कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सुत्केरीलाई छैन यातायात सुविधा 

नवीन पौडेल

(नवलपुर) — स्थानीय तह र जिल्लाले मातृ शिशु स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्वास्थ्य संस्थामा अनिवार्य सुत्केरी गराउनुपर्ने अभियानसमेत सञ्चालित छन् । तर, सुगम जिल्लाको रूपमा चिनिने पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१८ का अधिकांश महिला घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ ।

सुत्केरीलाई छैन यातायात सुविधा 

उक्त वडामा गत वर्ष ३७ गर्भवतीले स्वास्थ्य चौकीबाट सेवा लिए । यीमध्ये करिब १० जनाले अस्पताल जान नसकेर घरमै सुत्केरी भएको तथ्यांक छ । स्वास्थ्य संस्थामा सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि यहाँका महिला घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ ।


यातायातको सुविधा र नजिकै बर्थिङ सेन्टर नहुँदा यस्तो समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । नगर स्वास्थ्य शाखाले यस वर्ष उक्त वडामा ७१ गर्भवतीले सेवा लिएको हुनुपर्ने लक्ष्य लिएको छ । तर, हालसम्म १३ ले मात्रै सेवा लिएका छन् ।

भौगोलिक अवस्थितिका कारण पनि वडावासी स्वास्थ्यचौकी नगई अन्यत्र गएर स्वास्थ्य जाँच गराउँछन् । टाँडी मटकुरीलगायत स्थानका व्यक्तिलाई वडामा रहेको स्वास्थ्य चौकीभन्दा अन्यत्र जान नजिक हुन्छ । ‘गाउँ नजिकै बर्थिङ सेन्टर छैन् । स्वास्थ्य चौकीमा पनि आवश्यक जनशक्ति र चिकित्सक नहुँदा समस्या छ,’ स्थानीय विष्णुमाया आलेले भनिन्, ‘आम्दानी हुने परिवारका सदस्य चितवनको सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । विपन्न परिवार घरमै सुत्केरी हुन्छन् । वर्थिङ सेन्टर सञ्चालनमा आएदेखि सबैलाई सहज हुने थियो ।’ रातारात झोलुंगो बनाएर बाटोसम्म बिरामी बोकेर मुख्य राजमार्ग पुर्‍याउनुपर्ने समस्या छ । गुनासो बढेपछि अहिले बर्थिङ सेन्टर निर्माण चलिरहेको छ । यसले स्थानीय खुसी छन् । उपचार सेवा लिन भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य हुने र जोखिमपूर्ण यात्रा गर्न नपर्नेमा आशावादी छन् ।


वडामा बर्थिङ सेन्टर बनेपछि धेरै राहत प्रदान गर्ने रतनपुर स्वास्थ्य चौकीका प्रमुख पुष्पराज श्रेष्ठले बताए । तर बर्थिङ सेन्टर निर्माण भएपनि एम्बुलेन्स नभए समस्या उस्तै हुने श्रेष्ठको भनाइ छ । अहिले हुर्जिल, अहाले र टाडी मटकुरीका बसिन्दालाई २–३ घण्टा लाग्ने भएकाले पनि सेवा लिन असहज छ । बर्थिङ सेन्टरका निर्माणका लागि वडाबाट ११ लाख र नगरपालिकाबाट ५ लाख गरी १६ लाख रुपैया बजेट विनियोजन भएको छ । टेन्डर आह्वान गरे पनि २ वर्षसम्म निमार्णका लागि ठेकेदार कम्पनी नआएपछि वडाबासी आफै सक्रिय भएका छन् । बर्थिङ सेन्टर निर्माण समितिका उपाध्यक्ष पदमबहादुर आलेमगरले करिब ७५ प्रतिशत काम सम्पन्न भएपनि रकम अभाव देखिएको बताए ।


वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । यातायात सहज भए पनि गाडीले १० हजारसम्म भाडा लिने गरेका छन् । त्यो खर्च जोगाउन पनि गाउँमा व्यवस्थित स्वास्थ्य संस्था बनाउन स्थानीयले माग गरेका छन् । वडाध्यक्ष तिलबहादुर चितौरेले बर्थिङ सेन्टर नहुँदा महिलाले ज्यान गुमाउनुपरेको बताए । ‘डोकोमा बोकेर लैजानुपर्ने, अस्पताल पुर्‍याउदा बच्चासहित महिलाले ज्यान गुमाउनुपर्ने अवस्था छ’ उनले भने, ‘अब जसरी पनि सुविधा सम्पन्न बर्थिङ सेन्टर निमार्ण गरेर सबैलाई स्वास्थ्य सस्थामा नै सुत्केरी सेवा लिन पाउने वातावरण मिलाउँदै छौं ।’

प्रकाशित : पुस ५, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?