कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘वन्यजन्तु मार्ग’ अलपत्र

घनश्याम खड्का

(म्याग्दी) — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षको बीचमा फैलिएको धौलागिरी फेदीको घना जंगललाई संरक्षण क्षेत्र घोषणा गरी वन्यजन्तु मार्ग बनाउने योजना अलपत्र परेको छ । स्थानीय तह गठनसँगै वन्यजन्तु मार्ग निर्माण प्रयास ओझेलमा परेको हो । 

साविक जिल्ला विकास समितिको परिषद् बैठकले ०७१ फागुनमा धौलागिरी हिमालको फेदीलाई वन्यजन्तु मार्ग बनाउने प्रस्ताव पास गरी प्रस्तावको फाइल वन मन्त्रालयमा पुर्‍याएको थियो । ‘ढोरपाटनदेखि एक्याप क्षेत्रमा पर्ने कालीगण्डकी नदीसम्मका बस्तीभन्दा माथिल्लो चरन तथा राष्ट्रिय वन क्षेत्रलाई समेटेर समुदायमा आधारित धौलागिरी वन्यजन्तु मार्ग बनाउने प्रस्ताव वन मन्त्रालयमा पुगेको छ,’ संविधानसभा सदस्य नवराज शर्माले भने, ‘एक्याप, सिकार आरक्ष, प्रकृति संरक्षण कोषसँग एकसरो छलफल पनि भएको हो । राज्य पुन:संरचना भएपछि एजेन्डा ओझेल परेको हो । अब स्थानीय तहले यो प्रस्ताव अगाडि बढाउनु उपयुक्त हुन्छ ।’


सिकार आरक्ष र एक्याप क्षेत्रमा संरक्षण गरिएका हिमाली भालु, नीलभेडा, हिउँ चितुवालगायत वन्यजन्तुको चोरी सिकारी रोकी वन्यजन्तुको सुरक्षित ओहोर–दोहोर गराउन वन्यजन्तु मार्ग बनाउन खोजिएको थियो ।


वन व्यवस्थापन, जैविक विविधता र वन्यजन्तु संरक्षणमा नमुना ठहरिएको एक्यापको मोडेलमा सुधार गरी दुई संरक्षण क्षेत्रबीचमा पर्ने राष्ट्रिय वनजंगल, चरन क्षेत्र, बुक्यान समेटेर वन्यजन्तु पदमार्गको अवधारणा आएको हो । प्रस्तावित वन्यजन्तु पदमार्गमा हालका धौलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, ४ मुदी, रघुगंगा गाउँपालिका–७ चिमखोला, ८ कुइनेमंगले र अन्नपूर्ण गाउँपालिका–३ दानाको माथिल्लो क्षेत्रलाई समेट्ने तथा मुस्ताङको थासाङ गाउँपालिकाको केही वडा समेट्ने छ ।


‘कालीगण्डकी पश्चिमदेखि ढोरपाटन क्षेत्रसम्मका हिमालमुनिका सरकारी जंगलमा वन्यजन्तुको सुरक्षित मार्ग महसुस गरिएको हो,’ धौलागिरी पर्यटन विकास परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले भने, ‘वन्यजन्तु पदमार्गले पर्यावरणमा सन्तुलन कायम राख्ने र पर्यटन विकास गराउने विश्वास छ ।’


सिकार आरक्षमा मुख्य आकर्षण नीलभेडा (नाउर) र झारल (हिमाली थार) पाइन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डासमेत लोपुन्मुख वन्यजन्तुको सिकार गर्न निषेध छ । नाउर, झारलसमेत धौलागिरी क्षेत्रमा हिउँ चितुवा बढी भए पनि संरक्षण भएको छैन । एक्याप क्षेत्रमा पनि लोपोन्मुख वन्यजन्तु छन् ।


नेपालको मुख्य हिमाल सगरमाथा, कञ्चनजंगा, गौरीशंकर, मनास्लु, अन्नपूर्ण हिमालसमेत राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र बनेका भए पनि संसारको सातौं अग्लो हिमाल धौलागिरीलाई संरक्षण क्षेत्र बनाउन बाँकी छ ।

प्रकाशित : मंसिर २५, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?