प्रसारण लाइनले घरबास उठ्दै

म्याग्दी — बस्तीमा कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभीए क्षमताको प्रसारण लाइनको टावर परेपछि अन्नपूर्ण गाउँपालिका–६ का धिरच्याङ, रातोपानी र पोखरेबगरवासीको घरबास उठ्ने भएको छ । 

कालीगण्डकी करिडोरमा निर्माणाधीन अन्तर्देशीय विद्युत हाइटेन्सन लाइनको ६ वटा टावर ती बस्तीमा परेका छन् । स्थानीयले टावर निर्माणमा अवरोध गर्दै आएका छन । प्रस्तावित स्थानमै हाइटेन्सनलाइनको टावर बनाउँदा घनबहादुर बरुवालले बस्ती छाड्नु पर्छ । ‘पुर्खादेखि बस्तै आएको थलो र घरवास उठाएर लाद्न खोजिएको विकास मानवअधिकारको गम्भीर उल्लंघन हो । मुआब्जा दिएर मान्छेलाई जबर्जस्ती थातथलो छोड्न बाध्य पारिए रोक्न अदालत जान्छौं’ बरुवालले भने, ‘विधुत ऐन र वातावरण ऐनले विधुतको हाईटेन्सनमुनी वस्ती बनाउन दिन्न, यहाँ त जर्वजस्ती वस्तीमाथी हाईटेन्सन राखिदैछ ।’


हाईटेन्सनमुनी वस्ती वस्न, खेती गर्न र रुख विरुवा रोप्न वर्जित भए पनि कालीगण्डकी करिडोरको अन्धगल्छी क्षेत्रका वस्तीमाथी नै हाइटेन्सन बन्दै छ । यो सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिए भोल्टेजसम्म करिब २ मिटर कायम गरेको छ । तर कालीगण्डकी करिडोरमा प्राधिकरणले स्थानियवासीको चर्को विरोध हुँदाहुँदै प्रशासन प्रयोग गर्ने धम्की दिँदै आएको छ । ‘पोखरेवगर पुरानो वस्ती मात्रहोईन, अन्नपूर्ण गाउँपालिकाको केन्द्र र उदाउँदो सहरी वस्ती पनि हो । वस्ती छोड्न सकिँदैन’ जिल्ला प्रशासनमा आयोजित पीडित र आयोजनावीचको छलफलमा अर्का पीडित सन्तोष बरुवालले भने, ‘प्रलोभनमा सिडियो सरलाई मानवअधिकार कुल्चेर जनताको घरवास उठाउन बन्दुक तेर्साउन सजिलो हुने छैन । आयोजना सच्याउन सकिन्छ ।’ उक्त वडाका सबै घर प्रभावित हुने स्थानीय बताउँछन् ।


सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायम भएसँगै तिब्र बजारकिरण भइरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ । ‘हामी जनताका सेवक हौं । राज्यका ऐन कानुन पनि कार्यान्वयन गर्ने दायित्व छ । आयोजना सम्पन्न गर्ने दायित्व पनि हामी सबैको हो । आयोजनाको एलाईमेन्ट परिवर्तन गर्न नसकिने नै हो भने स्थानीयले नै लचिलो भइदिनुपर्‍यो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘आयोजनाले नर्म्सको मात्र कुरा नगरी परिस्थिती र आवश्यकताको सिद्धान्त अपनाउनु पर्यो ।’


संसारको सर्वाधिक गहिरो र साँघुरो यो अन्धगल्छीमा निर्माणाधीन र पाइपलाइनमा रहेका विद्युत आयोजनाको विजुली केन्द्रीय ग्रीडमा जोड्न प्रसारण लाईन निर्माण भैरहेको छ । कालीगण्डकीले बनाएका अधिकतम २ सय मिटर फराकिला बगरमा अवस्थित तिप्ल्याङ, महभीर, धिरच्याङ, ठूलोवगर, रातोपानी, पोखरेवगर, तातोपानी, नारच्याङ, दाना, गाडपार बस्तीमाथी प्रसारण लाईन निर्माण भैरहेको छ । ‘हाईटेन्सन लाईन सकेसम्म वस्ती छलेर वल्लो डाँडादेखीपल्लो डाँडासम्म तार टाँगेका छौं । तलका वस्तीलाई जोखिम छैन । विवादित स्थानबाट टावर अन्यत्र सार्न सक्दैनौं’ आयोजना प्रमुख चन्दन घोषले भने, ‘साँघुरो गल्छी भएकोले वस्ती र सडक भन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन । बाध्य छौं । मुआब्जामाहदै लचिलो छौं ।’


आकाशमा उच्च भोल्टेजको प्रसारण लाईनको र जमिनमा फराकिलो ‘राईट अफ वे’ सहितको सडक निर्माणले कालीगण्डकी किनारका बस्ती प्रभावित बनेका छन । दैलो छेउमा सिंहदरवार आएपछि खोलाको बगरमापनि बस्ती बढ्ला, ब्यापार होला भन्ने विश्वास गरेका पोखरेवासी विधुत हाईटेन्सनले वस्ती उठाउन खोज्दा पिरोलिएका छन । विधुतले मात्रहोईन, आधाजमिन सडकले काटेपछि पुरै बस्ती संकटमा परेको हो ।


‘जमिनतल कालीगण्डकी कटान, अनि सडकले ओगट्ने र आकासमा विजुलीको तारले ओगट्दा वस्ती विकास गर्न समस्या भएको छ’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘साँघुरो ठाउँमा सडक, विजुली र भोली अरु आयोजना पनि थपिदा यी वस्तीको अवस्था के होलाआजै विचार पुर्‍याउनु पर्छ ।’


अन्नपूर्ण–७ महभीरदेखि मुस्ताङ्ग घाँसासम्मको भुभाग यति साँघुरो छ कि वेनी–जोमसोम–कोरला सडकको मापदण्ड अनुसार सडक बन्ने नभएपछि हाफव्रिज वा सुरुङ्ग मार्गको अध्ययन भैरहेको छ ।

प्रकाशित : मंसिर २१, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?