ओली ज्ञानेन्द्रभन्दा बढी खतरनाक भए, अब संसदमा प्रतिरोध हुन्छ : गगन थापा 

प्रताप रानामगर

तनहुँ — नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केपी ओली,  पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भएको आरोप लगाएका छन् ।

ओली ज्ञानेन्द्रभन्दा बढी खतरनाक भए, अब संसदमा प्रतिरोध हुन्छ : गगन थापा 

‘ओली राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भए’, उनले भने, ‘बरु ज्ञानेन्द्र शाह यति धेरै खतरनाक देखिएका थिएनन् । शाही शासनभन्दा ओली शासन खतरनाक छ । शाहीकालमा ज्ञानेन्द्र राजाले कानुन नबनाएर उल्लंघन गरेको मात्र हो । तर, केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै छन् ।’

दुई तिहाईका दम्भले एकपछि अर्को कानुन बनाएर सरकारले जनताको अधिकार खोस्ने काम गरेको उनको आरोप थियो ।


तनहुँको दमौलीमा प्रेस युनियन तनहुँ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा थापाले जनताबाट निर्वाचित सरकारले एकपछि अर्को कानुन बनाएर कानुनका आधारमा सबै अधिकार खोसेर लैजाने तयारी गरिरहेको आरोप लगाए । जनताको अधिकार खोस्ने सरकारको तयारीलाई कांग्रेसले संसदमा रोक्ने पनि उनले चेतावनी दिए । ‘जनताको अधिकार खस्ने खोजे कांग्रेसले विरोध मात्र गर्दैन’, उनले भने, ‘प्रतिरोधसमेत गर्छ ।’


संसद र सडकको शक्तिलाई एकाकार गरेर जनताको हितविपरीत कानुन बन्न नदिने उनले चेतवानी दिए ।


सरकारले गलत कदम चालिरहे कांग्रेस नेतृत्वले दायाँबायाँ खुट्टा कमाउन नहुने पनि थापाले बताए । कांग्रेसले जनताको अधिकारसँग जोडिएका विषयमा कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो ।

सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारविरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको उनको आरोप थियो । संसदमा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने उनले बताए ।


फरक प्रसंगमा यती ग्रुप भन्ने एउटा कम्पनीलाई नेपालको सबै सम्पत्ति हस्तान्तरण गरिनु दुःखद विषय भएको उनले बताए । उनले राज्यको सम्पत्ति एउटा कम्पनीलाई जिम्मा लगाउनु राम्रो नभएको बताए । प्रधानमन्त्री ओलीले आफ्नो शक्तिलाई चरम दुरुपयोगसमेत गरेको उनले आरोप लगाए ।

प्रकाशित : पुस ८, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?