पर्वतमा १९ सिँचाइ आयोजना थपिँदै- गण्डकी - कान्तिपुर समाचार

पर्वतमा १९ सिँचाइ आयोजना थपिँदै

अगन्धर तिवारी

(पर्वत) — पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालु वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५ सय हेक्टरभन्दा धेरै जमिन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् । 

कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेबास नगरपालिकामा मात्रै सात नयाँ सिँचाइ निर्माण हुन लागेका हुन् । त्यस्तै, कुश्मा नगरपालिकामा चार, पैयुंमा तीन जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाइ आयोजना निर्माण हुन लागेका हुन् । चालु वर्षमै काम सुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको पाँच सय १२ हेक्टर खेतीयोग्य जमिन समेट्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । जसका लागि चालु वर्ष ९ करोड ५४ लाख रुपैयाँ बजेट छ ।


स्रोत भएर पनि सिँचाइ सहज हुन नसकेका क्षेत्रहरू छनोट गरेर चालु वर्ष नै सक्नेगरी कतिपय आयोजना सुरु भइसकेको डिभिजन प्रमुख थालबहादुर तामाङले बताए । ‘कतिपय आयोजनाको टेन्डर निकालिसकेका छौं,’ उनले भने, ‘विवाद शून्य भएका क्षेत्रमा करोड मुनिका योजना उपभोक्ता समितिले जिम्मा लिइसकेका छन् ।’ सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेका अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारीबालीका लागि उपयुक्त क्षेत्र हुन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाइ आयोजना अगाडि बढाइएको उनले बताए ।


तत्कालीन सिँचाइ विकास सबडिभिजन कार्यालयबाट अघिल्ला वर्षमा स्वीकृत तथा विस्तृत परियोजना विवरण पेस गरेका तथा पुराना आयोजना मर्मतका लागि दुई करोड ११ लाख ५० हजार बजेट रहेको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर जगन्नाथ खनालले बताए । उनका अनुसार मझौला सिँचाइमा समेटिएका २५ वटा आयोजना मर्मतको चरणमा छन् । नयाँ निर्माण तथा पुराना सिँचाइ मर्मतसमेत गरी चालु वर्ष करिब १५ सय हेक्टर जमिन समेट्ने गरी सिँचाइको काम अघि बढाइएको खनालले बताए । ‘नयाँ योजनामा धेरैजसो हिउँदमा सुक्खा हुने क्षेत्र छन्,’ उनले भने, ‘सिँचाइ पुगेपछि सबैजसो खेतमा तीन खेती हुने देखिन्छ ।’ सिँचाइ आयोजना सञ्चालन हुने क्षेत्रका किसानले यसअघि वर्षामा जसोतसो धान खेतबाहेक हिउँदे खेती लगाउन पाएका छैनन् ।


बाह्रै महिना पानीको स्रोत भएर पनि सिँचाइ अभावकै कारण कुश्मा–११ पकुवा, फलेबास–३ पैरे, चौडिल्ला, मोदी–६ तिलाहार लगायतका किसानले हिउँदमा खेतबारी बाँझै राख्नुपरेको गुनासो गरेका छन् । ‘वर्षामा जसोतसो भल छोपेर धान रोपिन्छ,’ कुश्मा–११ पकुवाका किसान गणेश पौडेलले भने, ‘हिउँदमा पानी अभावकै कारण सबै खेत बाँझिन्छ ।’ फाँट नजिकैको जरेखोलामा पानी खेर गए पनि नजिकैको खेतमा सिँचाइ नहुँदा हिउँदको उब्जनी खेर गएको उनले बताए । चालु वर्ष जरेखोला सिँचाइकै लागि ५० लाख बजेट विनियोजन भएको छ । ४० हेक्टर क्षेत्रफलमा फैलिएको पकुवाको फाँटमा सिँचाइ सुविधा भए बेमौसमी तरकारी राम्रो उत्पादन हुने किसान बताउँछन् ।


