कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हिमपात–वर्षा : किसान खुसी, पर्यटक रोकिए

दुर्गम बस्ती गुर्जा पैदलमार्गबाट विच्छेद भएको छ भने चिसोले ज्येष्ठ नागरिक, बालबालिका र रोगीलाई सास्ती छ ।

(पोखरा) — हिमाली क्षेत्रमा व्यापक हिमपात र अन्यत्र वर्षाका कारण शुक्रबार गण्डकी प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मनाङ, मुस्ताङ, म्याग्दी, कास्की र गोरखाका केही स्थानमा हिमपात भएको छ । दिनभरि वर्षा भयो । हिमपात र वर्षाका कारण चिसो बढे पनि हिउँदे खेती सप्रिने भन्दै किसान खुसी भएका छन् । 

हिमपात–वर्षा : किसान खुसी, पर्यटक रोकिए

शुक्रबार बिहानदेखी परेको हिमपातले मुस्ताङ र म्याग्दीको उपल्लो हिमाली क्षेत्रको जनजीवन प्रभावित भयो । बाक्लो हिमपातले म्याग्दीका पर्यटकीय क्षेत्र पुनहिल, महरे, खोप्रामा हिउँ परेको छ । दुर्गम बस्ती गुर्जा पैदलमार्गबाट विच्छेद भएको छ । पर्यटकको यात्रा रोकिएको छ । चिसोले ज्येष्ठ नागरिक, बालबालिका र रोगीलाई सास्ती भएको छ । ‘बिहानैदेखि हिउँ निरन्तर परिरह्यो,’ अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका पर्यटन व्यवसायी तारा पुनले भनिन्, ‘अधिक चिसोले खानेपानीका पाइप बन्द छन् ।’ लामो खडेरीपछि हिमपात भएकाले कृषक भने खुसी भएका छन् ।


‘सही समयमा पानी परेकोले गहुँ, केराउ तथा तोरीबालीलाई सिँचाइ भएको छ,’ धौलागिरी गाउँपालिका–७ ताकमका पुष्कर भण्डारीले भने । हिमपातपछि पोखरा–जोमसोम हवाई उडान अवरुद्ध भएको छ । जोमसोमदेखी तल म्याग्दीतर्फ झर्ने र उक्लने सवारी साधन लेते क्षेत्रमा रोकिएका छन । चिसो बढेकोले स्थानिय, कर्मचारी घर/कार्यालयभित्रै आगो बालेर बसेका छन् । ‘हिमपात भैरहेको छ । सामान्य हिमपातले यहाँको उत्पादन बृद्धी हुन्छ । हिमपात हुनु राम्रो हो’ उपल्लो मुस्ताङका किसान साङ्वो गुरुङले भने ।


मनाङमा पनि शुक्रबारको हिमपातले स्थानीय घरभित्रै बसेका छन् । सवैभन्दा बढी चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई समस्यामा पारेको छ । पर्यटक ठाउँठाउँमा रोकिएका छन् । मनाङको तल्लो भेग दानाक्युदेखि माथि हिमपात भएको छ । थोराङला भञ्ज्याङ पास गरेर मुस्ताङको मुक्तिनाथ पुग्नुपर्ने पर्यटक थोराङला फेदीमा रोकिएका छन् । याकखर्क, थोराङलाफेदी जाने पर्यटक मनाङ गाउँमै रोकिएका छन् । तिलिचो ताल जाने पर्यटक बेसक्याम्प, श्रीखर्क, खाङसारलगायत ठाउँमा रोकिएका छन् । हिमपातपछि जनजीवन प्रभावित भएको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका याङडुङ गुरुङले बताए ।


हिमपातले पदमार्ग ढाकेकाले हिाड्ने अवस्था छैन । नासों गाउँपालिका–१ का बुधराज गुरुङका अनुसार दानाक्युबाट माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटक र सवारी साधन चामेतर्फ अघि बढ्न सकेको छैनन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार पर्यटकलाई यथास्थानमै रहन भनिएको छ । ‘हिउा परिरहेकाले पर्यटक हिँड्ने अवस्था छैन । कोही पर्यटक भने हिउँ खेलेका छन्’ उनले भने । डीएसपी टीकाबहादुर कार्कीका अनुसार माथिल्लो क्षेत्र जाने पर्यटकलाई चामेबाट नजान भनिएको छ । केही भने जवर्जस्ती गएका छन् ।


