१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

७१ वर्षमा प्रशासन पुगेरै नागरिकता

हरिराम उप्रेती

(गोरखा) — पुसको कठ्यांग्रिदो जाडो, त्यसमाथि दिनभर हुस्सु लाग्दा यहाँ झनै चिसो बढेको छ । यस्तो मौसममा खाली खुट्टा, कट्टु लगाएका एक सेवाग्राही बुधबार जिल्ला प्रशासन कार्यालयमा देखिए । सिरानचोक गाउँपालिका–७, सिम्लेका वीरबहादुर बराम नागरिकता पाउने पर्खाइमा थिए । भाइ मनबहादुरले आवश्यक कागजपत्र जुटाएर बुझाएसँगै ७१ वर्षीय वीरबहादुरले नागरिकता पाए । यद्यपि नौलो परिवेशमा घुलमिल हुन भने सकिरहेका थिएनन् ।

७१ वर्षमा प्रशासन पुगेरै नागरिकता

नागरिकता पाएपछि दाइभन्दा २१ वर्षले कान्छा भाइ मनबहादुरको अनुहारमा भने खुसीसँगै भावुकता छल्किएको देखिन्थ्यो । विसं २००५ जेठ १५ मा जन्मिएका दाइलाई नागरिकता दिलाएसँगै अब वृद्घभत्ताका लागि प्रक्रिया थाल्ने मनबहादुरले बताए । ‘वृद्घभत्ता पाइन्छ भनेर नागरिकता बनाउन आएको,’ मनबहादुरले भने, ‘अहिलेसम्म गाउँ नछाडेको दाइलाई यहाँसम्म ल्याउन निकै जोडबल गर्नुपर्‍यो ।’ मनबहादुरले दाइको नागरिकता बनाइदिन यसअघि पनि प्रयास नगरेका भने होइनन् । ‘दाइ घर छाड्न पनि नमान्ने, गाडी चड्न पनि नमान्ने, यसैमा अलमलियौँ,’ उनले भने । पछिल्लो समय भत्ता पाउने उमेर भएकाले नागरिकता बनाउन छिमेकीले सुझाएपछि सदरमुकाम आएको मनबहादुरको भनाइ छ ।


नागरिकता पाएसँगै बराम दाजुभाइ बुधबार साँझै गाउ फर्किए । ‘नागरिकता बनाउन फोटो चाहिने नै भयो, फेरि स्वयं व्यक्ति उपस्थिति हुनैपर्ने रहेछ,’ मनबहादुरले भने । नागरिकताका लागि दाइको फोटो खिचाउन पनि सकस परेको उनले अनुभव सुनाए । ‘बल्लतल्ल फकाएर मेचमा राखी फोटो लिन सक्यौँ,’ उनले भने । १४ वर्षको उमेरमा मानसिक समस्या देखिएका वीरबहादुर अहिलेसम्म घर छाडेर अन्यत्र नगएको भाइ मनबहादुरले बताए । ‘एक्लै बोलिरहनुहुन्छ, उहाँले बोलेको हामीले बुझ्दैनौँ, हामीले बोलेको उहाँले बुझ्नुहुन्न,’ उनले भने, ‘कतिपटक धामी–झाँक्रीलाई देखायौँ, दबाइ लागेन ।’


वृद्घभत्ता आए औषधिउपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने मनबहादुर बताउँछन् ।


नागरिकता बनाउने मेसोमा वीरबहादुरले पहिलोपटक सहर देख्नुका साथै गाडी चढ्ने अवसर मिलेको उनको भनाइ छ । ‘गाडी चढ्न मान्नुहुन्न कि भन्ने लागेको थियो, चढिसकेपछि साह्रै रमाइलो मान्नुभयो,’ उनले भने, ‘चप्पल र पाइन्ट लगाएर ल्याउन खोजेको सकिएन ।’ दाइको अपाङ्गता परिचयपत्र बनाइदिन पनि तयारी थालेको उनको भनाइ छ । अहिलेसम्म अपाङ्गता परिचयपत्र पाइन्छ भन्नेसमेत थाहा नपाएको उनले सुनाए । ‘यतिका उमेरसम्म नागरिकता नबनाएकोबारे प्रहरीमार्फत बुझेर नागरिकता उपलब्ध गराएका हौँ,’ जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले भने ।


अपाङ्गता भएकै कारण नागरिकता पाउनबाट कोही पनि वञ्चित हुन नहुने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउँछन् । लामो समयसम्म नागरिकता नपाएकोबारे स्थानीय तहमार्फत जानकारी आए घरमै गएर भए पनि नागरिकता उपलब्ध गराउने उनले स्पष्ट पारे ।

प्रकाशित : पुस २४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?