३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एउटै शाखामा २ जना हाकिम

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ३, खुदीस्थित खुदी स्वास्थ्य चौकीका प्रमुख परमेश्वर पिया स्थानीय तह गठनपछि २०७४ असारमा बेंसीसहर नगरपालिकाको स्वास्थ्य शाखामा काज सरुवा भएर आए ।

एउटै शाखामा २ जना हाकिम

उनले स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारी सम्हाले । स्वास्थ्य कार्यालयमा कार्यरत मनोजसिंह बोहराले समायोजनमा बेंसीसहर नगरपालिका रोजे । उनी दशैंताका नगरपालिकाको स्वास्थ्य शाखा संयोजक भएर आए । समायोजनमा सुन्दरबजार नगरपालिकामा पर्‍यो । नरोजेको नगरपालिकामा पठाएको भन्दै उनले बेंसीसहर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको कुर्सी छोडेका छैनन् । नगरपालिकाको वेबसाइटमा स्वास्थ्य शाखा संयोजकमा पियाकै नाम छ ।


दुवैजना जनस्वास्थ्य अधिकृत (सातौं तह) का कर्मचारी हुन् । सुन्दरबजार नगरपालिकामा समायोजन भएका पियाले स्वास्थ्य कार्यालयमा रहेको पत्र बुझेका छैनन् । ‘समायोजनमा मैले बेंसीसहर रोजेको हुा । मलाई सुन्दरबजार पठाएपछि गुनासो भरेको छु । बेंसीसहर नै कायम गरी पाउँ भनेको छु’, पियाले भने । उनले तलब खुदी स्वास्थ्य चौकीबाट लिइरहेका छन् । उनी प्रमुखको कुर्सीमा बसेर ल्यापटपमा काम गरिरहेका छन् । बोहरा उनकै छेउमा डेस्कटपमा काम गरिरहेका छन् । हस्ताक्षर भने बोहराको चल्ने गरेको छ ।


एउटै कार्यालयमा २ जना संयोजक भएपछि मातहातका कर्मचारी अन्यौलमा परेका छन् । स्वास्थ्यको काम सन्तोषजनक रुपमा नभएको टिप्पणी नगरपालिकामा चल्न थालेको छ । ‘दुवैजनाले आ–आफ्नो काम गर्ने हो । दाइले छोड्नु भएको छैन’, बोहराले भने । गुनासो सम्बोधन नभएसम्म कार्यालयमै बस्ने पियाले बताए । ‘मेरो गुनासो सम्बोधन हुनुपर्छ । मैले बेंसीसहर नगरपालिका नै रोजेपछि म कहाँ अन्त जाने’, उनले भने ।


नगरपालिकाले आयोजना गर्ने, सरकारी तथा गैरसरकारी कार्यालयले आयोजना गर्ने कार्यक्रममा कहिलेकाहीँ दुवैजना पुग्ने गरेका छन् । कसलाई आसन ग्रहण गर्न लगाउने भन्ने विषयमा आयोजकलाई समस्या पर्ने गरेको छ । कहिलेकाहीँ एकजना पनि पुग्दैनन् ।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार छोड्नेले नछोड्दा समस्या भएको छ । ‘कार्यालयमा प्रमुख भनेर २ जना भएपछि स्वास्थ्यको काम हुन सकेको छैन’, उनले भने । मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएर समस्या उत्पन्न गराएको उनले बताए । ‘७ जना चाहिने ठाउँमा ८ जना पठाएको छ । ८ जना नै राख भनेको छ । आवश्यकताअनुसार पो पठाउने हो त’, उनले भने, ‘बढी पठाएर तनावमात्रै दिएको छ ।’

प्रकाशित : पुस १०, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?