भूमिगत शालिग्राम संग्रहालय खुला

१ लाख २५ हजार शालिग्राम संग्रह गरी आकर्षक र सुरक्षित तरिकाले राखिएका छन्  
प्रकाश बराल

(बागलुङ) — बागलुङको कुँडुलेमा निर्मित शालिग्राम संग्रहालय अवलोकनका लागि खुला गरिएको छ । ‘संसारकै एक मात्र संग्रहालय’ भएकाले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने निर्माण समितिको दाबी छ ।

एक लाख २५ हजार शालिग्राम संग्रह गरेको भूमिगत संग्रहालय हेर्न टिकट लिनुपर्छ । कुँडुलेस्थित संग्रहालयमा ५ क्विन्टलदेखि सानासाना शालिग्राम आकर्षक र सुरक्षित तरिकाले संग्रह गरिएको छ । शालिग्रामलाई सिसाको घरभित्र स्पष्ट देखिने गरी बत्तीसमेत जडान गरेर राखिएकाले अवलोकन गर्दा आकर्षक देखिन्छन् । धार्मिक पुराणहरूका अनुसार कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइन्छ । शालिग्राम हिन्दुहरूले घरघरमा राखेर पुज्ने गर्छन् । यति धेरै शालिग्राम दर्शन गर्ने स्थान भने संसारमै कतै नभएको संग्राहलय निर्माण अभियानका संरक्षक कमलनयनाचार्यले बताए । उनले तत्कालका लागि सामान्यजस्तो लागे पनि संसारकै नमुना र नौलो संग्रहालय बन्ने दाबी गरे ।


यहाँ झन्डै एक सय मिटर लामो सुरुङ खनेर भूमिगत शालिग्राम संग्रहालय बनाइएको हो । कालीगण्डकी नदी उत्पत्ति भएको दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको नक्सांकनसहित कालीगण्डकी सभ्यतासमेत देखाउने गरी संग्रहालय बनाइएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालय र बागलुङ नगरपालिकाको सहयोगसहित संग्रहालय निर्माण अभियानका संरक्षक कमलानयनाचार्य र ऋषि प्रपन्नाचार्यको अगुवाइमा संकलित रकमले संग्रहालय बनाइएको हो । यो सुरुङभित्र पानी पर्दा पनि असर नपर्ने गरी सिसा राखेर सभ्यता झल्कने सबै संरचना बनाइएको छ । सबै शालिग्रामसमेत सजाएर राखिएको छ ।


नेपाली सेनाको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा सुरुङ निर्माणको काम भएको बागलुङ–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए । त्रिशूल आकारको सुरुङभित्र एक खण्डमा कालीगण्डकी सभ्यता देखाउने हल बनाइएको छ । यस स्थानमा डकुमेन्ट्री देखाउने प्रपन्नाचार्यले बताए । त्यस्तै एक खण्डमा शालिग्राम संग्रहालय तथा मुल प्रवेशद्वारमा नदी सभ्यता देखाइएको छ । झन्डै ६ करोड रुपैयाँ खर्च भएको अनुमान गरिए पनि सबै काम नसकिएकाले यथार्थ खर्च आइनसकेको उनले बताए । गत वर्षको भदौ १ मा शिलान्यास भएपछि निर्माणले गति लिएको थियो । यहाँ गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पनि एक करोड बढी लगानी गरिएको छ । ‘धार्मिक क्षेत्र भए पनि पर्यटनसँग जोडेर जाने लक्ष्यले सबै क्षेत्रको लगानी भित्र्याएका हौं,’ कमलानयनाचार्यले भने, ‘यहाँ बर्सेनि १ लाखभन्दा बढी भारतीय पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।’


प्रचार गर्न सकेमा शालिग्रामको दर्शन गर्न आउने बढ्ने उनले बताए । यो संग्रहालय नजिकै रंगबिङकटेश्वर मन्दिर पनि बनेको छ । झन्डै ६ करोडकै लगानीमा बनेको मन्दिरमा २० हजार ‘श्रीराम’ लेखेर कुँदिएका ढुंगा छन् । यहाँ दैनिक हवन गर्ने तथा भजनकीर्तनका लागि सभाहल पनि बनेको छ । बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले १ करोड रुपैयाँ खर्चेर उक्त सभाहल बनाइदिएका हुन् । संग्रहालयसँगै मुक्तिनाथ वेदविद्याश्रम विद्यालय पनि सञ्चालनमा छ ।


