१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

साझा अधिकारका कानुन अझै बनेन 

तीनै तहका सरकारको साझा अधिकारको सुचिका यातायात, शिक्षा, पर्यटन, प्रहरी, वन, भूमि, उद्योगलगायत कानुन नबन्दा अन्योल 
प्रतीक्षा काफ्ले

(गण्डकी) — संविधानले तोकेको साझा अधिकार सूचीका कानुन संघीय संसद्ले नबनाइदिदा प्रदेशसभा प्रभावकारी रूपमा अघि बढ्न नसकेको प्रदेशका सभामुखहरूले बताएका छन् । कानुन निर्माणमा ढिलाइले प्रदेशसभाले प्रत्यक्ष असर व्यहोर्नुपरेको व्यहोर्नुपरेको उनीहरूको भनाइ थियो । 

साझा अधिकारका कानुन अझै बनेन 

गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित अन्तर प्रदेशसभा अनुभव आदानप्रदान कार्यक्रमका अवसरमा शुक्रबार सातै प्रदेशका सभामुखले कानुन अभावमा २ वर्षसम्म अन्यौेलमा काम गर्नुपरेको बताए । सभामुखहरूले प्रदेशसभाको काम र समस्याबारे अनुभव आदानप्रदान गर्दै तीनै तहका सरकारको साझा अधिकारको सूचिका यातायात, शिक्षा, पर्यटन, प्रहरी, वन, भूमि, उद्योगलगायत कानुन निर्माणमा अन्यौलता छाएको जनाए । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वय संघियताको सिद्धान्त भए पनि अभ्यासमा त्यस्तो नभएको बताए । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले साझा अधिकारका कानुन प्रदेशसभाको लागि प्रमुख समस्याको रुपमा रहेको बताए । ‘संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका कानुन निर्माण नहुदाँ हामीलाई निकै चुनौति छ’ उनले भने, ‘संघीय सरकारले आफ्नै तरिकामा ऐन ल्याउने हुदाँ प्रदेश र स्थानीय सरकारको समस्या के छ भनेर कहिलै बुझेन ।’ उनले साझा कानुन निर्माण गर्दा तीनवटै सरकारबीच समन्वय र छलफलबाट ल्याउन जरुरी रहेको बताए ।


संघले प्रदेशका एकल अधिकारमा पनि हस्तक्षेप भएको आरोप सभामुखले लगाए । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहले निर्माण गरेका कानुन प्रदेश र संघलाई पनि जानकारी गराउनुपर्ने बताएका थिए । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सरकारले बनाउने कार्यविधि र नियमावलीमा सुशासनतर्फ ध्यान नदिइएको टिप्पणी गरे। तीनै तहका सरकारबीचको समन्वय कायम राख्न संघीय संसदले कानुन बनाउने पर्ने व्यवस्था संविधानको धारा २३५ (१) मा छ । तर, हालसम्म पनि त्यस्तो अभ्यास नभएको सभामुखहरूले गुनासो गरे । कार्यबोझको आधारमा प्रदेशसभाको आफ्नै संरचना निर्माण गर्न नसकिएको बताउदै उनीहरूले संघीय सरकारले सवै अधिकार आफूले नै केन्द्रित गर्दा संघीयताको औचित्यतामाथि नै प्रश्न उठ्ने भएकाले बेलैमा सचेत हुनुपर्ने बताएका थिए । कार्यक्रममा सातै प्रदेशका उपसभामुख पनि सहभागी छन । युएनडीपीको संसद सहयोग परियोजनाले कार्यक्रममा सहयोग गरेको हो ।


सभामुखहरूले प्रधानमन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूको अन्तर प्रदेश समन्वय परिषद् गठन भएजस्तै राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुखसहित सातै प्रदेशका सभामुख रहने गरि एउटा समिति गठनको माग गरे ।


