गर्भवती लक्षित मोबाइल प्रविधि

प्रतीक्षा काफ्ले

(गण्डकी) — स्याङ्जाको फेदीखोला गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वंमसेविकाको मोवाइलमा गर्भवतीको अवस्थाबारे म्याजेज आउने गरेको छ । गर्भवती भएको ४, ६, ८ र ९ महिनामा म्यासेज आउने फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदीले सुनाए । 

‘गर्भवतीको प्रसुती हुने अनुमानित मिति आयो भने, नमस्ते पहिलो गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा जान सम्झाउनु होला, भनेर स्वमसेविकाको मोवाइलमा म्यासेज जान्छ,’ सुवेदी भन्छन, ‘त्यसपछि हामीलाई भेटेकोमा धन्यवाद भनेर अर्को म्यासेज जान्छ ।’ यस्ता प्रकृतिका म्यासेजको आधारमा महिलाको महिनावारी रोकिएदेखि सुत्केरी हुने बेलासम्म र शिशुको स्वास्थ्य खतराजन्य अवस्थाबारे म्यासेज पुग्ने उनले बताए ।


स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएर गुणस्तरीयता बढाउने अभियानमा लागेको फेदीखोलाले गर्भवतीलाई लक्षित गरि सोमबारबाट ‘मेडिक मोवाइल प्रविधि’ सुरु गरेको हो । पालिकाभित्रका स्वयंसेविकामार्फत गर्भबतीको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको सुवेदी बताउँछन । प्रविधिमा एकपटक गर्भवतीको नाम दर्ता भइसकेपछि स्वास्थ्य संस्था नगए तुरुन्त म्यासेज आउँछ । दुईपटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नआए तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई पठाउने व्यवस्था छ । जसले गर्भवती भएर पनि स्वास्थ्य संस्थामा नजाने महिलालाई फलोअप गर्न स्वयंसेविकालाइ पनि सहज हुन्छ । प्रविधिमार्फत गर्भवती महिला नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेक जाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार ल्याउने गापाको लक्ष्य रहेको छ ।


प्रविधिको प्रशिक्षण दिन आयोजित सोमबार गरिएको उद्घाटन कार्यक्रममा गापाको स्वास्थ्य शाखाले ३६ जना स्वयमसेविकालाई सिमसहित फिचर फोन र ४ स्वास्थ्य चौकीलाई ४ एन्ड्रोइड फोन प्रदान गरेको छ । १० लाख रुपैयाँ बजेट रहेको यस अभियानले गाउँपालिकाको स्वास्थ्यमा सुधार ल्याउने गापाका स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेलले बताए । मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाईल स्वास्थ्य कार्यक्रम अन्तर्गत मेडिक मोवाइलले ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजनासमेत गरेको उनले जानकारी गराए ।


सुवेदीले गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ सेवा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए । प्रविधिको भरपुर उपयोग गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप मेडिक मोवाइल प्रविधिको सुरुवात गरिएको उनको भनाई छ । यस प्रविधिको माध्यमबाट मातृ तथा शिशु मृत्यु दर शुन्य तहमा पुर्‍याउन सकिने र सुरक्षित मातृत्वको लागि तथ्यांकको व्यवस्थापन र अभिलेखन पनि तथ्यपरक बन्ने उनले बताए ।


गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको स्याहारसुसार र स्वास्थ्य जाँचलाई मोवाईलको सहायताबाट प्रभावकारी हुने मेडिक स्वास्थ्य कार्यक्रमका परियोजना अधिकृत नारायण रिजालले जनाए । गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचना पालिकाको स्वास्थ्य प्रमुखकोमा पुग्ने भएकोले आवश्यक सल्लाह दिन सकिने रिजालले बताए ।

प्रकाशित : मंसिर २६, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

राजमार्गसँग जोडिन स्थानीय तहको लगानी

जैदी, बिनामारे, सर्कुवा, पैयुँपाटा, अमलाचौर र नारायणस्थानलगायतले कालीगण्डकी करिडोरको लिंक रोड बनाए
प्रकाश बराल

(बागलुङ) — जैमिनी नगरपालिकाले कुश्मीसेरादेखि जैमिनीधामसम्मको सडक कालोपत्रे गर्न ठेक्का खुलाएको छ । दुई किमि लामो यो खण्डमा गत वर्ष नगरले ट्र्याक खोलेको थियो ।

१ करोड ३५ लाख बजेट स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रममार्फत विनियोजन छ । सडक कालोपत्रे हुँदा कुश्मीसेराबासीले १० मिनेटमा कालीगण्डकी करिडोर भेट्छन् । करिडोरको स्तरोन्नति भइरहेको छ । आगामी वर्षसम्म कालोपत्रे गर्ने करिडोरको पनि तयारी छ ।

कुश्मीसेरादेखि सदरमुकाम आउने २१ किमि सडक वर्षौंदेखि अलपत्र हुँदा दक्षिण बागलुङका सयौंले सास्ती खेपेका थिए । थोरै लगानीमा राष्ट्रिय गौरवका आयोजना जोड्ने क्रम शुरु भएपछि स्थानीयले छोटो र स्तरीय सडकबाट सदरमुकाम पुग्ने अवसर पाउन थालेका छन् । जैमिनी–८ छिस्तीमा पनि यो क्रम सुरु भएको छ । वडा कार्यालयदेखि करिडोर जोड्ने सडक खोलिएको वडाध्यक्ष विजय अधिकारीले बताए । यहाँ निर्माण भएका सबै सडकले करिडोर जोड्ने अभियान थालेका छन् । यहाँका जैदी, बिनामारे, सर्कुवा, पैयुपाटा, अमलाचौर र नारायणस्थान लगायतका वडाले पनि लिंक रोड बनाएका छन् ।

