधासम्पन्न होटलसमेत खुल्दै छन् । भ्रमण वर्षलाई लक्ष्य गरी हाल ९/१० वटा होटल निर्माणाधीन छन् ।


भ्रमण वर्षमा बन्दीपुरमा २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको जनाउँदै गुरुङले भने, ‘यहाँ साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा घरवास (होमस्टे) छन् । जहाँ एकै पटक १५ सय हाराहारी बस्न सक्छन् ।’


बन्दीपुर घुम्न आउनेलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलबारे जानकारी दिने गरिएको होटल व्यवसायी पत्थर प्रधान बताउँछन् । उनले भने, ‘बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । पर्यटकलाई थप आकर्षित गर्न गुणस्तरमा ध्यान दिएका छौं ।’


यहाँका महिलाले सञ्चालन गरेका घरवास पनि पर्यटकले खचाखच भरिने गरेको बन्दीपुर सामुदायिक होमस्टेकी कोषाध्यक्ष कृष्णकुमारी थापाले बताइन् । ‘चुलोचौको, घरायसी काममै सीमित भएका हामी समूहमा आबद्ध भई सञ्चालन गरिएको होमस्टेले अहिले हाम्रो आर्थिक र सामाजिक सशक्तीकरणमा टेवा पुर्‍याएको छ,’ उनले भनिन्, ‘खाली समयको सदुपयोग र समाजमा नाम पनि भएको छ ।’


प्रकृतिसँग हातेमालो गर्दै कोलाहल, धूवाँधूलोबाट केही टाढा घुम्न जाने सोच बनाएका पर्यटकलाई बन्दीपुर उत्कृष्ट गन्तव्य बनिरहेको होमस्टे एसोसिएसन नेपाल, गण्डकी प्रदेशका उपाध्यक्ष राजु बानियाँले बताए । ‘पर्यटकलाई यहाँको सुन्दर वातावरणले लोभ्याउने गर्छ । त्यसैले एकचोटि यहाँ आउनुभएका पर्यटक पटकपटक आउने गर्नुहुन्छ,’ उनले भने ।

प्रकाशित : पुस २८, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?