२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मौलिकतामा फर्किंदै होमस्टे

अगन्धर तिवारी

पर्वत — ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न पर्वतमा खुलेका होमस्टे (घरबास) मा मौलिकतालाई जोड दिन थालिएको छ । होमस्टे सञ्चालकले सहरबजार र प्याकेटका खानाको सट्टामा गाउँमै उत्पादित अन्नका परिकार पाहुनालाई खुवाउने गरेका छन् ।

मौलिकतामा फर्किंदै होमस्टे

जिल्लाका करिब दुई दर्जन होमस्टेमा पुग्ने पाहुनालाई ग्रामीण पहिचान दिनका लागि गाउँमै उत्पादित परिकारका साथै स्थानीय जातका कुखुरा, खसीबोकाको मासु, आफैले बनाएको कोदाको रक्सीलगायतका परिकारको स्वाद

चखाउने गरेका हुन् ।

आर्थरस्थित पञ्चकोसी होमस्टे समूहका सञ्चालक ओमकार गुरुङले पहिला बजारबाट ल्याएका प्याकेटका खाना पनि खुवाइने गरिएकोमा होमस्टे भनेकै मौलिकताको पहिचान हो भन्ने लागेपछि बजारिया खाना पकाउनै छोडेको बताए ।

बिहादी–१ बाच्छाका होमस्टे सञ्चालकले गिठा र भ्याकुरसमेतका परिकार बनाउँछन । पाहुनालाई कन्दमूलको स्वादमा रमाउनुका साथै अर्गानिक परिकार खुवाउने गरी होमस्टे सञ्चालनमा ल्याइएको स्थानीय सहनशील महिला समूहकी अध्यक्ष सीता केसीले बताइन् । ‘केही दिदीबहिनी मिलेर समूह गठन गरेका थियौं,’ उनले भनिन्, ‘पछि होमस्टे चलाउने सोच आयो । होमस्टेमा पनि अन्तभन्दा नयाँ स्वाद दिन सकिन्छ भनेर मौलिकतातिर लागेका हौं ।’

ग्रामीण पर्यटनमा योगदान दिन सञ्चालित होमस्टेले केही न केही नयाँ विशेषता दिने जमर्कोमा लागेका हुन् । जिल्लाकै पुरानो मोदी–८ चित्रेमा सञ्चालित होमस्टेमा समेत केही वर्षयता गुरुङ समुदायका जातिय नाचगान, खानाका परिकार, पोसाक लगायतको प्रदर्शनसमेत गर्दैआएका छन् । ‘हामीले गुरुङ पहिचानलाई नै विशेष फोकस गर्छौं,’ होमस्टे अध्यक्ष सुसीलादेवी गुरुङले भनिन्, ‘जातीय संस्कार र मौलिकता अध्ययन गर्न आउने बढेका छन् ।’ चित्रेका होमस्टेमा केही वर्षयता त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रमा अध्ययनरत विद्यार्थी, विभिन्न प्राविधिक महाविद्यालयका विद्यार्थीसमेत सामाजिक विभिन्न पाटाको अध्ययनका लागि आउने गरेका छन् ।

‘केही न केही नयाँ कुरा दिन सकेमा पाहुना आउनुहुन्छ भन्ने लागेको छ,’ बिहादी–१ को बच्छेश्वर सामुदायिक होमस्टेका अध्यक्ष चन्द्रबहादुर गुरुङले भने, ‘होमस्टेमा आउने भनेकै यहाँको मौलिकताका लागि हो । त्यही स्वाद दिन हामीले जंगली कन्दमूलका परिकार खुवाउने गरेका हौं ।’ कन्दमूलका रूपमा पाइने गिठा, भ्याकुर, सखरखण्ड, पिँडालु, तरुल, मकैका च्याँख्लाबाट बनेको आटो, सातु, भुटेका मकै, कोदाको ढिँडो, रक्सी, सिस्नोबाट बनाइने विभिन्न परिकार तयार

पार्ने सञ्चालकले बताए ।

त्यसबाहेक तरकारीमा कुरिलो, गेडागुडी, काभ्रो, कोइरालो, गुन्द्रुकलगायत परिकार बच्छेश्वरमा पाइन्छ । गाउँमा उत्पादन हुने अन्न तथा तरकारी रासायनिक मल, विषादीरहित हुने स्थानीय लालबहादुर गुरुङले बताए ।

प्रकाशित : पुस १५, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?