कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घट्दै चितुवाको त्रास, असारयता ६ समातिए

सम्झना रसाइली

(तनहुँ) — झन्डै २ वर्षदेखि चितुवा आक्रमणका कारण त्रसित भानु नगरपालिकाको चितुवा प्रभावित क्षेत्रका बासिन्दाले पछिल्लो समय राहत महसुस गर्न थालेका छन् । नरभक्षी बनेको चितुवा नियन्त्रणका लागि सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी बन्दै जाँदा चितुवा आक्रमणको त्रास कम हुँदै गएको छ ।

घट्दै चितुवाको त्रास, असारयता ६ समातिए

डिभिजन वन कार्यालय, नगरपालिका र चितुवा प्रभावित क्षेत्रका सामुदायिक वनको सक्रियतामा निर्माण गरिएको परम्परागत काठको खोरमा थापिएको पासोमा चितुवा पर्न थालेपछि आक्रमणको त्रास कम हुँदै गएको भानु–२ की सीता अधिकारी बताउँछिन् । पासोमा अहिलेसम्म २ भाले र ४ पोथी चितुवा परेको डिभिजन प्रमुख केदार बरालले बताए । बिहीबार बिहान व्यास नगरपालिका–९ स्थित स्याकुनथोक सामुदायिक वनमा थापिएको फलामे पासोमा करिब ७ वर्षको पोथी चितुवा परेपछि नियन्त्रणमा लिइएको छ । ‘भानु–१, २, ३, ४ वडाको सामुदायिक वन क्षेत्रमा बनाइएको परम्परागत खोरमा क्रमश: चितुवा पर्न थालेपछि स्थानीयमा त्रास कम हुँदै गएको छ’, बरालले भने, ‘उनीहरू पहिलेकै दिनचार्यमा फर्किंदै गएका छन् ।’


यो २ वर्षको समय अवधिमा सामुदायिक वन क्षेत्रसँगै जोडिएका यी वडाका बस्तीका घरघरमै साँझको समयमा चितुवा आई विशेष गरी बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेको थियो । चितुवाले साँझ ५ देखि ७ बजेको समयमा घर आँगनमा खेल्दै गरेका बालबालिकालाई आक्रमण गर्न थालेपछि साँझ नपर्दै गाउँ सुनसान हुने गरेको अधिकारी बताउँछिन् । उनले भनिन्, ‘अहिले बिस्तारै पहिलेजस्तै हुँदै छ । चितुवा नियन्त्रणसँगै हामीले राहत महसुस गरेका छौं ।’ हिंस्रक चितुवा नियन्त्रणमा लिन ०७५ माघ पहिलो साता फलामको खोर राखिएको थियो । त्यसले चितुवा नियन्त्रणमा नआएपछि गत असारमा परम्परागत काठको खोर बनाइएको थियो । यसअघि छवटा चितुवा परम्परागत खोरमा परेका थिए । बिहीबार मात्रै फलामको खोरमा परेको हो । अहिले प्रभावित क्षेत्रका ९ स्थानमा काठको खोर राखिएको छ ।


पहिलो पटक २०७४ फागुन १ मा आँगनमै खेलिरहेका भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो । त्यसयता २०७५ कात्तिक २९ मा भानु–४ जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा भानु–२ ढल्केबरका १० वर्षीय अमृत गुरुङ, गत जेठ २४ मा भानु–२ भकुन्डथोककी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ मा भानु–१ भन्सारका ३ वर्षीय आशिष बानियाँ, कात्तिक ११ मा भानु–२ फुर्सेटारका ७ वर्षीय ऋतिक रोका गरी ६ जनाको ज्यान गएको छ । ४ बालबालिका घाइते भएका छन् । चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि स्थानीय निकै त्रसित थिए । चितुवा आतंकले बालबालिका सहज रूपमा विद्यालय आवतजावत पनि गर्न सकेका थिएनन् । त्रासका कारण घरभित्रै बसिरहने अवस्था सिर्जना भएको थियो ।