व्यापक छलफलबाट विधेयक

प्रदेश सरकारले ल्याएको विधेयक राम्रो/नराम्रो भन्दा पनि पार्टी केन्द्रित भएर विधेयक पास हुने गरेको सभामुखले बताएका थिए । प्रदेश १ का सभामुख भण्डारीले विधेयक पार्टीभन्दा माथी उठेर व्यापक छलफलपछि मात्र पारित गर्नुपर्ने बताए । उनले विधेयक पढ्ने बानी नदेखिएको बताउँदै होमा होमात्र गर्ने काम भएको जनाएका थिए । ‘सरकारले ल्याएका विधेयक कस्ता छन । कहाँ अप्ठ्यारो पर्छ भन्ने विषयमा सासंदले खासै ख्याल नगरेको पाइन्छ’, उनले भने, ‘सत्तापक्षका माननीयले विधेयकबारे बोल्दा पार्टीको विरोध हुन्छ भन्ने मानसिकता हटाएमा मात्र सही कानुन निर्माण गर्न सकिन्छ ।’ उनले आफुहरूको मर्यादाक्रममा पनि सन्तोषजनक नरहेको बताए ।


प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले कानुन निर्माण गर्दा छलफल नपुगेकाले कार्यान्वयनमा समस्या रहेको बताए । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले विधि र प्रक्रिया पुर्‍याएरमात्र विधेयक पारित गर्नुपर्नेमा जोड दिए । ‘प्रक्रिया पुर्‍याएर ल्याएको विधेयक संशोधन गर्नुपर्ने झमेला हुदैन’ उनले भने, ‘पटक–पटक अध्ययन गरि विज्ञको सुझावअनुसार विधेयक ल्याउनुपर्‍यो ।’


मर्यादाक्रम र सेवासुविधामा पनि एकरुपता नरहेको सभामुखहरूले बताए । प्रदेशका मन्त्रीको लागि खटिएको सुरक्षाकर्मी सई र सभामुखको लागि असई सरहको दिने व्यवस्थामा पनि एकरुपता हुनुपर्ने उनीहरूको भनाई थियो । मर्यादापालको पनि नरबन्दी नरहेको गुनासो गरे ।


प्रदेश सरकार र प्रदेशसभाबीच समन्वय अभाव

सभामुखहरूले प्रदेश सरकार र प्रदेशसभाबीच आवस्यक सहकार्य र समन्वय नहुने जनाए । प्रदेश २ का सभामुख सरोजकुमार यादवले समन्वय अभावमा प्रदेश सरकार र प्रदेशसभा आआफ्नै तरीकाले संचालन भएको बताए । प्रदेश ५ का सभामुख घर्तीले कर्मचारीले पनि सरुवा र बढुवाको लोभमा मुख्यमन्त्री मात्र रिझाउने गरेको बताए । उनले सभामुखको औचित्य नदेख्ने गुनासो गरे । ‘सभामुख पनि छन । प्रदेशसभा पनि छ । यो कतिको महत्वपूर्ण हो भनेर बुझ्न पनि जरुरी छ’ उनले भने । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कानुनको विषयमा सरकार र प्रदेशसभाबीच टकराव पर्ने जनाए । विधेयकका विषयमा बारम्बार भनाभन हुँदा सम्बन्ध चिसिएको उनको भनाई छ ।


‘सरकारले आफू अनुकूलका विधेयक ल्याउँछ’ उनले भने, ‘हामीले संघीय विधेयकसंग बाँझिन्छ वा बाँझिदैन भनेर अध्ययन गर्छौ । हाम्रो अधिकारभन्दा बाहिर भएमा हामी पारित गर्दैनौ । यसले सरकार र हामीबीचको दुरी बढेको छ ।’ कर्णाली सरकारले ल्याएका २ विधेयक फिर्ता गरेको र अर्को एउटा विधेयक पनि फिर्ता गर्ने तयारीमा रहेको उनको भनाइ छ । ‘हामी पारित गर्न मान्दैनौ, सरकार फिर्ता लिन । अनि कसरी कुरा मिल्छ,’ उनले भने ।


उनले सरकारले ल्याएको बजेटमाथी नै संशोधन गरेको बताए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले स्थानीय तहका जनप्रतिनिधिका लागि ल्याइएको कानुन सर्बोच्च अदालतले खारेज गरिदिएसंगै नैतिक प्रश्न उठेको बताए । ‘हामीले राम्रो गरेउ वा नराम्रो’ उनले भने, ‘एउटा विधेयक सर्वोच्चले खारेज गरिदिएको छ । अव विधेयक बनाउँदा ख्याल गर्नुपर्छ ।’


