प्याजको क्षेत्र विस्तारमा गाउँपालिका

(गोरखा) — प्याजको भाउ अकासिएको छ । बसाइँसराइ तथा सुविधाभोगीले ग्रामीण भेगका जमिन बाँझिने क्रम बढ्दो छ । दैनिक भान्सामा चाहिने तरकारी किनेर प्रयोग गर्ने चलन सहरमा मात्र होइन ग्रामीण भेगमा पनि मौलाउँदै छ । यहाँको वारपाक सुलिकोट गाउँपालिकाले भने बढ्दो भाउलाई मध्यनजर गरेर प्याज खेतीको क्षेत्र विस्तारमा किसानलाई प्रोत्साहन गरेको छ । 

बाँझिएको जमिनलाई उपयोग ल्याउने र गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्याजखेतीको क्षेत्र विस्तार थालेको हो । यसवर्ष ३५ केजी प्याजको बीउ अनुदानमा वितरण भएको गाउँपालिकाकी कृषि प्राविधिक आशा चौधरीले बताइन् । यसका लागि एक लाख बजेट छुट्टाइएको छ । ‘बीउ लगेका कृषकले बिरुवा उत्पादन गरेर बिक्री थालेका छन्,’ उनले भनिन् । अनुदानमा बीउ लगेकी ताकुकोटकी किसान शान्ता बरामले तीन बिरुवाको एक रुपैयाँमा बेर्ना विक्री गर्दै आएकी छन् । बिरुवा नर्सरीबाटै गाउँमा बिक्री भएको किसान बताउँछन् । ‘प्रत्येक वडामा १० किसानले नर्सरी बनाएर बिरुवा उत्पादन गरेका छन्,’ कृषि प्राविधिक चौधरीले भनिन्, ‘अहिलेसम्म १३ हजार बेर्ना बिक्री भइसकेको छ ।’ २० हजार लगाउनयोग्य बेर्ना उत्पादन भएको उनले बताइन् । यस वर्ष करिब ७० हजार केजी प्याज उत्पादन गर्ने लक्ष्य गाउँपालिकाको छ ।


एक केजी बीउबाट १५ हजार बिरुवा उत्पादन हुन्छ । ‘यस वर्ष सातदेखि १० रोपनी क्षेत्र विस्तार गर्ने योजना हो,’ उनले भनिन् । गाउँपालिका अन्तर्गतको हुडिफाँट पन्द्रुङ, पाँचखुवा देउराली, सौरपानीलगायतको स्थान प्याज खेतीका लागि हावापानी सुहाउँदो छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले प्याजको भाउ बढिरहेको बेला गाउँपालिकालाई आत्मनिर्भर बनाउन सके स्थानीयहरूलाई फाइदा पुग्ने बताए । प्याज खेतीको पकेट क्षेत्रनै बनाएर पहिचान बनाउने उनले बताए । हुँडिफाँटमा चिस्यान केन्द्र बनाउने योजनासमेत रहेको गाउँपालिकाले जनाएको छ ।


चिस्यान केन्द्रका लागि १५ लाख छुट्टाएको र निर्माण कार्य सुरु गर्ने तयारी गाउँपालिकाको छ ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?