कार्यालयका सूचना अधिकारी खनालका अनुसार आयोजनाबाट करिब पाँच हजार किसानले हिउँद–वर्षा बाह्रै महिना खेती गर्न पाउँछन् । साना सिँचाइ आयोजनाबाट झन्डै १५ सय घरपरिवार लाभान्वित भएको उनले जानकारी दिए । जिल्लामा २८ हजार ५ सय ९३ हेक्टर खेतीयोग्य जमिन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिंचित हुने जमिनको क्षेत्रफल नौ हजार नौ सय ४० हेक्टर छ । बाह्रै महिना सिंचित हुने जमिनको क्षेत्रफल करिब साढे सात हजार भएको कार्यालयमा तथ्याङ्क छ । कार्यालयमार्फत सञ्चालित आयोजनाको काम सम्पन्न भएपछि बाह्रै महिना सिँचाइ हुने जमिनको क्षेत्रफल १५ सय हेक्टर बढ्ने अनुमान छ ।

प्रकाशित : मंसिर २७, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

दुराडाँडामा ‘कृषि क्रान्ति’

३ सय रोपनीमध्ये १ सयमा अत्याधुनिक इजरायली प्रविधि प्रयोग गरी तरकारी र फलफूल खेती । बाँकीमा पनि कृषिकर्म गर्ने योजना ।  
आश गुरुङ

(लमजुङ) — इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रमुख गिल हास्केल लमजुङको सुन्दरबजार नगरपालिका ३, दुराडाँडाक्षेत्र चन्द्रेश्वर जल्केनीफाँट आए । यहाँ इजरायलमा कृषि विज्ञान पढेर फर्केकालगायतका युवाले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी खोलेर ३ सय रोपनीमा एकीकृत कृषि फार्म स्थापना गरेका छन् । यसमा इजरायली अत्याधुनिक प्रविधिमार्फत कृषि कर्म गरिएको छ ।

इजरायलमा कृषि विज्ञान पढेर आएका नेपाली युवाले गरेको एकीकृत कृषि फार्मको अध्ययन अवलोकनपछि उनले भने, ‘साँच्चिकै युवाले चाहेमा कृषिमा क्रान्ति नै ल्याउने रहेछन् ।’ जल्केनी फाँटमा इजरायलमा कृषि विज्ञान पढेर फर्किएका ६८, इजरालमा रहेका नेपाली एनआरएन २४ र नेपालमै विभिन्न क्षेत्रमा रहेका युवा गरी १ सय ३२ जनाले सञ्चालन गरेको एकीकृत कृषि फार्म हेर्न गिल हास्केलमात्रै नभएर नेपालका लागि इजरायली राजदूत बेनी ओमेर इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्य, नेपाली सेना जंगी अड्डाका बलाध्यक्ष रथी (लेफ्टिनेन्ट जर्नल) गौरव तन्डुल, कुषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.राजेन्द्र मिश्र, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, लोकगायिका बिमाकुमारी दुरा, सीटीईभीटी बालाजु प्राविधिक शिक्षालयका प्राचार्य निर्मल न्यौपानेलगायत आएका हुन् ।

इजरायलमा कृषि विज्ञान पढेर फर्केकालगायत ३८ जिल्लाका युवाले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिडेट खोलेर उनीहरूले ३ सय रोपनीमा एकीकृत कृषि फार्म स्थापना गरेका छन् । यसमा इजरायली अत्यधुनिक प्रविधिमार्फत कृषि कर्म गरिएको छ । आराभाका संस्थापक अध्यक्ष विनोद घिमिरेका अनुसार फार्ममा दैनिक ४३ कामदारले काम गर्छन् । उनका अनुसार १ सय रोपनीमा अत्याधुनिक इजरायली प्रविधि प्रयोग गरी तरकारी तथा फलफूल खेती गरिएको छ । ३० हजार लेयर्स तथा ब्रोइलर कुखुरा पाल्दै आएको छ । १ सय २ वटा दुधालु गाई पाल्न गोठ निर्माण गरिएको र गाई ल्याउन सुरु गरिएको उनले बताए । १५ रोपनीमा माछा पाल्न पोखरी खनिएको छ । फागुनमा माछा राखिने उनले बताए । ३ सय बाख्रापालन, ५० वटा बंगुरपालन, ५ रोपनीमा हाँस र लोकल कुखुरापालन लगायत गरिने आराभाका संस्थापक अध्यक्ष घिमिरेले बताए ।