प्रकाशित : मंसिर २५, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

‘वन्यजन्तु मार्ग’ अलपत्र

घनश्याम खड्का

(म्याग्दी) — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षको बीचमा फैलिएको धौलागिरी फेदीको घना जंगललाई संरक्षण क्षेत्र घोषणा गरी वन्यजन्तु मार्ग बनाउने योजना अलपत्र परेको छ । स्थानीय तह गठनसँगै वन्यजन्तु मार्ग निर्माण प्रयास ओझेलमा परेको हो । 

साविक जिल्ला विकास समितिको परिषद् बैठकले ०७१ फागुनमा धौलागिरी हिमालको फेदीलाई वन्यजन्तु मार्ग बनाउने प्रस्ताव पास गरी प्रस्तावको फाइल वन मन्त्रालयमा पुर्‍याएको थियो । ‘ढोरपाटनदेखि एक्याप क्षेत्रमा पर्ने कालीगण्डकी नदीसम्मका बस्तीभन्दा माथिल्लो चरन तथा राष्ट्रिय वन क्षेत्रलाई समेटेर समुदायमा आधारित धौलागिरी वन्यजन्तु मार्ग बनाउने प्रस्ताव वन मन्त्रालयमा पुगेको छ,’ संविधानसभा सदस्य नवराज शर्माले भने, ‘एक्याप, सिकार आरक्ष, प्रकृति संरक्षण कोषसँग एकसरो छलफल पनि भएको हो । राज्य पुन:संरचना भएपछि एजेन्डा ओझेल परेको हो । अब स्थानीय तहले यो प्रस्ताव अगाडि बढाउनु उपयुक्त हुन्छ ।’

सिकार आरक्ष र एक्याप क्षेत्रमा संरक्षण गरिएका हिमाली भालु, नीलभेडा, हिउँ चितुवालगायत वन्यजन्तुको चोरी सिकारी रोकी वन्यजन्तुको सुरक्षित ओहोर–दोहोर गराउन वन्यजन्तु मार्ग बनाउन खोजिएको थियो ।

वन व्यवस्थापन, जैविक विविधता र वन्यजन्तु संरक्षणमा नमुना ठहरिएको एक्यापको मोडेलमा सुधार गरी दुई संरक्षण क्षेत्रबीचमा पर्ने राष्ट्रिय वनजंगल, चरन क्षेत्र, बुक्यान समेटेर वन्यजन्तु पदमार्गको अवधारणा आएको हो । प्रस्तावित वन्यजन्तु पदमार्गमा हालका धौलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, ४ मुदी, रघुगंगा गाउँपालिका–७ चिमखोला, ८ कुइनेमंगले र अन्नपूर्ण गाउँपालिका–३ दानाको माथिल्लो क्षेत्रलाई समेट्ने तथा मुस्ताङको थासाङ गाउँपालिकाको केही वडा समेट्ने छ ।

‘कालीगण्डकी पश्चिमदेखि ढोरपाटन क्षेत्रसम्मका हिमालमुनिका सरकारी जंगलमा वन्यजन्तुको सुरक्षित मार्ग महसुस गरिएको हो,’ धौलागिरी पर्यटन विकास परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले भने, ‘वन्यजन्तु पदमार्गले पर्यावरणमा सन्तुलन कायम राख्ने र पर्यटन विकास गराउने विश्वास छ ।’

सिकार आरक्षमा मुख्य आकर्षण नीलभेडा (नाउर) र झारल (हिमाली थार) पाइन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डासमेत लोपुन्मुख वन्यजन्तुको सिकार गर्न निषेध छ । नाउर, झारलसमेत धौलागिरी क्षेत्रमा हिउँ चितुवा बढी भए पनि संरक्षण भएको छैन । एक्याप क्षेत्रमा पनि लोपोन्मुख वन्यजन्तु छन् ।

नेपालको मुख्य हिमाल सगरमाथा, कञ्चनजंगा, गौरीशंकर, मनास्लु, अन्नपूर्ण हिमालसमेत राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र बनेका भए पनि संसारको सातौं अग्लो हिमाल धौलागिरीलाई संरक्षण क्षेत्र बनाउन बाँकी छ ।

प्रकाशित : मंसिर २५, २०७६ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×