प्रदेश राजधानी र नाम तोक्न सकिएन

सातवटा प्रदेशमध्ये ३ वटा प्रदेशले आफ्नो स्थायी राजधानीसंगै प्रदेशको नामाकरण गरेको छ । बाँकी ४ प्रदेशले भने लगाउन सकेका छैनन । प्रदेश १ का सभामुख भण्डारीले अहिलेसम्म स्थायी राजधानी र प्रदेशको नाम तोक्न नसकिएको स्वीकारे । प्रदेश ३ का श्रेष्ठले पनि प्रदेशसभाको अवको पहिलो वैठकबाट राजधानी र प्रदेशको नाम टुङ्गो लगाउने तयारी भएको बताए । स्थायी राजधानीको टुंगो नलाग्दा प्रदेशसभा भवनलगायत अन्य प्रादेशिक संरचनाको निर्माण गर्न नसकिएको सभामुखले बताए । प्रदेश २ का यादवले पनि नामाकरणमा विवाद रहेको बताए । पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको ४ वटा प्रदेशका सभामुखले जनाए ।


सभामुख सबैको साझा

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले सभामुख सवैको साझा रहेको बताए । पार्टीबाट सिफारिस भएर सभामुख भए पनि सभामुख पदमा पुगेपछि निस्पक्ष र स्वतन्त्र हुनुपर्ने उनको भनाइ थियो । ‘हामी सत्तापक्षको सभामुख हौ भन्न हुदैन’ उनले भने, ‘सवै सांसदलाई समेटर सवैको कुरा सुनुवाई गरेर अघि बढ्नुपर्छ । प्रतिपक्ष सांसदलाई पनि प्राथमिकताका राख्नुपर्छ । सम्मान गर्नुपर्छ ।’ सभामुख पार्टीको कार्यक्रममा जान नहुने बताउदै उनले आफ्नो जिम्मेवारी केहो भन्ने विषयमा प्रष्ट हुन सुझाए ।


संसदमा विजनेस नहुदाँ सरकारलाई घचघचाउने जिम्मेवारी पनि सभामुखको रहेको उनले बताए । अधिकारको आधारमा सभामुख निरङकुश जस्तो देखिएता पनि यर्थाथमा फरक रहेको उनको भनाई थियो । ‘नियममा सवै अधिकार सभामुखलाई छ’ उनले भने, ‘अधिकार भएता पनि सवै दल र सांसदसंग छलफल गरेर मात्र सभामुख बोल्ने गर्दछ ।’


सत्तापक्षले समर्थन र विपक्षीले विरोधमात्रै गर्नुपर्छ भन्ने भावना हटाउन पनि उनले सवैलाई सुझाव दिएका थिए । ‘बृद्धि, विकेक र क्षमता संविधानले होइन हामीले देखाउनुपर्छ’ उनले भने । उनले प्रदेशसभामा गरिएका कार्य संस्थागत गर्न पनि सुझाव दिएका छन ।


कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूले बिकास निर्माणका लागि बजेट बाढ्नु संघियताविरोधी भएको बताए । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बहानामा तत्कालिन अवस्थामा सांसदलाई बजेट दिइएको भए पनि अहिले त्यसैलाई निरन्तरता दिनु गलत भएको उनको आशय थियो । सबै ठाउँमा समान बिकासका लागि सरकारहरूले एउटा विधि बनाउनु पर्नेमा उनले जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघियताको सिद्धान्त सहकार्य, समन्वय र सहअस्तित्व रहे पनि धेरै मामिलामा प्रदेशको अस्तित्व स्विकार्न नसकेको अवस्था विद्यमान रहेको गुनासो गरे । प्रदेशसभा, प्रदेश सरकार असफल हुनु भनेको संविधान असफल हुने हो भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।


गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मुलुकमा समानताका लागि संघीय शासन प्रणाली आवस्यक रहेकाले सोही अनुसार संविधानको कार्यान्वयन र अन्य ऐन नियम बनाउनु पर्नेमा जोड दिए । उपसभामुख श्रृजना शर्माले विभिन्न अप्ठेरोका वाबजुद २ वर्ष गुजारिएको बताइन ।


प्रकाशित : मंसिर २१, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?