बन्दीपुरमा पर्यटक बढे

सम्झना रसाइली

तनहुँ — पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटक बढेका छन् । चिसो मौसम सुरु भएसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल छ । २०७२ को भूकम्पपछि यहाँको पर्यटकीय गतिविधि सुस्ताएको थियो । सन् २०१९ मा करिब १ लाख २० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले बताए ।

‘प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलले भरिपूर्ण बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न नेपाल भ्रमण वर्ष २०२० का अवसरमा बन्दीपुर घुम्न निम्तो दिइएको छ,’ उनले भने, ‘बन्दीपुर गाउँपालिका, पर्यटन विकास समिति, क्षेत्रीय होटल संघले संयुक्त रुपमा पर्यटन लक्षित कार्यक्रम अगाडि बढाएका छौं ।’


बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपेली मुलुकका धेरै पर्यटक आउने गरेको उनले बताए । ‘आन्तरिक पर्यटकको रोजाइमा पनि बन्दीपुर पर्ने गरेको छ,’ गुरुङले भने, ‘बेमौसममा चिनियाँ पर्यटक अत्यधिक आउने गर्छन् । बास नबसे पनि भ्रमणका लागि मात्रै आउनेमा चिनियाँ पर्यटक बढी छन् । बन्दीपुरमा दैनिक ५ सयभन्दा बढी पर्यटक आउने गरेका छन् ।’

गुरुङका अनुसार करोडौं लगानीमा सुविधासम्पन्न होटलसमेत खुल्दै छन् । भ्रमण वर्षलाई लक्ष्य गरी हाल ९/१० वटा होटल निर्माणाधीन छन् ।


भ्रमण वर्षमा बन्दीपुरमा २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको जनाउँदै गुरुङले भने, ‘यहाँ साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा घरवास (होमस्टे) छन् । जहाँ एकै पटक १५ सय हाराहारी बस्न सक्छन् ।’


बन्दीपुर घुम्न आउनेलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलबारे जानकारी दिने गरिएको होटल व्यवसायी पत्थर प्रधान बताउँछन् । उनले भने, ‘बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । पर्यटकलाई थप आकर्षित गर्न गुणस्तरमा ध्यान दिएका छौं ।’


यहाँका महिलाले सञ्चालन गरेका घरवास पनि पर्यटकले खचाखच भरिने गरेको बन्दीपुर सामुदायिक होमस्टेकी कोषाध्यक्ष कृष्णकुमारी थापाले बताइन् । ‘चुलोचौको, घरायसी काममै सीमित भएका हामी समूहमा आबद्ध भई सञ्चालन गरिएको होमस्टेले अहिले हाम्रो आर्थिक र सामाजिक सशक्तीकरणमा टेवा पुर्‍याएको छ,’ उनले भनिन्, ‘खाली समयको सदुपयोग र समाजमा नाम पनि भएको छ ।’


प्रकृतिसँग हातेमालो गर्दै कोलाहल, धूवाँधूलोबाट केही टाढा घुम्न जाने सोच बनाएका पर्यटकलाई बन्दीपुर उत्कृष्ट गन्तव्य बनिरहेको होमस्टे एसोसिएसन नेपाल, गण्डकी प्रदेशका उपाध्यक्ष राजु बानियाँले बताए । ‘पर्यटकलाई यहाँको सुन्दर वातावरणले लोभ्याउने गर्छ । त्यसैले एकचोटि यहाँ आउनुभएका पर्यटक पटकपटक आउने गर्नुहुन्छ,’ उनले भने ।

प्रकाशित : पुस २८, २०७६ ११:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छाउगोठ भत्काउन गाउँगाउँमा प्रहरी

१७ दिनमा १५ सय २० छाउगोठ भत्काइए
मेनुका ढुंंगाना

अछाम — सात–आठ परिवारको सामूहिक छाउगोठ । खुट्टा तन्काउन नमिल्ने गोठमा न झ्याल छ, न बलियो ढोका । गाउँले मिलेर निर्माण गरेको गोठमा ४/५ महिला एकैसाथ पनि बस्छन् । यो अछामको दुर्गम मानिने लयाटी गाउँको एक छाउगोठको अवस्था हो । 

गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा बसेका बेला मृत्यु भएपछि गृह मन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यसयता जिल्ला प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन अभियान थालिएको छ ।

साँफेबगर नगरपालिकाले पनि छाउगोठ भत्काउने अभियान सुरु गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएका छन्  ।अभियान सुरु भएको १७ दिनमा जिल्लाभर १५ सय २० छाउगोठ भत्काइएका छन् । १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो । स्थानीयस्तरमा कानुनबारे पटकपटक छलफल गर्दा पनि छाउगोठमा मृत्यु हुने क्रम नरोकिएपछि प्रहरी र प्रशासनले नेतृत्व लिनुपरेको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए ।

