२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कोदोको पिठो कोसेली

सम्झना रसाइली

तनहुँ — तनहुँको बन्दीपुर गाउँपालिकाका युवाले कोदोको पिठोलाई बन्दीपुरको कोसेलीका रुपमा विक्री गर्ने अभियान थालेका छन् । न्दीपुर–१ का ९ युवाले ‘कृषि र पर्यटनमा युवा अभियान’ संस्था सञ्चालन गर्दै यस्तो योजना ल्याएका हुन् । संस्थामार्फत स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरण गर्ने अभियान अगाडि बढाएको सचिव सुदिन पौडेलले बताए ।

कोदोको पिठो कोसेली

‘स्थानीय कृषि उपजलाई बढावा दिनु नै हाम्रो उद्देश्य हो,’ उनले भने । युवा समूहले यहाँ उत्पादित कोदो, मस्याङ, अनादिको चामल, गुन्द्रुक, तरुल, च्याउ, साग, मुला, काउली र गोलभेंडा लगायतका कृषि उपजलाई बजारीकरण गर्ने अभियान चलाएका छन् । ‘स्वास्थ्यका लागि लाभदायक कोदो पछिल्लो समय हराउँदै गएको छ,’ पौडेलले भने, ‘यसलाई प्रवर्द्धन गर्ने र बन्दीपुर आउने पर्यटकलाई कोसेलीका रुपमा विक्री गर्ने योजना छ ।’ उनीहरूले बन्दीपुरको डुम्रेमा जारी बन्दीपुर साँस्कृतिक एवं पर्यटन महोत्सवमा करिब ८ सय किलो कोदोको पिठो विक्री गर्ने लक्ष्य लिएका छन् ।


प्रतिकेजी कोदो १२०, भाङ्गो ३४०, मस्याङ १७०, अनादीको चामल २ सय, गुन्द्रुक ६ सय, तरुल ८० रुपैयाँका दरले विक्री गरिरहेका छन् । दर्शकहरूले संस्थाको स्टलमा राखिएका कृषि उपजहरू निकै रुचाएको र सोचेभन्दा बढी विक्री भइरहेको पौडेलले बताए । ‘बसाइसराइले गाउँमा कोदोको उत्पादन घट्दै आएको छ,’ बन्दीपुर गाउँपालिका–५ गोरेचौताराकी शर्मिला विकले भनिन्, ‘मानव स्वास्थ्यका लागि राम्रो भए पनि कम उत्पादन र उपभोक्तामाझ नपुग्दा सहजरुपमा उपभोग गर्न पाइरहेका छैनौं ।’ बेलाबखत आयोजना हुने मेलामहोत्सवमा मनोरञ्जनमात्र नभएर यसरी स्थानीय उत्पादन विक्रीका लागि राखिदिँदा कोदोलगायत अन्य कृषि उपज खरिद गर्न सहज हुने उनी बताउँछिन् ।


बन्दीपुर घुम्न आउने पर्यटकलाई कोसेलीको रुपमा कोदोको पिठो विक्री गर्न सके झनै राम्रो हुने उनको भनाइ छ । उनी मात्रै होइन, बन्दीपुर–२ भुमर्सेकी रेनु भण्डारी पनि यसरी महोत्सवमा कृषि उत्पादन विक्रीका लागि ल्याउँदा उपभोक्तालाई सहज भएको बताउँछिन् । उनले भनिन्, ‘एक त स्थानीय उत्पादनले बजार पाए । अर्को हामीले घरनजिकै मेला हेर्न जाँदा मनोरञ्जनसँगै कृषि उत्पादन पनि खरिद गर्न पायौं ।’ उनले ३ किलो कोदोको पिठो किनेको बताइन् ।


कोदोको खेती पछिल्लो समय कम हुँदै गएको छ । तर, यसको माग बढ्दो छ । सिँचाइ कम हुने पाखोबारीमा गरिने कोदोको खेती कृषकको कम प्राथमिकतामा पर्ने गरे पनि बजारियाको भान्छामा भने खोजी हुन थालेको छ । गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारतिर खोजीखोजी खान थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल र गहुँलगायत अन्न भित्रिन थालेपछि पोसिलो कोदो, फापर र जौजस्ता स्थानीय अन्नप्रतिको आकर्षण घट्दै गएको छ ।


यस्तै, स्थानीय उत्पादन मास, अदुवा, सुन्तला, तरकारी र खसीबोकाको प्रवर्द्धन गर्न किसानलाई प्रोत्साहित गर्न महोत्सव सफल हुने बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले बताए । उनले भने, ‘बन्दीपुर पर्यटनमा मात्र होइन, कृषि उपजमा पनि अग्रणी भएको हुँदा यहाँ उत्पादित कृषि उपजको बजारीकरणमा मेला महोत्सवले निकै टेवा पुगेको छ ।’ महोत्सवबाट हुने लाभ सीमित व्यक्तिले मात्र उपभोग गर्नेभन्दा पनि स्थानीय सबैले लाभ लिने उद्देश्यबाट महोत्सव सञ्चालन गरिएको नेपाल आदिवासी जनजाति महासंघ, बन्दीपुर समन्वय परिषद्का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

प्रकाशित : पुस २१, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?