आफ्नै फार्म तथा स्थानीय समुदायसहितको सहभागितामा सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा एएनएमसी डेरी उद्योग सञ्चालन गरिएको घिमिरेले बताए । उनका अनुसार हालसम्म १८ करोड लगानी भइसकेको छ । कूल ३२ करोडको योजना रहेको उनले बताए । आराभाका अध्यक्ष कृष्णप्रसाद बजगाइँका अनुसार पञ्चर्षीय योजना अनुरुप अघि बढेको र अहिले ३ बर्ष पुगेको बताए । ‘हामी २ वर्षमा हाम्रो फार्म कम्प्लिट गर्छौं,’ उनले भने । फार्ममा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

मसावका प्रमुख गिल हास्केलले इजरायली प्रविधिमार्फत नेपालमा गरिएको कृषि कर्मलाई सक्दो सहयोग गर्ने बताए । ‘जो नेपालबाट इजरायल गएर कृषि पढ्नुभो । यहाँ कृषिको क्रान्ति सुरुवात गर्नुभयो । हामी सहयोग गर्न तयार छौं । यसैको अध्ययन अवलोकनका लागि हामी आएका हौं,’ मंगलबार अवलोकन भ्रमणमा आएका उनले भने । इजरायली राजदूत बेनी ओमेरले इजरायली अत्यधुनिक प्रविधिमार्फत नेपालमा कृषि कर्म गर्ने र चाहनेका लागि सहयोग गर्न तत्पर रहेको बताए । नेपाली राजदूत अन्जान शाक्यले बढी भन्दा बढी युवालाई कृषि पढ्न र सिक्न इजरायल ल्याउन इजरायल सरकारसँग आग्रह गरिने बताइन् । ‘हामी जहाँ सिके पनि कर्म भनेको आफ्नै ठाउँमा आएर गर्नुपर्छ,’ उनले भनिन् ।

आराभाले सञ्चालन गरेको एकीकृत कृषि फार्मममा नेपाली सेनाले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालन गरेको कृषि तालिम केन्द्रले प्रयोगात्मक अभ्यास गर्दै आएको छ । सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा नेपाली सेनाले नेपाली सेना व्यवसायी कृषि तथा पशुपालन तालिम केन्द्र सञ्चालन गरिरहेको छ । उक्त तालिमस्थल हेर्न नेपाली सेना जंगी अड्डाका लेफ्टिनेन्ट जर्नल गौरव तन्डुलसमेत एकीकृत फार्म हेर्न आएका हुन् । सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले युवाले गरे सबथोक सम्भव छ भन्ने उदाहरण इजरायलमा पढेर फर्केका युवाले देखाएको बताए ।

आधुनिक कृषि प्रणालीबारे अध्ययन गर्न इजरायल पुगेका युवाले इजरायलको आराभा भन्ने स्थानको नामबाट कम्पनी स्थापना गरेर एकीकृत कृषि फार्म सञ्चालन गरेका हुन् । यसको पूर्वाधारदेखि सबैखाले निर्माणमा उनीहरू आफैं जुटेका हुन् । ‘मरुभूमिमा हरिया तरकारी फलाउन सकिने प्रविधि हामीले सिकेका छौं,’ संस्थापक अध्यक्ष घिमिरेले भने, ‘त्यहींको प्रविधि अपनाउँदै नेपालमा कृषि परियोजना सञ्चालन गरेका छौं ।’ उत्पादित वस्तुको बजार पोखरा र काठमाडौं साथै लमजुङ रहेको उनले बताए ।

प्रकाशित : मंसिर २७, २०७६ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×