कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गोरखामा कपडा बैंक

व्यापारीसँग रहेको ‘स्टक’ र कसैले दराजमा थन्काएर राखेका कपडा संकलन गरेर चिसो बढ्दै गएपछि अनाथ, असहायलाई वितरण 

गोरखा — गरिव, असहाय र विपन्न व्यक्तिलाई लक्षित गरेर शनिबारबाट कपडा वैँक कार्यक्रम सुरु गरिएको छ । जाडो महिनालाई लक्षित गरि निःशुल्क कार्यक्रम थालिएको लियो क्लब अफ गोरखाका अध्यक्ष विदुरवल्लव भट्टराईले बताए ।

गोरखामा कपडा बैंक

‘चिसो बढ्दै गएको छ, अनाथ, असहाय र विपन्न व्यक्तिलाई जाडोबाट बच्नका लागि कपडा वितरण गरेका हौँ,’ उनले भने, ‘यहाँ आएर आवश्यक कपडा लान सक्नुहुन्छ ।’ सदरमुकामको बसपार्क क्षेत्रमा भारी बोकेर दैनिकी चलाउँदै आएका भच्चेकका ७० वर्षीय टर्के लामाले पनि शनिबार नयाँ लुगा लगाए ।


‘यसले जाडो धान्ने हो,’ उनले भने । हरमटारी चोकको कपडा बैँकबाट उनले गन्जी, पाइन्ट, कमेजलगायत कपडा निःशुल्क पाए । साथीभाइलाई पनि खबर सुनाउँदै हिँडे । फिनामकी दीपा परियारले कुर्ता सलवार छानिन्, एकवर्षे छोराका लागि जकेट लिइन् । ‘आमा छोरा दुवैले कपडा पायौँ,’ उनले भनिन्, ‘एक रुपैयाँ पनि तिर्न परेन ।’ बच्चादेखि वृद्घ उमेरसम्मकाले आवश्यक कपडा रोजे ।


माघ महिनासम्म प्रत्येक शनिबार बेग्लाबेग्लै ठाउँमा कपडा वितरण गरिने उनले बताए । पहिलोपटक सदरमुकाबाट यो कार्यक्रमको सुरुआत गरिएको र अब ग्रामीण भेगमा केन्द्रित हुने क्लबको योजना छ । ‘पहिलो दिनमै हामी उत्साहित छौँ, सडकमै रात काट्नेले कपडा लगेका छन्, आर्थिक अवस्था कमजोर रहेकालाई थोरै भए पनि राहत भएको छ,’ उनले भने ।


सदरमुकामका व्यापारीसँग रहेको ‘स्टक’ कपडा उपलब्ध गराएको उनले बताए । ‘कसैले दराजमा थन्काएर राखेका कपडा पनि दिए, पुनः प्रयोग गरेर सिरक डसना बनाउन पनि मनले नमान्ने कपडा उपलब्ध गराएका छन्,’ उनले भने । पहिलो दिन शनिबार मात्र करिब ५ सय जनाले बैंकबाट कपडा लगेको क्लबले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?