मनाङमा शुक्रबार साँझपख तापक्रम माइनस ९ डिग्री सेन्टीग्रेडसम्म पुगेको थियो । ‘हिमपात भएपछि दैनिक काम प्रभावित भएका छन्,’ उनले भने । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिका र चामे गाउँपालिकाका सवै बस्तीमा हिमपात भइरहेको छ । हिउँले ढाकेपछि गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधिन एकिकृत नमुना वस्ती पुननिर्माणको काम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकका ५७३ घर निर्माण गरिरहेको छ । बस्ती हिउँले ढाकेपछि शुक्रबार बिहानबाट काम रोकिएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । ८० कामदार वस्ती पुननिर्माणमा खटिएका थिए । ‘घरका काम ९० प्रतिशत सकिसकेका थियौँ, शौचालय निर्माणको ६० प्रतिशत प्रगति छ,’ उनले भने, ‘अव काम गर्न सकिएन, कामदार पनि फर्कन थालेका छन् ।’ त्यस्तै उत्तरी गोरखामा पनि हिमपात जारी छ । चुमनुव्री गाउँपालिका–१ सामागाउँमा यस वर्ष पहिलो पटक हिमपात भएको स्थानीय मिङमार लामाले बताए । ‘करिव ५ इन्च जति हिउँ जमेको छ,’ लामाले भने । हिउ परेपछि अन्नवाली राम्रो हुने भन्दै किसान खुसी भएका छन । हिउँ र वर्षाले अन्नवाली राम्रो हुने धार्चे गाउपालिका–४ लाप्राकका माइला गुरुङले बताए । आलुलाई भने अहिलेको पानीले समस्या पारेको लाप्राककै विसवहादुर गुरुङ बताउँछन् । जौ र गहु बालिलाई भने फाइदा पुग्ने उनको भनाइ छ । ‘यति वेला पानी पर्दा हामीलाई दुख मनाउ छैन,’ उनले भने, ‘अरु वालि त राम्रै हुन्छ ।’ खनजोत गर्न पनि सजिलो हुने उनले बताए । हीमपातका कारण उत्तरी गोरखाको पदमार्गमा खच्चड र बटुवाहरूलाई आउजाउमा समेत समस्या परेको छ् ।


बागलुङका ढोरपाटन सिकार आरक्ष, ताराखोला, घोडाबाँधे र घुम्टेमा हिमपात भएको छ । ताराखोला गाउँपालिकाका सबै वडामा हिमपात भएको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । हिउँदका लागि लगाइएका गहुँ, जौ र अन्य खेतीका लागि झरी र हिमपातले राहत मिलेको उनले बताइन् । तल्लो क्षेत्रमा लगाएको आलुबाहेक अरु खेतीलाई राम्रो गरेको किसानको भनाई छ । ‘झरी पर्दा बाँझो जोतेर खेती लगाउने र लगाएको बालीलाई सिँचाइ पनि राम्रो भयो,’ बागलुङ नगरपालिका–३ का नारायण शर्माले भने । निर्माणाधिन सडकमा भने हिलोले सास्ती दिएको छ । ग्रामीण सडकहरूमा झरीले चिप्लो भएपछि शुक्रवार कतिपय गाउँमा चल्ने जिप गएनन् । केही हिलोमा फँसे । चिसोको कारण ढोरपाटन नगरपालिकाको बोबाङ, अधिकारीचौर, निसीखोला, ताराखोला र लेकाली क्षेत्रका विद्यालयमा पढाइ भएन । सदरमुकामकै विद्यालय र कार्यालयमा उपस्थिति पातालो थियो । कर्मचारी पनि आगो तापेर बसेका थिए ।


सिँचाइ सुविधा नभएका तनहुँका किसानलाई शुक्रबार परेको झरीले खुसी दिएको छ । सिंचाई सुविधा नहुँदा राम्रो उत्पादनबाट बञ्चित रहेकाबेला झरीले राम्रो उत्पादन हुने व्यास–१२ देउरालीकी नरमाया थापामगर बताउँछिन् । झरीले गर्दा बारीमा लगाएको लसुन, साग, मुला, बन्दा, काउलीलगायतका तरकारीलाई ओसारेर पानी हाल्नुनपर्ने मगर बताउँछिन् । ‘सिंचाइको सुविधा छैन’, उनले भनिन्, ‘घरबाट करिव १० मिनेट टाढा रहेको कुवाबाट पानी ओसारेर हाल्नुपर्छ । तैपनि जमिन राम्रोसँग भिज्दैन । यो झरीले तरकारी र जमिनले राम्रोसंग पानी पाएको छ ।’


शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित लामागाउँकी उमा गुरुङले आलु लगाउने समयमै परेको पानीले धेरै नै राहत दिएको बताइन । ‘अहिले आलु, तोरी लगाउने उपयुक्त समय हो’, उनले भनिन्, ‘यो झरीले हिउँदे बाली राम्रो उत्पादन हुने भयो ।’ लामो समयपछि परेको पानीले किसानहरूको मुखमा उज्यालो छाएको वडाध्यक्ष मनराज गुरुङ बताउछन् । कास्कीका घान्द्रकु, धम्पुस, सिक्लेस क्षेत्रमा हिमपात भएको छ । धेरै पछि हिमपात भएकोले चिसोले जनाजीवन प्रभावित भएपनि कृर्षक भने खुसी भएको मादि गाउँपालिका–२ अध्यक्ष एक्काजङ गुरुङले बताए । खेतिपाती सप्रिने भएकाले कृषक रमाएका हुन ।


घनश्याम खड्का (म्याग्दी), आश गुरुङ (लमजुङ), हरिराम उप्रेती (गोरखा), प्रकाश बराल (बागलुङ), सम्झना रसाइली (तनहुँ) र बिना थापा (कास्की)


प्रकाशित : मंसिर २८, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?