कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एउटै कार्यालयमा २ प्रमुख

आश गुरुङ

लमजुङ — बेंसीसहरस्थित घरेलु तथा साना उद्योग विकास समिति कार्यालयमा दुई प्रमुख रहेका छन् । एक जना संघीय सरकारअन्तर्गतका प्रमुख हुन् भने अर्कालाई प्रदेशले खटाएको हो । दुवै प्रमुखले ६ महिनायता तलब पाएका छैनन् ।

समायोजन रोजेको ठाउँमा नभई सरकारले अन्यत्रै खटाएको भन्दै घरेलुका प्रमुख उद्योग अधिकृत मणिराम नेपाल कार्यालयकै प्रमुख भएर बसेका छन् । प्रदेश सरकारले घरेलुको अधिकृतका रूपमा खटाएका तोपलाल भुसाल पनि कार्यालय प्रमुखको रूपमा छन् । संघीय सरकार मातहतको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई प्रदेश सरकारअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय बनाइएको छ ।


दुवै कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन तथा योजना अघि बढाउन अख्तियारी दिइएको छैन । नेपाल बिदा लिएर एक सातादेखि काठमाडौंमा छन् । मागेको ठाउँमा नदिएपछि उनी मुद्दा मामिलामा छन् । प्रदेशले खटाएका भुसाल भने अख्तियारीका लागि प्रदेश मन्त्रालयमा दौडधुप गरिरहेका छन् । भुसाल साउन १५ देखि कार्यालयमा हाजिर गरिरहेका छन् ।

नेपालका अनुसार सरकारले पहिले ७ सय ५३ स्थानीय तह रोज्न भनेको थियो । पछि निजामती मात्रै दिइयो । घरेलु विकास समितिका कर्मचारीलाई ४८ जिल्लाभित्रका स्थानीय तहमा मात्रै समायोजन हुन भनी मन्त्रिपरिषद्को बैठकले २०७६ जेठ १३ गते निर्णय गर्‍यो ।


‘मैले आफू समायोजन हुन पाऊँ भनी १६ स्थानीय तह छनोट गरें । तर मलाई रामेछापको मन्थली नगरपालिकामा समायोजन गरियो,’ उनले भने, ‘मजस्ता घरेलुका कर्मचारीले मागेको ठाउँमा समायोजन हुन पाएनौं । त्यसैले हामी समितिका कर्मचारीले सर्वोच्चमा मुद्दा हालेका छौं ।’


सर्वोच्चले साउन १ मा यसअघिको कार्यालयमै यथावत् काम गर्न ‘स्टे अर्डर’ जारी गरेपछि कर्मचारी कार्यालयमै हाजिर गरिरहेका छन् । सर्वोच्चले समयमै फैसला नगर्दा कर्मचारी मर्कामा परेको नेपालले बताए । ‘न हामी काम गर्न पाएका छौं, त तलब पाएका छौं । अब पुस ६ मा सर्वोच्चमा पेसी छ,’ उनले भने ।


कार्यालयकै लेखापाल उद्धव पराजुलीले समायोजनमा जान झापाका लागि फर्म भरेकोमा लमजुङकै मध्यनेपालमा पारिएको बताए । उनले पनि साउनयता तलब पाएका छैनन् । अन्य कर्मचारी भने समायोजनमा गइसकेका छन् । भुसालले अख्तियारीका लागि पोखरा रहेको बताए ।


‘अख्तियारी पाएको छैन । साउनदेखि तलब खाएको छैन । अरू कर्मचारी पनि खटाएको छैन,’ उनले भने । उनले लेखा, प्रशासन, कार्यालय सहयोगीलगायत ७ कर्मचारीको दरबन्दी तोकेको बताए । ‘भदौ ११ मा यसअघिको समितिलाई कार्यालयको रूपमा स्थापना गर्‍यौं । यो अब सम्पूर्ण रूपमा प्रदेशअन्तर्गतको कार्यालय हो,’ उनले भने ।


कार्यालय प्रमुख दुवै जना भएपछि कार्यकक्षमा बस्न दुवैलाई समस्या परेको छ । एउटा छोडेर जाने कार्यालय प्रमुख र अर्को खटाएको प्रमुख भएपछि दुवै जना अन्योलमा परेका छन् । कार्यालयको आधिकारिक मोबाइल नम्बर प्रमुख उद्योग अधिकृत नेपालले नै प्रयोग गरिरहेका छन् । प्रदेश सरकारको अख्तियारी पाएपछि उक्त मोबाइल आफूले प्रयोग गर्न पाउने भुसालले बताए ।

प्रकाशित : मंसिर २३, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?