३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘नेपाली भएर मर्न पाउने भएँ’

लालप्रसाद शर्मा

(पोखरा) — गोरो, अग्लो र पातलो शरीर । सेतै झुरुप्प दाह्री । शिरमा ढाकाटोपी कहिल्यै टुट्दैन । काँधमा झोला झुन्डिइरहन्छ । लौरो टेकेर सधैं हँसिलो मुहारमा पोखराको बजारमा ओहोरदोहोर गर्ने ८३ वर्षे पुतली बाजे अर्थात् कोलिन फिलिप स्मिथ बुधबार निकै खुसी देखिए । ‘२५ वर्षदेखिको प्रयासपछि नेपाली नागरिकता पाएँ,’ अंग्रेजी लवज मिसिएको स्वरमा उनले भने, ‘धेरै खुसी भएको छु । नेपाली भएर मर्न पाउने भएँ । स्वर्गमा बास हुने भयो, स्वर्गमै गीत गाएर बस्छु ।’

‘नेपाली भएर मर्न पाउने भएँ’

५४ वर्षअघि नेपाल आएका बेलायती नागरिक स्मिथलाई नेपाल सरकारले सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो । ‘बेलायतको नागरिकता त्यागेर नेपाली लिन्छु भन्दा पनि अहिलेसम्म पाएको थिइनँ,’ नागरिकता पाएपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘अब ढुक्क भएँ ।’


नेपालमा पाइने विभिन्न प्रकारका पुतली संकलन र त्यसबारे पुस्तक लेखेर यो क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याएकाले उनको इच्छाअनुसार नागरिकता दिएर सरकारले सम्मान गरेको हो । गृह मन्त्रालयले गत सोमबार उनलाई ०१/०७६/०७७ नम्बरको सम्मानार्थ नागरिकताको प्रमाणपत्र दिएको हो । संविधानको धारा ११ को उपधारा ९, नेपाल नागरिकता ऐन २०६३ को दफा ६ र नियमावलीको नियम ८ को उपनियम ५ मा भएको व्यवस्थाबमोजिम स्मिथलाई सम्मानार्थ नागरिकता दिइएको हो । कात्तिक २९ को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो । गृहमन्त्रीस्तरको मंसिर ११ को निर्णयले उनले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् । साथै नेपालको नि:शुल्क भिसा पनि उपलब्ध हुनेछ । सम्मानार्थ नेपाली नागरिकता यसअघि सगरमाथा आरोही सर एडमन्ड हिलारी र भूगर्भविद् टोनी हेगनले पाएका थिए । स्मिथले ४० जिल्ला पुगेर नेपालमा पाइने ६ सय ६० प्रजातिमध्ये ५ सय ५० प्रजाति भेट्टाए । २५ हजार पुतली संकलन गरी प्राकृतिक विज्ञान संग्रहालयलगायतलाई हस्तान्तरण गरेका छन् ।


ग्लास्गो विश्वविद्यालयमा गणित विषय पढाउने स्मिथ युनाइटेड मिसनमार्फत २०२२ सालमा पोखरा आएका थिए । यहाँ आएर उनले नेपाली आदर्श विद्यालय (हालको गण्डकी आवासीय) मा पढाउन थाले । केही समयपछि स्वदेश फर्किए । पछि फेरि मिसनले नै गोरखाको लुइँटेलमा खुलेको अमरज्योति स्कुलमा पठायो । आएर पढाउन थाले । काठमाडौंको आनन्दकुटी र पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि पढाउन थाले । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटालगायतलाई उनले पढाएका थिए । पछि पढाउन छाडेर पुतली संग्रह गर्न थाले । उनको सोखबारे त्रिभुवन विश्वविद्यालयमा जानकारी पुग्यो । त्रिविविका जुलोजीका प्राध्यापक डीआर उप्रेतीले स्मिथलाई बोलाएर कीट विज्ञान संग्रहालय बनाउन आग्रह गरे । त्रिविविसँग ६ वर्षे सम्झौता गरी गाउँ डुलेर पुतली जम्मा गरे । पुतली संग्रह गर्दै हिँड्ने क्रममा उनको नाम ‘पुतली बाजे’ रह्यो तर नेपालमा नभई बेलायतमा यो नाम रहेको हो । लन्डनमा एकजना डाक्टरका नातिले उनलाई ‘बटरफ्लाई ग्य्रान्ड्याड’ भनेका थिए । त्यो कुरा उनले यहाँ सुनाएपछि नेपालमा पुतली बाजे भन्न थालिएको हो । २५ वर्षयता उनी नेपाली नागरिकता पाउन पहल गरिरहेका थिए । यसका लागि बेलायती नागरिकता त्याग्नुपर्थ्यो । नेपाली नागरिकता पाउने सुनिश्चित भए मात्र बेलायती त्याग्ने बताउँदै आएका थिए ।


कोलिनका अनुसार उनका एक मामालाई पुतली निकै मन पर्थ्यो । मामाले खेतमा पुतली संकलन गरेका थिए । यसले नै पुतली संकलनमा प्रेरणा मिलेको उनले बताए । पुतलीका विषयमा १० पुस्तक र ५ बुकलेट लेखेका छन् । पुतलीको बासस्थान, आहार विषयमा खोजी गरेका छन् ।


गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गत बुधबार स्मिथलाई सम्मान गरे । ‘स्मिथको कामको मूल्यांकन गर्दै नेपाली जनताले दिएको सम्मान हो यो,’ उनले भने, ‘गण्डकी सरकारले पनि उनको उचित मूल्यांकन गर्नेछ ।’ साहित्यकार सरुभक्तले स्मिथबारे विगतको स्मरण सुनाएका थिए ।


प्रकाशित : मंसिर २२, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?