कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भ्रमण वर्ष शुभारम्भ, अल्ट्रालाइटबाट पुष्पवृष्टि  

पर्यटक लोभ्याउन बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति  
लेकसाइटमा घरघरबाट बेलुन उडाइयो 

(गण्डकी) र (तनहुँ) — गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा शुभारम्भ गरिएको छ । सातै प्रदेश र केन्द्रमा समेत बुधबार एकैसाथ भ्रमण वर्ष आरम्भ गरिएको हो ।

भ्रमण वर्ष शुभारम्भ, अल्ट्रालाइटबाट पुष्पवृष्टि  

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । शुभारम्भ अवसरमा पोखरामा बाँजागाजासहित, विभिन्न जातजातीको भेषभूषा लगाएर र्‍याली निकालिएको थियो । र्‍याली फिस्टेल गेटदेखी बाराही चोकमा गएर सभामा परिणत भएको थियो । भ्रमण बर्षको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले उद्घाटन गरे ।


सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने योजना तय गरेको छ । यसैबीच गण्डकी सरकारले पनि २०२२ सम्म २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित काम गरिएको बताएको छ । नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेश समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले पर्यटकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । भ्रमण वर्षलाई स्वागत गर्दै उनले पर्यटक नै समृद्धिको आधार रहेको बताए । भ्रमण वर्ष भव्य र सफल बनाउन पहिलो दिनमै दुईवटा अल्ट्रालाइटबाट पुष्पवृष्टि गरिएको थियो ।


कार्यक्रमस्थलमा प्रदेशअन्तर्गतका धार्मिक एवं पर्यटकीय स्थलको फोटो प्रदर्शनी पनि गरिएको थियो । बुधबार टोपी दिवस पनि भएकाले पोखरा विमानस्थलमा ढाकाटोपी लगाएर पर्यटकको स्वागत गरिएको थियो । भ्रमण बर्ष सुरुवात कार्यक्रमको लागि प्रदेश सरकारले २५ लाख रुपैया विनियोजन गरेको छ । भ्रमण बर्ष प्रदेश समितिका सहसंयोजक अग्निप्रसाद कँडेलले सवै जिल्लाबाट सवै जाजजातिको राम्रो उपस्थिति रहेको जानकारी गराए । सभामा सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो । साँझ ५ बजेपछि लेकसाइटमा सबै घरबाट एकसाथ बेलुन उडाइएको थियो । यति वेला पोखराको लेकसाइट झिलिमिली छ । आन्तरिक र बाह्य पर्यटकको घुँइचो उत्तिकै देखिन्छ । कार्यक्रममा स्याङ्जाको घाटु नाँच, तनहुँको कौडा नाँच, लमजुङबाट कृष्णचरित्र नाँच, म्याग्दीबाट थारु, मुस्ताङ्बाट थकाली नाँच देखाइएको थियो । पोखरा नेपालकै पर्यटकीय राजधानी भएकाले यसलाई विश्वसामू चिनाउने गरि काम गरिने सरकारको भनाई छ । भ्रमण वर्षबाट पर्यटक आगमन बढाएर विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सृजना गर्ने, दुर्गम क्षेत्र र पिछडिएको स्थानमा पर्यटनको प्रतिफल पुर्‍याएर आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य रहेको मन्त्री लम्सालले बताए ।


भ्रमण बर्ष सुरु भएपछि गण्डकी प्रदेशका पर्यटकीय स्थल र गतिविधिहरूलाई अर्न्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सरकारको योजना छ । पोखरामा पर्यटकको संख्या वृद्धि भए पनि आम्दानी न्यून रहेको गुनासो आइरहेको बेला गुणस्तरीय पर्यटक कसरी भित्रयाउने भन्ने योजनामा सरकार रहेको पर्यटन मन्त्रालयले जनाएको छ । पोखरामा २०१८ मा ११ लाख ७३ हजार पर्यटक भित्रिएका थिए । यसै गरी २०१९ मा १२ लाख पर्यटक भित्रिए जसमध्ये ४० प्रतिशत भारतीय छन् ।


पर्यटकलाई प्रवेशद्वारमै स्वागत

निधारमा रातो टिका, गलामा सयपत्रीको माला लगाएकी स्वीट्जरल्यान्डकी एन्ड्रेया निकै खुशी देखिन्थिन । टिका र माला उनलाई निकै निकै मन परेछ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गण्डकी प्रदेश घुम्न आएका पर्यटकलाई प्रदेशको प्रवेशद्वार मुग्लिन पुलमा फूलमाला, अविर, दोसल्ला पहिर्‍याएर स्वागत गरे । पर्यटकलाई कौरा नृत्य पनि देखाइयो ।


गाउँपालिका अध्यक्ष थापाले टिकासहित माला लगाइदिएपछि एन्ड्रेयाले खुसी हुँदै सोधिन, ‘क्यान आई टेक दिस गार्ल्येण्ड, (यो माला म लैजान पाउँछु) ?’ गाउँपालिका अध्यक्ष थापाले मुस्कुराउँदै भने, ‘तपाईहरूलाई गण्डकी प्रदेशमा स्वागत छ, यो तपाईहरूको स्वागतकै लागि गरिएको हो ।’


एन्ड्रेया मात्र होइन, गण्डकी प्रदेश प्रवेश गरेका जापान, चीन, इटलीलगायत मुलुकका पर्यटक पनि यस्तो आतिथ्यले खुसी मुद्रामा देखिन्थे । उनिहलाई स्थानीय समुदायले जातीय पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक कार्यक्रमसहित स्वागत गरे ।


कौरा नृत्यमा नाच्दै पर्यटकले नेपाल निकै सुन्दर अनि नेपाली पनि सुन्दर रहेको बताए । कौरामा नाचेर नथाकेकी इटाली नागरिक इमानुइला भन्दै थिइन, ‘नेपाल सारै राम्रो छ । ‘गीत त बुझेको छैन तर म्यूजिक साह्रै मन पर्‍यो । नेपाली नानीहरूसँग नाच्न रमाइलो भयो ।’ उनले मगर समुदायको भेषभुषा, गरगहनामा सजिएका युवतीसंग सेल्फी पनि खिचिन् । आफु एक हप्तादेखि घुमेको ठाउँ सम्झिँदै भक्तपुर दरबार स्क्वायर निकै राम्रो लागेको बताइन् । यस्तो आतिथ्य देखेपछि १० दिनका लागि आएकी एन्ड्रेयाले घुमघाम २ हप्ता लम्बिने बताइन् । उनले भनिन्, ‘भ्रमण वर्षबारे सुनेकी थिएँ तर यस्तो भव्य स्वागत हुन्छ भनेर अपेक्षा गरेकी थिइन ।’


संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष २०२० र गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९–२२ लाई गाउँपालिकाले पनि सहयोग गर्न यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले बताए ।

प्रकाशित : पुस १७, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?