हिउँले ढाकेपछि लाप्राक बस्ती पुननिर्माण रोकियो
गोरखा — हिउँले ढाकेपछि धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधिन एकिकृत नमुना बस्ती पुननिर्माणको काम रोकिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लाप्राकका पाँच सय ७३ स्थानीयका लागि गुप्सीपाखामा घर निर्माण गरिरहेको छ । शुक्रबार बिहानबाट काम रोकिएको एनआरएनएका साइट म्यानेजु लक्ष्मण अर्यालले बताए । यो वर्ष पहिलो पटक हिउँ परेर काम रोकिएको अर्यालको भनाइ छ ।
बिहानदेखि लगातार हिमपात हुँदा निर्माणाधिन एकिकृत बस्ती हिउँले ढाकेको र काम गर्न नसकिएको उनले बताए । उनले भने, ‘बिहान फुस फुस मात्र थियो, १० बजेबाट लगातार हिउँ परेर १५/२० सेन्टिमिटर जमिसक्यो ।’ हाल एनआरएनएका ८० कामदार लाप्राक बस्ती पुननिर्माणमा खटिएका छन् । ‘घरका काम ९० प्रतिशत सकिसकेका थियौँ, शौचालय निर्माणको ६० प्रतिशत प्रगति छ,’ उनले भने, ‘अब काम गर्न सकिएन, कामदारहरु पनि फर्कन थालेका छन्, चिसोले बिरामी परे रेस्क्यू गर्न पनि गारो हुन्छ ।’
त्यस्तै उत्तरी गोरखामा पनि शुक्रबार बिहानैबाट हिमपात जारी छ । चुमनुब्री गाउँपालिका–१ सामागाउँमा यस वर्ष पहिलो पटक शुक्रबार बिहान हिमपात भएको स्थानीय मिङमार लामाले बताए । हिउँ परेसँगै चिसो बढेको उनले टेलिफोन कुराकानीमा बताए । ‘करिब पाँच इन्च जति हिउँ जमेको छ,’ लामाले भने ।
शुत्रबार साँझसम्म नै हिउँ परिरहेको र हिमपात जारी रहेको जनजिवन अझै कष्टकर बन्ने भन्दै स्थानीयले चिन्ता जनाएका छन् । चुमनुब्री गाउँपालिका अन्तर्गत साम्दो, छेकम्पार र चुम्चेतको उपल्लो भेगमा पनि हिमपात भएको स्थानीयहरुले बताए । छेकम्पारमा हिउँ परेसँगै प्रहरी इकाइमा समेत टेलिफोन सम्पर्क हुन नसकेको डिएसपी मित्रवन्दु शर्माले बताए । छेकम्पारमा शुक्रबार दिउँसैबाटै फोन सम्पर्क विच्छेद भएको छ ।
प्रकाशित : मंसिर २७, २०७६ १९:४६