१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

३०१ विद्यालयको पुनर्निर्माण

भूकम्पले ४९० विद्यालय भवनमा क्षति पुर्‍याएको थियो । त्यसमध्ये १७६ व्यवस्थापन समिति, ३५ दातृ निकाय र ९० गैरसरकारी निकायमार्फत निर्माण भए । 
हरिराम उप्रेती

(गोरखा) — भूकम्प गएको ४ वर्ष बित्दै गर्दा गोरखा नगरपालिका–७ को नवज्योति मावि डण्डी डाँडाको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिदिएको भवन सुविधा सम्पन्न छ । अव केही दिनमै नयाँ भवनबाट पठनपाठनको तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक शिवराम कट्टेलले बताए ।

३०१ विद्यालयको पुनर्निर्माण

‘असुरक्षित भनेर स्टीकर टाँसेको कक्षामा ८ देखि १० कक्षाका विद्यार्थी पढाइरहेका छौँ, अरु कक्षा पनि पुरानै भवनबाट चलाइरहेका थियौँ,’ उनले भने, ‘नयाँ भवन बन्यो, अब केही दिनमै सर्छौं ।’


यहाँ ४ वर्षदेखि टहरो र अस्थायी सिकाइ केन्द्रमा चलेका कक्षा अहिले धमाधम नयाँ भवनमा सर्न थालेका छन् । भूकम्पले ४ सय ९० विद्यालय भवनमा क्षति पुर्‍याएको थियो । तीमध्ये ३ सय १ विद्यालयको निर्माण सम्पन्न भएको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख विष्णुप्रसाद मिश्रले बताए । विद्यालय व्यवस्थापन समितिमार्फत १ सय ७६, दातृ निकायबाट ३५ र गैरसकारी निकायमार्फत ९० विद्यालय पुनर्निर्माण भएको उनले बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले व्यवस्थापन समितिमार्फत भवन निर्माण गरेको छ । त्यसमध्ये ७६ विद्यालय भवन निर्माण अन्तिम चरणमा रहेको उनले सुनाए ।


समितिमार्फत बनेका ५८, दातृ निकायबाट बनेका १५ र गैरसरकारी संस्थामार्फत बनेका ३ विद्यालयका भवन अन्तिम चरणमा रहेको उनले बताए । ४६ विद्यालय भवन भने निर्माणाधीन छन् । ‘चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने । पुनर्निर्माण सम्पन्न भइसकेका केही विद्यालयमा कक्षाकोठा अझै अभाव देखिएको उनले बताए । ‘कक्षाकोठा अपुग विद्यालयको पनि लगत संकलन गर्दैछौँ,’ उनले भने ।


जाइकाले मात्र ६१ विद्यालय भवन निर्माणको जिम्मा लिएको थियो । तीमध्ये ४९ विद्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् । ‘सम्पन्न हुन बाँकी १२ विद्यालयको काम पनि माघ मसान्तभित्र सकिन्छ,’ उनले भने । एसियन विकास बैंकले जिम्मा लिएको ४ विद्यालयको टेन्डर प्रक्रिया चलिरहेको उनले बताए । एसियन विकास बैंकले १५ विद्यालय भवन प्रबलीकरणका लागी जिम्मा लिएपनि काम सुरु गरिसकेको छैन ।


छिमेकी राष्ट्र भारतले जिम्मा लिएको ७ मध्ये ३ निर्माणाधीन छन् भने चार वटा टेन्डर प्रक्रियामा रहेको उनले बताए । चीन सरकारले जिम्मा लिएको सिंजाली माविको भवन निर्माण भने अझै अन्यौल छ । चीन सरकारको ढिलाइले सिंजालीका विद्यार्थी अस्थायी टहरोमा अध्ययन गर्न वाध्य छन् । चाडो पुनर्निर्माण गर्न पहल भइरहेको ताक्लुङका ध्रुव खनालले बताए । संघसंस्थाले जिम्मा लिएका १८ मध्ये १४ को निर्माण सम्पन्न भइसकेको छ । भूकम्पपछि बनेका अधिकांश भवन अपाङ्गमैत्री रहेको समेत मिश्रले बताए । ‘जाइकाले बनाएको विद्यालय भवनमा बिजुली, सवै कक्षाकोठामा फ्यान, ल्याब र लाइबेरीका कोठा छन्,’ मिश्रले भने, ‘छात्रछात्राका लागी छुट्टाछुट्टै ब्लगमा शौचालय र अपाङ्गता भएकालाई र्‍यामसहितको शौचालय बनेका छन् ।’


सामान्यतया १२ कक्षासम्म पढाइ हुने माविका लागि २४, दस कक्षासम्म चलेका माविका लागि १८, निमाविलाई १२ र प्राविका लागि आठ कक्षाकोठाको आवश्यकता पर्ने मिश्रले बताए । ‘जग्गाको प्रकृति, विद्यार्थी संख्या र विद्यालयको प्रकारको आधारमा भवन निर्माण गरेका हौँ,’ उनले भने । यहाँ निर्माणाधीन र वन्न वाँकी विद्यालयका विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा अध्ययन गर्दै आएका छन् । टहरो मुनि बस्दा जाडोमा शीत चुहिने र गर्मीमा जस्ता तातेर बस्न नसकिने विद्यार्थीको गुनासो छ । विद्यालयको भवनले पनि शैक्षिक गुणस्तरमा प्रभाव पार्ने शिक्षकको गुनासो छ ।


विद्यालयको पुनर्निर्माण र प्रबलीकरण गर्दा गुणस्तरीयता कायमका लागि अनुगमन र सुपरिवेक्षण प्रभावकारतिाका साथ भइरहेको उनले बताए । ‘भूकम्पपछि खुल्ला आकाश मुनि रहेका विद्यार्थीलाई कक्षाकोठा स्थानान्तरण गर्ने र सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुदृढ, सुरक्षित र बालमैत्री विद्यालय निर्माण गर्ने भन्ने छ,’ उनले भने ।


प्रकाशित : पुस ११, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?