कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्पादनपछि मात्रै अनुदान

अगन्धर तिवारी

(पर्वत) — अनुदान बढिरहेको छ तर उत्पादन निराशाजनक छ । यसले किसानलाई समस्यामा पारिरहेको छ । कृषि ज्ञान केन्द्रले एक दशकको अनुदान र प्रतिफलको अवस्थालाई विश्लेषण गरेर चालु आर्थिक वर्षदेखि उत्पादनमा आधारित अनुदान दिने कार्यक्रमलाई अघि बढाएको छ । यसले व्यावसायिक किसानलाई प्रोत्साहन मिल्ने केन्द्रले विश्वास लिएको छ ।

उत्पादनपछि मात्रै अनुदान

कृषिमा यान्त्रीकरणको सुरुआत भएयता जिल्लामा वितरण भएको अनुदानको अनुपातलाई मूल्यांकन गरेर केन्द्रले बढी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । कृषि फर्म दर्ता गरेर उत्पादन नै नगरी कागजातका आधारमा अनुदान कुम्ल्याउने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि यस्तो कार्यक्रम अघि बढाइएको केन्द्रले जनाएको छ । व्यावसायिक कृषिलाई जैविक प्रविधिमा आधारित भएर उत्पादन बढाउनेगरी ल्याइएको योजनामा खाद्यान्न, फलफूल र नगदेबाली उत्पादन गर्ने कार्यक्रम सुरु गरिएको छ । ‘प्रांगारिक उत्पादनलाई बढाउन किसानलाई प्रतिफलमा आधारित अनुदान दिने योजना ल्याएका हौं,’ केन्द्र प्रमुख बासुदेव रेग्मीले भने, ‘यो वर्ष १० लाख बजेट छ । आवश्यकता अनुसार बढाउन सकिन्छ ।’


यस कार्यक्रमअन्तर्गत किसानले जैविक मल तथा विषादीको प्रयोगबाट गरेको उत्पादनमा आधारित अनुदान पाउँछन् । किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा खाद्यान्न बिक्री गरेको अनुपातका आधारमा प्रतिकिलो २ रुपैयाँका दरले नगद अनुदान दिने बताइएको छ ।


अनुदानका लागि किसानले निवेदन दिन सुरु गरिसकेका केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत पहिलो अनुदान माग गर्न बागलुङको गलकोट–१, दुधिलाभाटीका हुमबहादुर खत्रीले मंगलबार निवेदन दिएका केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताए । ‘यो पहिलो निवेदन हो,’ उनले भने, ‘प्रोत्साहन अनुदान भएकोले निवेदनउपर छानबिन गरेर तुरुन्तै अनुदान दिइन्छ ।’ प्रतिकिलो २ रुपैयाँका दरले प्रोत्साहन रकम लिन किसान खत्रीले काउली, बन्दा, गोलभेंडा, साग लगायतका तरकारी १० टन बिक्री गरेको विवरण पेस गरेका छन् । अनुदान दाबी गर्न बिक्री गरेको बिलभर्पाइ र वडा तथा सम्बन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्छ ।


उत्पादनमा आधारित अनुदान उपयोगी रहेको किसानको प्रतिक्रिया छ । ‘खेती गरेपछि पाउने पैसाले आत्मबल बढ्छ,’ किसान खत्रीले भने, ‘कागजपत्र मिलाएर आउनेले खेती गर्दैनन् ।’


गण्डकी प्रदेश सरकारको प्रांगारिक खेती विकास कार्यक्रमअन्तर्गत यो योजना अघि सारिएको हो । व्यावसायिक फर्मलाई कागजातका आधारमा अनुदान दिँदा अपेक्षित उत्पादन बढ्न नसकेपछि यस्तो प्रोत्साहन रकम वितरण गर्न थालिएको बाली संरक्षण अधिकृत नवनारायण पौडेलले बताए । कार्यालयले सीमित बालीमा मात्रै यस्तो प्रोत्साहन रकम दिनेछ । पौडेलका अनुसार खाद्यान्नअन्तर्गत चैतेधान, मौसमी तथा बेमौसमी तरकारी, नगदेबालीअन्तर्गत अलैंची, अदुवा, बेसार, चिया, कफी खेती गर्ने किसानलाई प्रोत्साहन रकम दिइन्छ । फलफूलअन्तर्गत सुन्तला, किवी, अंगुर, आँप उत्पादन गर्ने किसानले यो अनुदान दाबी गर्न सक्छन् ।


अनुदान दाबी गर्न व्यावसायिक रुपमा फर्म सञ्चालन गरेको, स्थायी लेखा नम्बर लिएको, प्यान बिल भएको, टनेल, भकारो सुधार, गड्यौँले मलखाद भएको हुनुपर्ने प्रावधान छ । कार्यालयले प्रांगारिक खेती विकास कार्यक्रम समेत सुरु गरेको छ । ज्ञान केन्द्रमा यस वर्ष २३ करोड रुपैयाँ बजेट छ भने यान्त्रिक उपकरण अनुदानमा १७ करोड छुट्याइएको छ ।

प्रकाशित : पुस २४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?