चीन र भारत जोड्ने नेपालकै छोटो कालीगण्डकी करिडोरमा मात्र हैन, पूर्व पश्चिम मध्यपहाडी लोकमार्गमा पनि लिंकरोड जोडिन थालेका छन् । दुवै राजमार्ग नेपालको राष्ट्रिय गौरवका आयोजना हुन् । स्थानीय तह गठनपछि लिंकरोडको रुपमा जोड्न थालिएको हो । लोकमार्गको १ सय ४२ किमि खण्ड र करिडोरको ६० किमि खण्डले बागलुङ जोड्छ । दुबै आयोजनासहित केन्द्रीय र रणनीतिक सडक जिल्ला विकासको साझेदार बनेका छन् ।
कुश्मीसेरा हुँदै गुल्मीको शान्तिपुर पुग्ने सडक केन्द्रीय आयोजनामार्फत काम भइरहेको छ । यो सडकमा पनि चालुवर्ष थप २ करोड लगानी भएको हो । भीमगिठे र दर्लिङ जोड्ने बडिगाढ खोला पुल, ताराखोलाको जमराघाट, जैमिनी नगरपालिकाको ठेउलेखोला पुल र बाटाकाचौरको हुग्दीखोला पुल गतबर्ष सम्पन्न भैसकेका छन् । बागलुङ नगरपालिकाले पनि खहरेतर्फको मुख्य सडक जोड्न लिंकरोडमा लगानी गरेको छ ।

कपिलवस्तुको गोरुसिंगेदेखि सालझन्डी ढोरपाटन पुग्ने पर्यटकीय सडकको ट्रयाक खुलिसकेको छ । यो सडकले निसीखोला गाउँपालिकालाई तराईसँग जोड्छ । निसीखोलाका अधिकांश वडाको सडक निर्माणको क्रम मध्यपहाडी र सालझन्डी सडकतर्फ मोडिएका छन् । चालु वर्षदेखि यो सडक कालोपत्रेका लागि बागलुङतर्फ लगानी गर्न भौतिक योजना मन्त्रालयमा पहल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । यो गाउँपालिकाले मध्यपहाडी लोकमार्गकै छेउबाट १९ किमि लिंकरोड बनाएको छ ।

गाउँबाट लोकमार्ग जोड्ने छोटा सडक बनिरहेका छन् । ‘जनताको घरदैलोमा सिंहदरबार आएकाले साना योजनामार्फत गौरवका योजना जोड्ने हाम्रो ध्यान गएको छ,’ पौडेलले भने, ‘धेरै लगानी गरेर गाउँ घुमाउने सडकभन्दा छोटा र राजमार्ग जोड्दा छिटो समृद्धि ल्याउन सकिन्छ ।’ राजमार्ग मेरुदण्ड बनेकोले कृषि र पशुबस्तु बजार पठाउने सडकमा मात्र लगानी गरेको उनले बताए ।

कोरिडोरमार्फत भारतीय र चिनीयाँ पर्यटक भित्राएर आर्थिक विकास गर्न सकिने भएकाले अरु ठूलो लगानीको काम गर्न नहुने धौलागिरि बहुमुखी क्याम्पसका अर्थशास्त्र विभागका प्रमुख सुदर्शन सिलवालको तर्क छ । ‘अब लगानी बढाउनेभन्दा भएका योजना व्यवस्थित बनाउनुपर्छ’ सिलवालले भने, ‘कृषिलाई व्यवसायिकरण बनाएर जनता धनी बन्ने बाटो खोज्नुपर्छ ।’ कृषिलाई आधुनिकीकरण नगर्दा जमिन बाँझो बनिरहेको उनले बताए ।

काठेखोला गाउँपालिकाले पनि सबै वडाबाट लोकमार्ग जोड्नेगरी सडकका योजना बनाएर लगानी गरेको छ । काठेखोलामा सुन्तला, आलु र पशुजन्य उत्पादन बढेको छ । ती उत्पादन लोकमार्गमार्फत बजार पठाउने योजना पुरा गर्न लगानी गरेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

गाउँपालिकाका सबै वडामा पुग्न मध्यपहाडी लोकमार्गबाट शाखा सडक खोलिएको छ । केन्द्रीय सडकबाट टाढा पर्ने ताराखोला, तमानखोला र बरेङ गाउँपालिका तुलनात्मक विकासमा पछाडि छन् । उनीहरूले मध्यपहाडी लोकमार्गसम्म जोडिएका सडकको स्तरोन्नतिमा लगानी बढाएको बताए । ‘लोकमार्गसम्म पुग्ने २ सडक कालोपत्रे गर्ने योजना छ, त्यसकालागि आन्तरिक बजेट लगाएका छौं, केन्द्रीय योजनाको खोजीमा छौं’ अध्यक्ष प्रकाश घर्तीले भने, ‘ग्रामीण बस्तीका लागि सडकको पूर्वाधार निर्माण नै पहिलो आवश्यकता रहेछ ।’

प्रकाशित : मंसिर २६, २०७६ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×