१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अध्यक्षसँग विद्यार्थीका गुनासा

प्रतीक्षा काफ्ले

(गण्डकी) — स्याङ्जाको फेदीखोला गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रमको अभियान चलाउँदै आएको छ । उक्त अभियानअन्तर्गत वडा ३ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा पुगेका अध्यक्ष घनश्याम सुवेदीसँग विद्यार्थीले गुनासैगुनासा गरेका छन् । 

अध्यक्षसँग विद्यार्थीका गुनासा

विद्यार्थीले विद्यालयभित्रको चमेना गृहको खाजा र दूषित खानेपानी पिउनुपरेको गुनासो गरेका थिए । क्यान्टिनको खाजाले बारम्बार पेट दुख्दै आएको गुनासो १२ कक्षामा अध्ययनरत सिर्जना रानाभाटले गरेकी थिइन् । उनी स्वास्थ्यबर्द्धक नरहेको बताउँदै स्वादमा पनि मिठो नभएको सुनाइन् । सामुदायिक शिक्षा सुधारका लागि गापाले यस्तो अभियान आयोजना गर्दै आएको छ ।


गापाको यो चौथो संस्करण हो । यसमा अधिकांश विद्यार्थीको समस्या विद्यालयको चमेना गृह र स्वच्छ पिउने पानीको अभावसम्बन्धी थियो । वडा ३ मा रहेका जनप्रिय मावि, देउराली, जनमुखी र शारदा रमणीयडाँडा आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकलाई लक्षित गरी जनप्रिय माविको प्रांगणमा कार्यक्रम आयोजना गरिएको थियो । जनप्रिय मावि कक्षा ९ मा अध्ययनरत छात्रा शर्मिला रानाभाटले कक्षाकोठामा डस्टबिनको आवश्यकता भएको र शौचालयनजिकै भएकाले अध्ययन गर्दा नाक थुनेर पढ्नुपर्ने गुनासो गरिन् । उनले विद्यालयको शौचालय व्यवस्थापन नहुँदा अध्ययन अध्यापनमा समस्या रहेको बताइन् ।


कक्षा ९ कै विजय अधिकारीले साना बालबालिकाका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने बताए । उनले शौचालय फोहोर हुँदा आफ्नो स्वास्थ्यमा पनि असर परेको गुनासो गरेका थिए । ‘साना कक्षा र ठूला कक्षाको शौचालय एउटै हुँदा साना विद्यार्थीले बढी फोहोर गर्छन्, जसले गर्दा हामीलाई समस्या हुँदै आएको छ,’ उनले भने, ‘कम्तीमा आधारभूत तहका लागि छुट्टै शौचालय आवश्यक छ ।’ कार्यक्रममा शिक्षक अभावका कारण तल्लो दरबन्दीका शिक्षकले माथिल्लो कक्षालाई पढाइ रहेको बताए । विद्यालयमा इन्टरनेट भएर पनि प्रयोगमा कमी रहेको र कक्षामा प्रोजेक्टरको व्यवस्था भएमा अध्ययन प्रभावकारी हुने कक्षा ११ की सञ्जिता अधिकारीले बताएकी थिइन् ।


कक्षा १० का अर्पण लामिछानेले नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई शिक्षकबाट समान व्यवहार नभएको बताए । अंग्रेजी माध्यमका लागि शिक्षकले बढी प्राथमिकता दिइएको उनको गुनासो थियो । सेनेटरी प्याडको व्यवस्थापन र वितरणमा कमजोरी भएको छात्राहरूले गुनासो गरेका थिए । कक्षा ८ का समीर रानाभाटले सामान्य कुरामा शिक्षकले कपाल लुछ्ने गरेको बताउँदै बालमैत्री अध्यापन हुनुपर्ने माग राखे । बेन्चमा बस्दा काँटी निस्कने र कपडा च्यातिएको बताउँदै उनले फर्निचर व्यवस्थित गर्नुपर्ने माग राखेका थिए । छात्राहरूले आफूहरूलाई पनि भलिबलको व्यवस्था गर्नुपर्ने, खेलको लागि ट्र्याक सुट (ड्रेस) को माग राखेका छन् । विद्यालयमा लाइब्रेरी भए पनि

पाठ्यक्रमलाई सहयोग पुग्ने खालका किताब नभएको विद्यार्थीको गुनासो थियो ।


अध्यक्ष घनश्याम सुवेदीले १४ दिनभित्र चमेना गृह सुधार्न अन्यथा बन्द गर्न वडा शिक्षा समितिलाई निर्देशन दिए । उनले खानेपानीका लागि गाउँपालिकाले तत्काल बजेट विनियोजिन गरी युरो गार्डसहितको पिउने पानी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रकाशित : मंसिर २७, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?