‘१० वटै स्थानीय तहका प्रमुखलगायत सरोकारवालासँग बैठक गरेका छौं । माघ मसान्तसम्म सबै छाउगोठ भत्काउने निर्णय भएको छ,’ डीएसपी भारतीले भने, ‘अटेर गर्नेलाई कारबाही र सेवा सुविधा रोक्न सक्ने अवस्था पनि आउने देखिन्छ ।’ साबिकको महिला तथा बालबालिका कार्यालयले २०७३ मा सर्वेक्षण गर्दा त्यसबेला जिल्लाभर ३३ हजार छाउगोठ थिए ।

अभियानका क्रममा शनिबार प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको नेतृत्वमा प्रहरीले टोली छड्के अनुगमन गर्न लयाटी पुग्यो । उक्त गाउँमा छाउ बार्न गोठमा बसेकी महिलालाई प्रहरीले किन बसेको भन्दै सोधखोज गर्न थाल्यो । एकपछि अर्को गर्दै स्थानीयहरू जम्मा भए । ती महिलालाई उनकै घर नजिक लगेर प्रहरीले केरकार गर्‍यो । गोठमा नबस्न सम्झाइबुझाइ गर्‍यो । त्यत्तिकैमा छाउ बार्न बसेकी महिला ‘गोठका भाँडाकुँडा ल्याउँछु अब बस्दिनँ’ भन्दै गोठमा गइन् । त्यसपछि प्रहरीको नजिक परिनन् । जम्मा भएका अरू गाउँले पनि प्रहरीको नजिक पर्न चाहेनन् ।

‘छाउगोठमा बस्नु हुँदैन भन्ने त थाहा थियो । तर देवताकै डरले बाहिर बस्न बाध्य छौं,’ स्थानीय विमला शाहीले भनिन्, ‘यसरी प्रहरी नै गाउँमा आएपछि सुरक्षित घरमै बस्नुपर्छ भन्ने सबैले बुझ्न थालेका छन्,’ । जनप्रतिनिधि, प्रहरी र स्थानीयकै सक्रियतामा छाउगोठ भत्काउन थालिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । ‘दुर्गम गाउँमा अनुगमनका क्रममा सम्झाइबुझाइ पनि गरिरहेका छौं । अटेर गरे कानुनी कारबाही अघि बढाउँछौं,’ उनले भने ।

प्रजिअ श्रेष्ठ र डीएसपी भारतीलगायतको टोली दुर्गम मानिने बारला गाउँ पुगेर धामीझाँक्रीसँग भेटघाट पनि गरे । स्थानीयसँग छाउ बार्नेलाई घरैमा राख्न आग्रह गरे । स्थानीयका समस्याका बारेमा पनि जानकारी लिए । गाउँको ७० प्रतिशत भूभाग देवीदेवताको नाममा भएकाले बारलामा महिनावारी भएका बेला गोठ र ओडारमा महिलाहरू बस्ने गरेको स्थानीय राधिका शाहीले बताइन् । ‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा छ । असुरक्षित रूपमा बस्दा ज्यान जान्छ भन्ने पनि थाहा छ । तर देवताकै कारणले गोठ र ओडारमा बस्नुपर्छ,’ उनले भनिन्, ‘छाउ बार्नेलाई कारबाही गर्ने थाहा पाएपछि सबै डराएका छन् । सबैका गोठ भत्किए, धेरैले घरमा बस्न सुरु गरेका छन् ।’ कारबाहीको त्रास नभएसम्म छाउ बार्न गोठ जाने चलन नरोकिने उनले बताइन् ।

‘विभिन्न खालका जनचेतनामूलक कार्यक्रम त पहिले पनि भएका हुन् । घरमा बस्छु भनेकै भरमा धेरै गाविस छाउपडी गोठमुक्त घोषणासमेत भए,’ उनले भनिन्, ‘कार्यक्रममा बस्दासम्म छाउ नबार्ने भन्दै घोषणा गर्नेहरू पनि घरमा गएर गोठमा बसाउँछन् । बसाउन बाध्य पार्छन् ।’ उनका अनुसार जनचेतनासँगै कानुन कार्यान्वयनमा कडाइ गरे कुप्रथा न्यूनीकरण हुनेछ ।

कानुन कार्यान्वयन नहुनुभन्दा पहिले जति सम्झाइबुझाइ गर्दा पनि गोठमा नै बस्ने गरेका महिलाहरू ३ महिना कैद र ३ हजार जरिवाना तिर्नुपर्ने बताएपछि आफैं घरभित्र बस्न थालेको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका वडाध्यक्ष ताराप्रसाद खनालले बताए ।

प्रकाशित : पुस २८, २०७६ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×