कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोखरामा पनि आकाशे पुल

कास्की — पर्यटकीय नगरी पोखरामा आकाशे पुल बन्ने भएको छ । 

बढ्दो सवारी चापलाई मध्यनजर राख्दै सिर्जनाचोकमा पहिलोपटक बन्न लागेको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार शिलान्यास गरे ।


पोखरा महानगरपालिका र रवीन्द्र अधिकारीको सांसद विकास कोषबाट विनियोजित रकमले आकाशे पुल बन्न लागेको हो । यसका कोषबाट ५० लाख रुपैयाँ विनियोजित छ । पुल आगामी वैशाखसम्म बनिसक्ने पोखरा महानगरपालिकाका प्रविधिक सल्लाहकार इन्जिनियर बाबुराम भण्डारीले बताए । उनका अनुसार पुल निमार्णका लागि २ करोड ३० लाख रुपैयाँ लाग्नेछ । केएमजेबी एनएस पोखरा जेभी पोखरा–१७ ले पुल निमार्णको जिम्मा लिएको छ । गत जेठमा महानगरले १५ महिनामा सकिने गरी सम्झौता गरेको थियो । कम्पनीले स्टिल स्ट्रक्चरको संरचनामा चारै दिशामा जान मिल्ने गरी आकाशे पुल निर्माण गर्नेछ । मुख्यमन्त्री गुरुङले पोखराका अन्य चोकमा पनि आकाशे पुल अपरिहार्य भएको बताए । ‘पुलको गुणस्तरमा ध्यान दिनुका साथै तोकेको समयमा पुल सकाउनुपर्छ,’ उनले भने ।


केही जनप्रतिनिधि भने अनावश्यक स्थानमा आकाशे पुल राख्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । महानगरले यात्रुको चाप हेरेर पुल निर्माण गर्न लागेको भए पहिलो महेन्द्रपुल र दोस्रो पृथ्वीचोकमा बनाउनुपर्ने पोखरा–९ का अध्यक्ष रामराज लामिछानेले बताए । लामेछानेले महेन्द्रपुल र पृथ्वीचोकमा पुलको आवश्यकता परेकाले माग गर्दै आएको भएपनि महानगरले वास्ता नगरेको गुनासो गर्छन । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी भने स्वं रवीन्द्र अधिकारीले पाइलट प्रोजेक्टका रुपमा अघि सारेकाले पहिला सिर्जनाचोकमा पुल निमार्णको शिलान्यास गरिएको बताए । अरू चोकमा पनि बिस्तारै निमार्ण हुने उनले बताए ।


प्रकाशित : मंसिर २८, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?