कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पकेट गाउँमै सुन्तला उत्पादन घट्दो

हरिराम उप्रेती

गोरखा — सुन्तला गाउँ । सुन्तला बिक्रीबाटै मनग्गे आम्दानी । सहिद लखन गाउँपालिका–५ मास्किछापका सबैजसो स्थानीय सुन्तला खेतीमै निर्भर छन् । झन्डै २ दशकअघि अन्न र तरकारी खेती मासेर स्थानीय सुन्तला खेतीमा होमिएका हुन् । सुन्तला बिक्रीबाट वर्ष दिनसम्मको उपभोग्य सामग्री खरिद गर्छन् स्थानीय ।

पकेट गाउँमै सुन्तला उत्पादन घट्दो

यही गाउँमा ५ वर्षको अन्तरालमा सुन्तलाको उत्पादन घटेको छ । राम्जी थापाले सुन्तला वेचेर ५ वर्षअघि २ लाख ५० हजार रुपैयाँ आम्दानी गरे । यसवर्ष ३० हजारको सुन्तला बिक्री गर्न पनि मुस्कील रहेको उनी बताउँछन् । ‘वर्षैपिच्छे उत्पादन घट्दै गएको छ,’ उनले भने, ‘अव सुन्तला मासेर वैकल्पिक खेती गर्नुपर्ने बाध्यता आइपर्‍यो ।’


५ वर्ष अघिकै अनुपातमा यो वर्ष सुन्तला फलेको भए मास्कीछापमा २ करोड रुपैयाँ भित्रिने उनको भनाइ छ । ‘यो वर्ष गाउँभरिबाट ३० लाखको सुन्तला बिक्री हुन पनि मुस्किल छ,’ उनले भने । ०५३ सालबाट व्यावसायिक सुन्तला खेती गरेका थापाको मात्र करिब ७ सय बोटमा टुप्पोबाट मर्दै जाने समस्या छ । अब पुरानो बोट मासेर नयाँ बिरुवा लगाउने योजना रहेको उनले सुनाए ।


ओमानसिं थापाले २०४३ सालमा तरकारी खेती सुरु गरे । उनले ०४५ सालबाट तरकारी मासेर सुन्तला खेती सुरु गरे । ३ दशकको अवधिमा सुन्तला बेचेर उनको घर व्यवहार चलेकै थियो । सुन्तलाबाहेक उनको अन्य आम्दानीको स्रोत छैन । उनी मास्कीछापकै चर्चित सुन्तला किसान हुन् । १० रोपनी क्षेत्रफलको सुन्तलाले उत्पादन कम दिन छाडेपछि उनी निराश छन् ।


‘पोहोरसम्म रुखै लचक्कै हुने गरेर सुन्तला फल्थ्यो,’ उनले भने, ‘यस वर्ष आधा पनि उत्पादन छैन ।’ दाना सानो फलेको उनको दुःखेसो छ । यसअघिका वर्षमा उनी आफैं सुन्तला बिक्रीका लागि काठमाडौं पुग्थे । ९ सयमध्ये ४ सय बोटले मात्र उत्पादन दिने उनले सुनाए । स्थानीय नीलकण्ठ थापाले सुन्तला खेती मासेर केरा सुरु गरेका छन् ।


केराको माग पनि राम्रै रहेकाले २ वर्ष अघिबाट ५ सय सुन्तला मासेर ३ सय बोट केरा लगाएको उनले बताए । ‘सुन्तलाको पुरानो बोटमा टुप्पाबाट मर्दै जाने, साना दाना लाग्ने समस्या देखियो,’ उनले भने, ‘यो ठाउँमा हुने सुन्तलै हो, जग्गा बाँझो राख्नुभन्दा एक दुई वर्ष केरा खेती गरेर फेरि सुन्तला लगाउने तयारीमा छु ।’ सबै स्थानीयको मुख्य आयआर्जनको स्रोतका रूपमा रहेको सुन्तला कम फलेपछि गाउँलेमा निराशा छाएको उनले बताए ।


२/४ वर्ष माटोको सन्तुलन मिलाउन वैकल्पिक खेति गर्नुपर्ने देखिएको स्थानीय लुना थापा बताउँछिन् । ‘केहिले कागती लगाएका छन्,’ उनले भनिन्, ‘वैकल्पिक खेती गरेर माटो मलिलो वनाएर सुन्तला लगाउन सके फेरि पहिलेजस्तै उत्पादन दिन्छ ।’ सुन्तलामा ग्रिनिङ र जरा कुहिने समस्या देखिएको सुन्तला जात फलफुल जोनका प्रमुख अजय अधिकारीले बताए ।


‘पानीको निकास भएन, खनजोत पनि बढी भयो भने जरा कुहिने समस्या देखिन्छ,’ उनले भने । पुरानो रोगी बोटलाई फाल्नुपर्ने उनले बताए । ‘परारभन्दा पोहोर राम्रो फलेको थियो, अहिले त्यति राम्रो नभएकै हो,’ उनले भने, ‘बोटको टुप्पाबाट मदै जाने, पात पहेलो हुने, दाना सानो लाग्ने समस्या देखिएको छ । रोगी बिरुवा लगाउँदा पनि यस्तो समस्या हुन्छ ।’

प्रकाशित : मंसिर २४, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?