भूकम्पप्रतिरोधी इन्टरलक इँटा

आश गुरुङ

(लमजुङ) — कक्षा १२ पास गरेपछि बेंसीसहर नगरपालिका–७ सहजीका २८ वर्षीय सुमिन घलेले २ वर्षअघि कोरिया जाने सपना देखे । बेंसीसहरको एक सहकारीमा काम गर्दागर्दै उनी कोरियन भाषा पढ्न काठमाडौं गए । पासपोर्ट बनाए । एक वर्ष कोरियन भाषा पढे । परीक्षा पनि राम्रै दिए । तर, एकाएक उनको मन परिवर्तन भयो ।

भूकम्पप्रतिरोधी इन्टरलक इँटा

‘कोरिया गएर पनि काम नगरी खान पाइँदैन । बरु आफ्नै परिवारसँग बसेर केही गर्छु भन्ने सोंच बनाएँ,’ उनले भने । उनका अनुसार कोरिया भाषा पढ्ने बेला उनी साथीसँगै बनेपा पुगे । त्यहाँ उनले नौलो प्रकारको इँटा बनाउने विधि देखे । त्यो देखेर उनमा उत्साह जाग्यो । उनको ध्यान कोरियाभन्दा ‘इन्टरलक इँटा’ तर्फ मोडियो ।


पुर्ख्यौली घर मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङका सुमिनले भूकम्पपछि चर्चामा आएको इन्टरलक इँटाको उद्योग खोलेका छन् । आफू मात्रै नभएर ४ जनालाई रोजगार दिएका छन् । युवा विदेश जाने क्रम नरोकिएको बेला उनले गाउँ फर्केर व्यवसाय थालेका छन् । ‘१२ कक्षा पास गरेपछि सहकारीमा पसें ।


विदेश नै जाने भनेर कोरिया भाषा पढ्न काठमाडौं गएँ । फेल भए पनि विदेश नै जान्छु भन्ने माइन्ड मेकअप बनाएँ,’ उनले भने, ‘इन्टरलक प्रविधिको इँटा देखेर मन लोभियो अनि फर्किएँ ।’ उनले १ वर्षयता आफ्नो र भाडाको समेत गरी २० आना जग्गामा ‘लमजुङ इको ब्रिक’ उद्योग खोलेका छन् । दैनिक ४ सय इँटा बन्छ । उनका अनुसार धुवाँ, धुलो, ध्वनिको प्रदूषण हुँदैन । एउटा इँटाको सानो–ठूलो जोडीलाई ५५ रुपैयाँमा बिक्री गरिएको उनले बताए ।


‘इँटा भूकम्प प्रतिरोधी हो,’ उनले भने, ‘यो इँटा प्रयोग गरेपछि प्लास्टर गर्नु पर्दैन । रङ पनि लगाउनु पर्दैन । आगो प्रतिरोधी र साउन्ड प्रुफ पनि हो ।’ बिजुलीको वाइरिङ र प्लम्बिङका लागि पर्खाल फोर्न नपर्ने र इँटामा रहेको इन्टरलकबाटै वाइरिङ र प्लम्बिङको काम सहज हुने उनले बताए ।

उनको इँटा लमजुङमा मात्रै नभएर मनाङ र तनहुँमा समेत पुग्ने गरेको छ । इँटाको टिकाउ अवधि सिमेन्ट जतिकै रहेको उनले दाबी गरे । उद्योगमा काम गर्नेलाई उनले मासिक ७/७ हजार दिएका छन् । अन्य दिनमा एउटा इँटा बराबर उनीहरूले २ रुपैयाँ पाउँछन् । बिदाको दिन ४ रुपैयाँ पाउँछन् । यसमा मासिक तलब जोडिँदैन । उद्योगका लागि उनले बैंकबाट १० लाख रुपैयाँ ऋण लिएका छन् ।

प्रकाशित : मंसिर २६, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?