नगरमै कुवाको भर

तार्कु, गहते, बजरकोट, चिसापानी, माझगाउँ, गैरीगाउँ, लाँकुरीस्वाँरा, काफलस्वाँरालगायत गाउँमा खानेपानीको हाहाकार

लमजुङ — सुन्दरबजार नगरपालिका–५ तार्कु गहतेका ५४ वर्षीय चन्द्रवीर गुरुङको बिहानी कालिकाथान मन्दिरमुनीको कुवामा पानी भर्दैमा बित्छ । उनको गाउँमा पानी छैन । बेंसीसहर नगरपालिका–३, काउलेपानी क्षेत्रबाट पाइपमा लगिएको पानी ठाउँठाउँमा विग्रिएको छ । ‘पानी आउँदैन । १०/१२ वर्षदेखि हाम्रो यही कुवाको भर हो,’ उनले भने, ‘यो सुकेपछि तल गाउँको कुवामा जानुपर्छ । धाराको पानी कहिलेकाहींमात्रै आउँछ ।’ 

नगरमै कुवाको भर

गहतेकै ४८ वर्षीया मीना गुरुङले पाइपमा पानी नआउँदा कुवा धाउनुपरेको र सबै काममा ढिलाइ भएको बताइन् । ‘पानी आउँदैन । नुहाउन, धुन परै जाओस्, खानेपानी नै पाइँदैन,’ उनले भनिन्, ‘पानी भर्न जानु पर्‍यो । पालो कुर्नु पर्‍यो । खाना कतिखेर पकाउने, केटाकेटीलाई कतिखेर खुवाएर पठाउने । समस्या छ ।’ ७२ वर्षीय शन्तबहादुर गुरुङका अनुसार यो समस्या अहिलेदेखिको नभई २ दशकअघि निर्माण गरिएका खानेपानी आयोजना जीर्ण बने देखिको हो ।


अहिले गाउँमा जुनसुकै समय पनि खानेपानी समस्या छ । स्थानीयका अनुसार सुन्दरबजार–५ साविक तार्कु गाविस हो । तार्कुका ग्रामीण क्षेत्र सवै ठाउँमा खानेपानीको समस्या रहेको छ । बेंसीसहर नगरपालिका–२ (साबिक गाउँसहर गाविस ९) चिसापानीका स्थानीयले पनि वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका छन् । स्थानीय युवा हिरासिंह गुरुङका अनुसार चिसापानी गाउँका ५ वटै टोलमा पहिल्यैदेखि खानेपानीको समस्या छ । ‘पानीको स्रोत नहुँदा काउलेपानीबाट ल्याएका हौं । जीर्ण बनेर पाइपहरू सबै फुट्दा खानेपानीको समस्या भयो,’ उनले भने ।


सडक, सञ्चार, विद्युत लगायतका सेवा सुविधा पुगे पनि खानेपानी नपाउँदा स्थानीय समस्यामा छन् । यी दुवै गाउँमा होमस्टे संचालन गरिएपनि खानेपानीका कारण समस्या भोग्नुपरेको हिरासिंह गुरुङले बताए । तार्कु, गहते, बजरकोट साथै चिसापानी, माझगाउँ, गैरीगाउँ, लाँकुरीस्वाँरा, काफलस्वाँरालगायत गाउँमा खानेपानीको हाहाकार छ ।

हिउँद बर्खा सधैं खानेपानीको समस्या रहेको स्थानीय बताउँछन् । हिरासिंहका अनुसार गाउँमा खानेपानी संकट भएपछि लिफ्टिङ प्रविधिमार्फत खानेपानी ल्याउने योजना अघि सारिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको उनले बताए । वडाअध्यक्ष गणेश कँडेलका अनुसार करिब ३५ लाखको खानेपानी योजना चिसापानीमा निर्माण गर्न लागिएको छ ।


सुन्दरबजार–५ का अध्यक्ष ललित गुरुङले पुरानो खानेपानी आयोजना जीर्ण भएको र नयाँ आयोजना नसकिएको अवस्थामा समस्या परेको बताए । ‘हाम्रै पहलमा गाईखुरे छहराको मुहानबाट खानेपानी लिफ्टिङको योजना सुरु भएको छ । २०७७ भित्र हामी सक्छौं । यो ९४ लाख रुपैयाँ लागत स्टेमेट हो । अहिले ३ वर्ष भयो,’ उनले भने, ‘त्यतिले पुग्दैन, पुरानो आयोजना पनि बनाउनुपर्छ ।’

प्रकाशित : मंसिर २४, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?