२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एउटै कार्यालयमा दुई प्रमुख

आश गुरुङ

लमजुङ — बेंसीसहरस्थित घरेलु कार्यालयमा २ प्रमुख छन् । एकजना संघीय सरकार अन्तर्गतका प्रमुख छन् । एकजना प्रदेश सरकारले खटाएका प्रमुख छन् ।

एउटै कार्यालयमा दुई प्रमुख

दुवैजना प्रमुखले ६ महिनायता तलब पाएका छैनन् । समायोजन रोजेको ठाउँमा नभई सरकारले अन्यत्रै खटाएको भन्दै घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत मणिराम नेपाल कार्यालयकै प्रमुख भएर बसेका छन् ।


प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृतको रुपमा खटाएका तोपलाल भुषाल पनि कार्यालय प्रमुखको रुपमा छन् । संघीय सरकार मातहातको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई प्रदेश सरकार अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय बनाइएको छ ।


दुवै कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन तथा योजना अघि बढाउन अख्तियारी दिएको छैन । नेपाल बिदा लिएर एकसातादेखि काठमाडौं छन् । मागेको ठाउँमा सरुवा नदिएपछि उनी मुद्दा मामिलामा छन् । प्रदेशले खटाएका भुषाल भने अख्तियारीका लागि प्रदेश मन्त्रालयमा दौडधुप गरिरहेका छन् । भुषाल साउन १५ देखि कार्यालयमा हाजिर गरिरहेका छन् । नेपालले यसअघि देखि नै हाजिर गरिरहेका छन् । हाजिर कपी छुट्टाछुट्टै छ । कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था छैन ।


नेपालका अनुसार सरकारले पहिले ७ सय ५३ स्थानीय तह रोज्न भनेको थियो । पछि निजामतिमात्रै दिइयो । घरेलु विकास समितिका कर्मचारीलाई ४८ जिल्लाभित्रका स्थानीय तहमा मात्रै समायोजन हुन भनी मन्त्रिपरिषद्को बैठकले २०७६ जेठ १३ गते निर्णय गर्‍यो । ‘मैले आफू समायोजन हुन पाऊँ भनी १६ स्थानीय तह छनौट गरेँ । तर मलाई रामेछापको मन्थली नगरपालिकामा समायोजन गरायो’ उनले भने, ‘म जस्ता घरेलुका कर्मचारीले मागेको ठाउँमा समायोजन हुन पाएनौं । त्यसैले हामी समितिका कर्मचारीले सर्वोच्चमा मुद्दा हालेका छौं ।’


सर्वोच्चले साउन १ गते यसअघिको कार्यालयमै यथावत् काम गर्न ‘स्टे अर्डर’ जारी गरेपछि कर्मचारी कार्यालयमै हाजिर गरिरहेका छन् । सर्वोच्चले समयमै फैसला नगर्दा कर्मचारी मर्कामा परेको नेपालले बताए । ‘न हामी काम गर्न पाएका छौं, न तलब नै पाएका छौं । अब पुस ६ गते सर्वोच्चमा पेशी छ’ उनले भने । कार्यालयकै लेखापाल उद्धव पराजुलीले समायोजनमा जान झापाको लागि फर्म भरेकोमा लमजुङकै मध्यनेपालमा पारिएको बताए । उनले पनि साउनयता तलब पाएका छैनन् । अन्य कर्मचारी भने समायोजनमा गइसकेका छन् ।


भुषालले अख्तियारीका लागि पोखरा रहेको बताए । ‘अख्तियारी पाएको छैन । साउनदेखि तलब खाएको छैन । अरु कर्मचारी पनि खटाएको छैन’ उनले भने । उनले लेखा, प्रशासन, कार्यालय सहयोगीलगायत ७ जना कर्मचारीको दरबन्दी तोकेको बताए । ‘भदौ ११ गते यसअघिको समितिलाई कार्यालयको रुपमा स्थापना गर्‍यौं । यो अब सम्पूर्ण रुपमा प्रदेश अन्तर्गतको कार्यालय हो’ उनले भने ।


कार्यालय प्रमुख दुवैजना भएपछि कार्यकक्षमा बस्न दुवैलाई समस्या परेको छ । एउटा छोडेर जाने कार्यालय प्रमुख र अर्को खटाएको प्रमुख भएपछि दुवैजना अन्यौलमा परेका छन् । कार्यालयको आधिकारिक मोबाइल नम्बर प्रमुख उद्योग अधिकृत नेपालले नै प्रयोग गरिरहेका छन् । प्रदेश सरकारको अख्तियारी पाएपछि उक्त मोबाइल आफूले प्रयोग गर्न पाउने भुषालले बताए ।

प्रकाशित : मंसिर २३, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?