कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीयको विरोधले उत्खनन रोकियो

प्रताप रानामगर

दमौली — तनहुँको भिमाद नगरपालिका–५ स्थित बाँदरकुनामा अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेको भेटिएपछि स्थानीयले विरोध गरेका छन् । विरोधपछि उत्खनन कार्य रोकिएको स्थानीय पाटन युवा क्लबका अध्यक्ष अमृत गैह्रैले बताए ।

स्थानीयको विरोधले उत्खनन रोकियो

चार रोपनी ६ आना जग्गामा अवैध उत्खनन गरेको भेटिएको हो । क्रसर व्यवसायीले वडा कार्यालयको सिफारिसबिना नगरपालिकाबाट अनुमति ल्याउने गरेका छन् । शक्तिको आडमा वडाको सिफारिबिना अनुमति ल्याएकोप्रति स्थानीयले विरोध गरेका हुन् । कुनै पनि व्यापार व्यवसाय, उद्योग सञ्चालन गर्न वडाको सिफारिस लिनुपर्ने हुन्छ । तर, वातावरणीय तथा पर्यावरण जस्ता संवेदनशील क्षेत्रमा दक्खल पुग्ने गरी उत्खनन गर्न शक्तिका आडमा वडा कार्यालयलाई बेवास्ता गरिएको छ ।


नगरपालिकाले दिएको अनुमतिबाहेक निजी जग्गाको पनि उत्खनन गरेको भेटिएको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए । जग्गाधनी र क्रसर व्यवसायीलाई बोलाएर नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । वातावरणीय मूल्याङ्कन प्रतिवेदन अनुसार जग्गाधनीले नगरपालिकालाई सम्झौता मिति र माल उठाएपछि राजस्व बुझाउनुपर्ने नगरपालिकाका राजस्व शाखाका विष्णु श्रेष्ठले बताए ।


सम्झौता गर्दा करिब १० लाख ५६ हजार रुपैयाँका दरले राजस्व तिर्नुपर्ने हुन्छ । बाँकी आधा रकम उत्खनन कार्य सकेपछि बुझाउनुपर्ने नगरपालिकाले सर्त राखेका छन् । दुवै समयमा गरी २१ लाख १२ हजार रुपैयाँ नगरपालिकालाई राजश्व तिर्नुपर्ने उनले बताए । उत्खनन दरभाउ प्रदेश सरकारको नियमअनुसार राखेको हो । प्रस्तावित तनहुँ जलविद्युत् आयोजनाबाट डुबान पर्ने प्रभावितमध्ये केही व्यक्तिले मुआब्जा नलिएर ढुंगागिटीको दोहनमा लागेका हुन् ।


बाँदरकुनामा रहेको खेतमा दुई जेसीभी र एक्साभेटर प्रयोग गरी दैनिक दोहन गर्दासमेत प्रहरी प्रशासन भने मुकदर्शक बनेको छ । मुआब्जा रकम कम भएको बहानामा क्रसर व्यवसायीले गाउँका सीधासोझा व्यक्तिलाई आफ्नो प्रभावमा पारेर उत्खननमा लागेका हुन् । जग्गाधनीले प्रतिटिपर ५ सय रुपैयाँका दरले बिक्री गरेको खेतधनी वीरबहादुर थापाले बताए । ‘मुआब्जा रकम थोरै भयो,’ उनले भने, ‘त्यसैले अहिलेसम्म बुझेको छैन ।’ ऋषिङ गाउँपालिका–८ पल्ट्याङका वीरबहादुर थापाको १० रोपनी ५ आना, विवादेवी थापाको ४ रोपनी र जीतबहादुर थापाको १ रोपनी १४ आना खेत उत्खनन गरिएको हो ।


भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालका छोरालाई उत्खनन गर्न दिएको एक स्थानीयले बताए । स्थानीयका अनुसार मंसिर लागेसँगै जेसीभी र एक्साभेटरले दैनिक ढुंगागिटी उत्खनन गरिरहेको छ । जग्गा उत्खनन सिफारिसका लागि तनहुँ जलविद्युत् आयोजनाले असहमति रार्ख्दै आएको छ । तनहुँ जलविद्युत् आयोजनाबाट डुबान क्षेत्रका मुआब्जा नबुभेका व्यक्ति जग्गा भिमाद नगर कार्यापालिकाले निर्णय गरेर उत्खनन गर्न दिएको हो ।


मुआब्जा रकम लिइसकेको र प्रक्रियामा गएका सबै जग्गाको स्वामित्व तनहुँ जलविद्युत् आयोजनाको हुने उपप्रबन्धक श्यामजी भण्डारीले बताए । ‘जलविद्युत्बाट प्रभावित सबै जग्गा तनहुँ जलविद्युत् आयोजनाको हुन्छ,’ उनले भने, ‘नियमले मुआब्जा नलिनेको जग्गामा पनि प्रक्रियामा पनि आयोजनाकै हुन्छ ।’ मुआब्जा रकममा चिक्त नबुझेमा व्यक्तिले गुनासो राख्न सकिने उनले बताए ।

प्रकाशित : पुस १४, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?