कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चर्चामै सीमित व्यास पराशर क्षेत्र

सम्झना रसाइली

तनहुँ — चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको २८औं अवतरण दमौलीमा भएको बताइन्छ । व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादि वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै विभिन्न धार्मिक कार्यक्रम हुँदै आएका छन् ।

चर्चामै सीमित व्यास पराशर क्षेत्र

यस क्षेत्रको विकास र प्रवर्द्धन गरी धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने भन्दै जनप्रतिनिधिले पनि निकै लोभलाग्दा भाषण गर्छन् । ती भाषण व्यावहारिक रूपमा अझै पनि कार्यान्वयनमा आउन सकेका छैनन् । व्यास क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि व्यास पराशर क्षेत्र विकास कोषले व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने कार्यक्रम अगाडि बढाए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा यो चर्चामै सीमित छ ।


व्यास–३ स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको व्यास मूर्तिसहित सबै संरचनाका लागत करिब ६२ करोड ८५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ । तर बजेट व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलमा रहेको समितिका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । ‘समितिसँग जम्मा ५० लाख रुपैयाँ मात्र बजेट छ,’ उनले भने, ‘थप बजेट कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योल छ ।’


बजेट अभावका कारण मूर्ति निर्माणलगायत अन्य भौतिक पूर्वाधारका काम अगाडि बढ्न नसकेपछि कोषले यस विषयमा जनप्रतिनिधिसँग परामर्श कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा तनहुँ क्षेत्र २ बाट निर्वाचित संघीय सांसद केदार सिग्देलले मूर्ति निर्माणको अगुवाइ कोषले नै गर्नुपर्ने र बजेट जुटाउन जनप्रतिनिधिले सहयोग गर्ने बताए ।


उनले भने, ‘मूर्ति निर्माण भएसँगै व्यास क्षेत्रको मात्र नभई जिल्लामै पर्यटन प्रवर्द्धनको सम्भावना रहेको हुँदा मूर्तिसँगैका संरचना निर्माण क्रममा लाग्ने बजेट जुटाउन जिल्लावासी, राजनीतिक दल, जनप्रतिनिधिलगायतले आफूले सक्दो सहयोग गर्नुपर्छ ।’ गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले मूर्ति निर्माणको दायित्व सबैको भएकाले प्रदेश सरकारका तर्फबाट बजेट विनियोजन गराउन आफूले पहल गर्ने बताए ।


संघीय सांसद कलिला खान, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले मूर्ति निर्माणका लागि बजेट जुटाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । विस्तृत परियोजना प्रतिवेदनले मूर्ति र स्तम्भ निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ । अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार रुपैयाँ लाग्ने अनुमान छ ।


व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । स्तम्भभित्र संग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ । १०८ फिटको मूर्ति निर्माणको दायित्व व्यास नगरपालिकाको मात्रै नभई जिल्लाका सबै स्थानीय तह र स्थानीयवासीको पनि जिम्मेवारी रहेकाले सबैले सहयोग गर्नुपर्ने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर २३, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?