चितुवाको आक्रमणमा परेकी भानु–२ की १२ वर्षीया सोनी अछामी अझै पनि पहिलेको जस्तै दिनचर्यमा फर्किन कठिन भएको बताउँछिन् । उनले भनिन्, ‘चितुवाको आहारा बन्नबाट बचेर आएँ तर अझै पनि पहिलेको जसरी साथीभाइसँग रमाउन सकिरहेको छैन ।’ मृत्युलाई जितेर आएकी अछामीको स्वर अझै खुल्न


सकेको छैन । उनी पहिले जसरी बोल्न असहज भएको बताउँछिन् । ‘चितुवाले मलाई घाँटीमा र ढाँडमा चोट पुर्‍याएको थियो,’ उनले भनिन्, ‘अझै राम्रोसँग सञ्चो भएको छैन । ढाड र घाँटी समय समयमा दुखिरहन्छ अनि आवाज पनि प्रस्ट छैन ।’ अछामी भानु–२ स्थित मनकामना सामुदायिक विद्यामन्दिरको कक्षा ६ मा अध्ययन गर्दै आएकी छन् ।


चितुवाको त्रासले बालमनोविज्ञानमा नराम्रो असर पुर्‍याएको भानु–२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन माविका प्रधानाध्यापक होमनारायण श्रेष्ठ बताउँछन् । उनले भने, ‘चितुवा आतंकका कारण विद्यार्थी नियमित विद्यालय नआउने, आए पनि चाँडै घर फर्किने, अभिभावक पनि चाँडै लिन आउने जस्ता क्रियाकलापले विद्यार्थीको पढाइमा असर पारेको थियो । हामीले अतिरिक्त कक्षा पनि सञ्चालन गर्न पाएका थिएनौं । केही दिनयता स्थिति सामान्य बन्दै गएको छ ।’


बालबालिकाहरू त्रसित हुनेबित्तिकै उनीहरूको मनमस्तिष्कले राम्रोसँग सोच्न नसक्ने आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक डा.रामकुमार अधिकारी बताउँछन् । ‘चितुवाको आतंक बढेको छ, बाहिर निस्किँदा ज्यान जान्छ भन्ने जस्ता कुराले सुरक्षाभन्दा मनोवैज्ञानिक हिसाबमा उनीहरूलाई बढी डर भएको पाइन्छ,’ उनले भने, ‘उनीहरूको ध्यान त्यहीतर्फ केन्द्रित भई शिक्षकले जति पढाए पनि नबुझ्ने, एकोहोरो स्वाभावका हुने सम्भावना बढ्छ ।’


डिभिजन प्रमुख बराल बालबालिकालाई आक्रमण गर्ने पोथी चितुवा भएको अनुमान गरिएको र हालसम्म ४ पोथी चितुवालाई नियन्त्रणमा लिइएको हुँदा अब बिस्तारै अवस्था नियन्त्रणमा आएको बताउँछन् । उनले भने, ‘अझै पनि सामुदायिक वन क्षेत्रमा चितुवा नियन्त्रणका लागि बनाइएका परम्परागत काठका खोर छन् । जंगलमा फुट र क्यामेरा ट्यापिङबाट निगरानी गरिरहेका छौं ।’ प्रभावित क्षेत्रका सामुदायिक वनमा परम्परागत काठको खोर निर्माण गरी बाख्रासहित पासो पनि थापिँदै आइएको छ ।


चितुवा नियन्त्रणमा सुधार आए पनि नगरवासीलाई चनाखो र सचेत रहन भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले आग्रह गरेका छन् । भविष्यमा चितुवाको आक्रमण रोक्ने दीर्घकालीन उपायका लागि वन क्षेत्रमै वनजन्य फलफूलका बिरुवा रोप्ने र मृग, हरिण, खरायोलाई वनमा छाड्ने योजना नगरपालिकाले बनाएको छ ।

प्रकाशित : पुस १२, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?